आमा…आज मेरो जन्म दिन !
आज म जुन ठाउँमा उभिएको छु मेरी आमा नभएको भए म र मेरो संसार पनि यस्तो हुने थिएन । हो, यो भौतिक दुनियाँमा मेरी आमाले यो सांसरिक जीवनमा आफ्नो सन्तानका रुपमा यो धर्तिमा पाइला टेकाउँदा फागुन १ गतेको उज्यालो हुँदै गर्दाको बिहानीपखको त्यो सुनसान रातमा सायद आमा जस्तो खुसी अरु कोहि पनि थिएनन् होला ।
रातभरीको प्रशव वेदनासँगै बिहानीपखको सुनसान तर मिरमिरे समयमा ‘च्याँ’ गरेर रोएको मेरो रोदन सुनेर हत्तार हत्तार मलाई छातीमा टाँसेर आफ्नो ममतामा बाँध्ने मेरी आमा, मेरो जीवनमा यो अवस्था सम्म सितल छहारी बन्दै अहिले अचानक मेरो जीवनलाई शुन्य बनाएर खै कता हो कता बिलिन हुनु भयो ।
आज मेरो जन्मदिनमा आमाको काखको ठाउँमा, आमाको अशीर्वादको ठाउँमा शुन्यताको बीचमा आफ्नै आँसुले स्पर्श गरिरहेको छु । यता उता जहाँ जता खोजे पनि आमाबाट अदृष्य रुपमा आशिर्वाद प्राप्त भइरहेछ भन्ने महशुस गरिहेको छु ।
यो समयलाई अत्यन्तै व्यस्त बनाउँदै भइरहेका दैनिक गतिविधिको सुक्ष्म मुल्याङकन गर्दा, आमाकै आशिर्वाद हरपल प्राप्त भइरहेछ झैं लाग्छ ।अहिलेको विशेष परिस्थितीमा सपनीमा आएर अदृष्य रुपमा सहि मार्ग निर्देश गरिरहनु हुने आमाको आशिर्वादकै परिणाम समय सन्तोषजनक भएको हो भन्ने कुराले विश्वास दिलाएको छ ।
सन्तान जति नै ठूलो होस् आमा बावुको अगाडि सदैव सानै ठहरिँदो रहेछ । सायद त्यसैले त होला घरमा रहँदा हरपल “तेरो काम गर्…” भन्दै घरको अन्य काम गर्न नदिने अनि ल्यापटप खोलेर समाचारको काममा बस्दा चैं खुशी हुने र मेरो चिन्तामा सधैं डुबिरहने मेरी आमा, मेरो यो विशेष जन्म दिनमा पहिलो पटक अदृष्य भएर आशिर्वाद दिइरहनुभयो । सायद आमाकै आशिर्वाद अनि प्रेरणा हुन सक्छ मेरो पत्रकारितासँगैको सामाजिक जीवनले थप सफलता चुमेको महसुश भएको छ ।
त्यसैले त भौतिक शरिर हामी माझ नभएपनि आमालाई सधैं सधैं स्मृत्तिका पानामा ताजा राख्न आमाकै उपस्थितीमा तीन वर्षअघि आमाबुबाकै नाम राखेर अक्षयकोष स्थापना गरी “हेमकला टिकाराम निरौला पत्रकारिता पुरस्कार” वितरण हुँदै आएको छ । आमाको स्मृत्तिलाई सधैं ताजा राख्ने धेरै अघिदेखिको चाहानालाई रोटरी क्लव अफ सुरुङ्गाले पूरा गर्ने अवसर दिएको छ ।
कहिलेकाँही शारिरीक अनि मानसिक रुपमा थकान अनि निराश भएको अवस्थालाई अनुहार हेरेर सन्चो बिसन्चोको पहिचान गर्ने अनि सोधीखोजी गर्ने पहिलो व्यक्ति भनेको मात्र आमा नै हो भन्ने मेरो भोगाइले महशुस गर्यो । कहिलेकाँही काम विशेषले बेलुका घर आइपुग्न ढिला हुँदा ओछ्यानमा नगई घरको बाहिर बरण्डामा बसेर झ्यालबाट बाटोतिर आँखा टोलाइरहने मेरी आमाले छोराको मोटरसाइकलको आवाज भने परैबाट थाहा पाउनु भनेको आमासँग अदृश्य शक्ति छ भन्ने कुरा मैले राम्ररी बुझेको थिएँ । तर के गर्ने, विधिको विडम्बना भनौं या प्राकृतिक नियम सबैले मान्नै पर्ने…गत चैत्र १७ गते शनिवारको बिहानीसँगै चिरनिन्द्रामा पर्नुभएकी आमा अझै पनि बाहिर कतै हिँडदा घरमै हुनुहुन्छ होला भन्ने लाग्छ । यथार्थमा आमाको भौतिक शरिर हामी माझ नभएपनि उहाँँको आशिर्वादले हरपल सहि मार्ग निर्देश भइरहेको छ ।
हो आमा, सन्तानलाई अदृष्य रुपमा आशिर्वाद प्राप्त भइरहेछ र भइरहने छ । आजको जन्म दिनमा समेत आमाबाट अदृश्य रुपमा आशिर्वाद प्राप्त भएकै कारण विशेष सम्मान सहितको यति धेरै आफन्तजन, इष्टमित्र, साथीसंगी, संघसंस्थाहरुबाट आशिर्वादसँगै शुभकामना प्राप्त भयो । यो भन्दा ठूलो सम्पत्ति अरु के पो छ र आमा । त्यसैले भौतिक शरिर हामीसामु नभएपनि संझना अनि माया सधै ताजा रहिरहने छ आमा ।जहाँ जस्तो अवस्थामा रहेपनि आत्माको चिरशान्तिको कामना गर्दछौं ।🙏🙏