कनकाई खबर \ झापाको कनकाई १ स्थित जुकेकल्भर्ट आसपासको सडक खण्डमा रहेको डाइभर्सनमा केही व्यक्तिबाट आक्रमणको घटनामा परेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा उपचारपछि हाल आफ्नै निवासमा फर्किएका छन् ।
पूर्वमुख्यमन्त्री थापाको आँखा र निधारमा चोट लागेको थियो । रगत लतपतिएको अवस्थामा थापालाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याइएको थियो । हाल उपचारपछि थापा आफ्नै निवास फर्किएका हुन् । नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका थापामाथि शनिवार साँझ भएको आक्रमणको घटना चालकको उत्तेजक व्यवहारका कारण भएको अनुमान गरिएको छ ।
नेपाल प्रेस युनियन झापाले पर्यटकीय क्षेत्र दोमुखामा सम्पन्न गरेको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई घर फर्किने क्रममा थापा आक्रमणमा परेका थिए । आक्रमणमा नेपाल विद्युत प्राधिकरण सुरुङ्गाको गाडीका चालक समेत संलग्न थिए । चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरी कानूनी कार्वाही सुरु गरेको बताइएको छ ।
समय साँझको साढे छ बजेको थियो । सडकमा अँध्यारो छाउन थालिसकेका कारण गाडीहरुले लाइट बाल्न थालिसकेका थिए । पूर्वमुख्यमन्त्री थापा बा १ झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदैथिए । थापालाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा. १ झ. १८७० नम्बरको गाडीमा चढेका थिए ।
जुकेकल्भर्ट नजिकको डाइभर्सनमा पुग्दा पूर्वमुख्यमन्त्री सवार गाडीको पछाडि थियो प्राधिकरणको गाडी । दुबै गाडीको अगाडि थियो एउटा ट्रक ।
भीइआइपी सवार गाडीले ट्रकलाई उछिनेर जान खोज्दा प्राधिकरणको गाडीले समेत ओभरटेक गरेर जान खोजेको थियो । त्यही क्रममा प्राधिकरणको गाडीसँग थापा सवार गाडी आपसमा ठोक्किएला झै गरी आमनेसामने भएका थिए ।
दुबै गाडी रोकिएपछि चालकबीच विवाद सुरु भएको थियो । सुरुमा प्राधिकरणका चालकले मुख छाडेका थिए । थापा सवार गाडीको चालकले भीआइपी गाडी भएको कारण अगाडि जान चाहेको प्रष्टिकरण दिएका थिए । थापासँगै गाडीमा रहेका पीएसओ (सुरक्षाकर्मी)ले पनि प्राधिकरणका गाडी चालकको व्यवहारप्रति आपत्ति जनाएका थिए ।
घटना त्यत्तिमै सीमित भएन । प्राधिकरणको गाडी चालकले दलबलसहित मुख छाडेपछि पूर्वमुख्यमन्त्री थापा विवाद मिलाउन आफ्नो गाडीबाट उत्रिएका थिए । चिनेपछि विवाद मिल्ला भनेर थापा प्राधिकरणको चालक भएठाउँमा गए । थापाले ‘किन यसो गरेको भाइ’ भन्न मात्रै भ्याएका थिए –प्राधिकरणका चालकले उत्तेजनामा आएर थापामाथि मुक्का हाने । थापा घाइते भए । प्राधिकरणको गाडीमा चढेका अरु व्यक्ति पनि थापामाथि जाइलागे ।
थापाको पीएसओको भूमिका कमजोर
सरकारले भीआइपी सुविधा प्राप्त पूर्वमुख्यमन्त्री थापाको बडीगार्डको रुपमा सरकारी सुरक्षाकर्मी (पीएसओ) खटाएको हुन्छ । घटनाका बेला पीएसओ गाडीमै थिए ।
घटना सामान्य कारणले भएको छ भने घटना सुनियोजित पनि होइन । तर आकस्मिक कुनै पनि घटनाका लागि तयारी हालतमा रहनु पर्ने थापाका पीएसओको भूमिका यसपाली कमजोर देखियो ।
पीएसओले हरपल भीआइपीको सुरक्षामा ध्यान दिनु पर्ने जिम्मेवारी हुन्छ । तालिम प्राप्त सुरक्षाकर्मी भएको हुँदा उनले जस्तोसुकै घटना भइहालेमा त्यसको प्रभावबाट भीआइपीलाई जोगाउनु वा सुरक्षित राख्नु पहिलो दायित्व हो ।
पहिलो कुरा, थापाका पीएसओले पूर्वमुख्यमन्त्री थापालाई गाडीबाट ओर्लनु पर्ने अवस्था नै आउन दिनु हुँदैनथ्यो । विवाद भएमा पीएसओले समस्याको आँकलन गरी आफैले समाधान गर्ने वा जटिल परिस्थिति उत्पन्न भएको आफुलाई लागेमा थप सुरक्षाकर्मी मगाउनु पर्ने हो ।
थापाका पीएसओले प्राधिकरणका चालक उत्तेजक अवस्थामा छन् भन्ने जान्दाजान्दै थापालाई नजिक जानबाट रोक्नु पथ्र्यो । कुनै पनि भीआइपी गाडीमा चालकको छेउको अगाडिको सिटमा पीएसओ बस्ने प्रचलन यस्तै आइपर्ने सुरक्षा चुनौतिको सामना गर्नका लागि हो ।
दोसो कुरा, भीइआपीको सवारी प्राय अरु गाडीलाई उछिनेर अगाडि बढाउने गरिन्छ । तर सुरक्षाको दृष्टिले पछाडि नै बस्दा उचित हुन्छ भन्ने लाग्यो भने पीएसओले गाडीलाई ओभरटेक नगर्न निर्देशन दिन सक्छन् ।
थापाका पीएसओ यस घटनामा सुरक्षा कोणबाट निर्णायक देखिएनन् । प्रधानमन्त्री र राष्ट्रपति जस्ता भीभीआइपीहरुको सवारीका बेला पनि बडिगार्डले सुरक्षा कोणबाट दिएको इशारालाई पछ्याएको पाइन्छ ।
पूर्वमुख्यमन्त्री थापाको गाडी डाइभर्सन रहेको स्थानमा केहीबेर पछाडि नै रहँदा पनि खासै केही बिग्रने थिएन । यदि प्राधिकरणको गाडीलाई ओभरटेक गर्न दिएकै भए तापनि घटना हुने थिएन । यो विषयमा निर्णय लिन थापाका पीएसओ चुकेका छन् ।