बिर्तामोड \ झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यापार महोत्सवको उद्घाटन गरेका छन् । व्यापार महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
वर्तमान सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उनको भनाई छ । मुख्य मन्त्री कार्कीले अन्तरदेशीय राजमार्ग (एसियन हाइवे)को निर्माण पछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता रहेको बताए । व्यापार प्रवद्र्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगारमुलक उद्यमको प्रवद्र्धनमा पर्यटन वर्षले थप टेवा दिने उनले विश्वास पनि दिलाए । बैशाख जेठमा लगानी सम्मेलन र चिया सम्मेलनसमेत गरिने कार्यक्रम तय भइसकेको जानकारी दिँदै मुख्य मन्त्री कार्कीले आगामी वर्ष दश करोडभन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि मुख्यमन्त्री कार्कीले जानकारी गराए । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रवद्र्धन तथा होटल व्यवसाय सहयोगी बन्नसक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दावी छ ।
मेला समुद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गरे । अर्का वक्ता तत्कालीन संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकार समक्ष माग गरे ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रवद्र्धनका लागि सरकारका तीनवटै तह जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।