कनकाई खबर \ झापाको कनकाई ४ स्थित भित्रि सडकमा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

कुमरखोदबाट सुरुङ्गा तर्फ आउँदै गरेको बिआर ३७ ए ए ८४९८ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा आगुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिए ।
भारतको डिगल बैंक थाना वडा नं.५ बिहार स्थायी घर भएका वर्ष २८ का अन्जार आलम(चालक) र मोटरसाइकल पछाडी बसेका निजको सहोदर भाइ अन्दाजी वर्ष १९ का युसुब आलम पक्राउ परेका हुन् । प्रहरीले चेकजाँचका लागि मोटरसाइकल रोक्न खोज्दा थप गति बढाएर प्रहरीलाई ठक्कर दिई भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट ४ (चार) राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । हवाई फायर गर्दा समेत मोटरसाइकल नरोकिएपछि अन्जर आलमको देब्रे घुंडा मुनि १ (एक) राउण्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
चेकजाँच गर्दा निज अन्जर आलमको साथबाट प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिक सहित ३२ ग्राम ७५० मिलिग्राम, प्लाष्टिक बाहेक ३० ग्राम ६९० मिलिग्राम फेला परेको बताइएको छ । उनीहरु दुबैजनालाई कानुन बमोजिम मोटरसाईकल सहित बरामद गरी प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र घाइते अन्जार आलमलाई उपचारका लागि तत्काल कनकाई नगर अस्पतालमा लगिएको भएपनि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता चन्दले जानकारी दिए ।
