कनकाई खबर \ झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा सुक्रबारदेखि जिल्लास्तरीय पालिका फुटबल प्रतियोगिता कनकाई कप सुरु भएको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिता झापा क्षेत्र नम्बर ४(ख) का प्रदेश सांसद तथा पुर्व कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले एक विशेष समारोहका विच उदघाटन गरे । सिटौलाले खेलको माध्यमबाट देश विकास र आपसी भाइचाराको विकास हुने भन्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैव लागिपर्ने प्रतिवद्धता जनाए ।
कनकाई माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका विचको उदघाटन खेलमा ४–२ गोल अन्तरले कमल गाउँपालिकालाई पाखा लगाउदै गौरीगञ्ज गाउँपालिका बिजयी बनेको छ ।
गौरीगञ्जको जितका लागि खेलको दोस्रो मिनटमै जर्सी नं. १० का खेलाडी निशान्त राजवंशीले गोल गर्दै टिमलाई अगाडी बढाएका थिए ।पहिलो हाफको २०औ मिनटमा पुन गौरीगञ्जकै जर्सी नं. ७ का खेलाडी सनम मादेनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफ खेलको ३८औ मिनटमा कमलका जर्सि नं. १४ का खेलाडीले पहिलो गोल फर्काएर २–१ को गोल अन्तर बनाउदै गोरीगञ्जलाई दवाब सिर्जना गरेका थिए भने खेलको ५४ आंै मिनटमा गौरीगञ्जका जर्सि नं. १४ का खेलाडी सुजन लिम्बुले गोल गर्दै गौरीगञ्जका लागि ३–१ गोलको अग्रता बनाएका थिए । खेलको ६१ औ मिनटमा कमलका जर्सि नं. १८ का खेलाडी महेश्वर राईले गोल गर्दै पुनः गौरीगञ्ज माथि दवाब सिर्जना गरेका थिए । खेलको ७० औ मिनटमा पुनः गौरीगञ्जका जर्सि नं. १४ का खेलाडी सुजन लिम्बुले गोल गर्दै गौरीगञ्जका लागि ४–२ गोलको अग्रता बनाएका थिए ।
खेल अवधिभर दुबै तर्फबाट थप गोल हुन नसकेपछि गौरीगञ्ज ४– २ गोल अन्तरले बिजयी बनेको हो । खेलको म्यानअफ दी म्याच बिजेता टिमका २ गोल कर्ता जर्सि नं. १४ का खेलाडी सुजन लिम्बु घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याचको नगद राशी खेल प्रेमी सामाजिक ब्यक्तित्व रमेश चन्द्रबाबु मैनालीले प्रदान गरेका थिए ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको छ ।
आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षता रहेको उदघाटन खेलमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, संस्थाका सल्लाहकार एवं जामुनबारी सामुदायिक वन साथै कनकाई सामुदायिक वन समुहका अध्यक्षद्वय परशुराम गिरी र ख्यामप्रसाद ओली, सल्लाहकार नारायण पोखरेल र राजेन्द्र उप्रेती, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँ, विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , सामाजिक एवं शैक्षिक ब्यक्तित्व , खेलप्रेमी साथै सहयोगी दाता लगायातको आतिथ्य रहेको थियो ।
प्रतियोगीताको खेल अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको बताइएको छ ।
खेलमा प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताए । आयोजक संस्था प्रतिष्ठानका अध्यक्ष थपलियाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपस्थित सबैलाई खेल संयोजक भुवन खतिवडाले स्वागत गरेका थिए भने औपचारिक कार्यक्रमको संचालन सचिव निरौलाले गरेका थिए ।
