कनकाई खबर \ यही चैत ३० गते नेकपा एमालेले दमकमा बृहत जनसभा गर्ने भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जनसभामा एक लाख जनता सहभागी गराउने तयारी गरेको बताए ।
दमकमा प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले शक्ति प्रदर्शन गर्ने भएको बताए ।
जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि जस्तो सुकै बलिदान गर्न तयार रहेको बताए । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए ।
जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरु मुलुकको विकल्प हुन नसक्ने उनको तर्क थियो । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको ठहर छ ।
नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको आरोप छ ।
जनसभामा दुई हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा एमालेका नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने छन् । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।