कनकाई खबर / ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ ।
यसै अवसरमा कनकाई नगरपालिकाको वडा नं.९ मा विविध साँस्कृतिक कार्यक्रम सहित शुक्रबार जेष्ठ माताहरुलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । कार्यपालिका सदस्य तथा कार्यक्रमकी संयोजक सुशीला बुधनीकुमारी चौधरीको अध्यक्षता रहेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइदै आएको यो दिवसलाई एकदिन मात्र अवसरका रुपमा मनाउँने हो भने कुनै पनि सफलता हात पर्न नसक्ने बताएकी छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन बढेको उपप्रमुख शिवाकोटीले जानकारी दिइन् ।
यस वर्षको महिला दिवसको नारा ‘सबै महिला र बालबालिकाको लागि अधिकार, समानता र शसक्तिकरण’ रहेको बताइएको छ ।

कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध साँस्कृतिक कार्यक्रम सहित वडाका आठ वटै टोलका एक–एक जना जेष्ठ मातारुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा धनमाया न्यौपाने ,डुमोसरी राजवंशी ,बानसरी राजबंशी, बुदिन मर्डी , मनमाया मगर, तालामई हेमरम , दुखनी चौधरी र रनमाया कार्की गरि सबै टोलबाट ८ जना जेष्ठ माताहरूलाई सम्मान गरेको बताइएको छ ।
समाजमा पुरुष भन्दा महिलाले गरेको काम धेरै सहज र सफल भएको भन्दै कार्यक्रममा सहभागी सबै वक्ताहरुले अवसर पाएमा महिला पनि पुरुष भन्दा कमजोर नभएको टिप्पणी गरे ।
कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती ,कार्यपालिका सदस्य चेता राई, शिक्षासेवी सावित्रा जोसी , पुर्व वडाअध्यक्ष एवं राजवंशी कोच भवनका अध्यक्ष प्रेमप्रसाद राजवंशी , आदर्श विद्यामन्दिर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान उप्रेती ,टोल नं. २ का अध्यक्ष टहलराज राजबंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ईस्टन एभरेष्ट बोर्डिङ स्कुलबाट सामुहिक स्वागत नृत्य , आधुनिक गीत, विद्यालयकी संचालक झुमा आचार्य (वेडारी ) बाट एकल नृत्य सहित अन्य विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
कनकाई नगर महिला अपांगता तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा कल्पना मगरले स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन वडा सदस्य तारा दमाईले गरेकी थिइन् ।