कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा ११ वर्षदेखी १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाइँने भएको छ ।

पाठेघरको मुखको क्यान्सर रोग विरूद्वको एकमात्र प्रभावकारी उपायका रुपमा रहेको एचपीभी खोप यहि माघ २२ गते देखि २८ गते सम्म कनकाईमा संचालन हुन लागेको हो । यस अभियानमा आफ्ना छोरीचेलीलाई खोप लगाउने कार्यमा सहयोग गर्न कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्पूर्ण नगरवासी अभिभावकहरुमा अनुरोध गरेका छन् । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालिकाहरुलाई लगाउन नगर प्रमुख पोखरेलले आग्रह गरेका छन् ।
झापा जिल्लामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ८ हजार ९८१ सहित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाउने जनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगर स्वास्थ्य शाखाले संचालन गर्ने एचपीभी खोप अभियानमा कनकाई नगर क्षेत्रका ३ हजार ९९ किशोरीहरु लाभान्वीत हुने नगर स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले जानकारी दिएकी छन् । जसका लागि ३९ खोप केन्द्रमा स्वास्थ्यकर्मी, स्वयंसेवक र सुपरीवेक्षक गरी दुई सय जना परिचालन हुनेछन् । एक डोज खोपले बयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने सिनियर अनमी दवाडीले बताएकी छन् ।
खोप अभियानका विषयमा कनकाई नगरपालिकामा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयभित्र रहेका कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालले जानकारी दिए ।
माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक किशोरीहरूलाई खोप लगाउने अभियान सञ्चालन हुन लागेको रिजालले बताए । कनकाईका ९ वटा वडाका विद्यालयमा अध्ययनरत २ हजार ६ सय २१ र विद्यालय बाहिर रहेका ४ सय ७८ गरी ३ हजार ९९ किशोरीलाई खोप लगाइने भएको हो ।
पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ ।
यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् ।
खोप समन्वय समितिका संयोजक तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कनकाई नगर जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल पर्सन नारायण अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा कनकाई–५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई, कनकाई सुरुङ्गा प्रेसक्लबका अध्यक्ष लीलाराज झापाली लगायतले कार्यक्रमको सफलताको शुभकामना राखेका थिए ।
कार्यक्रममा उपप्रमुख आशा शिवाकोटी, वडा अध्यक्षहरू बलराम राई (प्रताप), युवराज चौलागाईं, रोशन सुवेदी, भीष्मभुषण सिटौला, कार्यपालिका सदस्य, वडा सदस्य, महिला बालबालिका शाखा प्रमुख टीका खतिवडा, अधिकारकर्मी शान्ता पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष विजय तिवारी लगायतको सहभागितामा रहेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले गरेकी थिइन् ।
