कनकाई खबर \ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा शुरु भएको प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ मा चार खेल सम्पन्न भएका छन् ।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका, बेलबारी नगरपालिका र शिवसताक्षी नगरपालिका विजयी भएका छ्न् ।
आयोजक भर्सेस मेचीनगरबीच भएको पहिलो खेलमा मेचीनगर नगरपालिका, झापा गाउँपालिका र उर्लाबारी नगरपालिकाबीच भएको दोस्रो खेलमा झापा गाउँपालिका, दमक नगरपालिका र बेलबारी नगरपालिका तेस्रो खेलमा दमक नगरपालिका उपस्थित नभएपछि वाक ओभरमा बेलबारी नगरपालिका सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठकले जानकारी दिए । त्यसैगरी, कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच भएको चौथो खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ ।
सुरुङ्गा जेसीज सन् २०२४ का अध्यक्ष पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका भूमि, सिञ्चाइ तथा खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमप्रसाद ओली, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेती, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले खेलकुदको माध्यमबाट पछिल्लो समय मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए ।
उनीहरुले खेलकुदको क्षेत्रमा प्रदेश सरकारलाई थप लगानी गर्ने प्रमुख अतिथि मन्त्री कार्की समक्ष आग्रह गरेका छन् । खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले समेत प्रतियोगिता आयोजना गरिएको जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए ।
कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री हिराकुमार थापा, कनकाई वडा नं. २ का अध्यक्ष बलराम राई, वडा नं. ६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, एमाले नगर अध्यक्ष गोकर्ण ओझा, रोटरी क्लब कनकाई अध्यक्ष लुवराज उप्रेती, कनकाई सामुदायिक वन समुहकी सचिव मान्ता खरेल, कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सामुदायिक सेवा केन्द्रकी अध्यक्ष पुष्पा कँडेल, कारितास नेपालका प्रोग्राम कोडिनेटर टंक कट्टेल, कनकाई उद्योग बाणिज संघका महासचिव सरोज सिटौला, सुरुङ्गा जेसीज पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, एलपी उप्रेती, कमल कटेल, जविन तिम्सिना, उषा उप्रेती, सुरुङ्गा जेसीस सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान लगायतको आतिथ्य रहेको थियो ।
सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक तथा प्रतियोगिताका संयोजक जेनिस चौलागाईले स्वागत गरेको कार्यक्रममा जेसीजको आस्था वाचन जेसी सरिता गुरगाईले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीज सन् २०२४ का महासचिव रिसव सिंह चाहारले गर्नुभएको थियो ।
प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ । भोलि आइतबार पनि चार खेल हुने बताएको छ । पहिलो खेलमा भद्रपुर र गौरादह नगरपालिका, दोस्रो खेल बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिका, तेस्रो खेलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिकाबीच छ भने हुने अन्तिम खेलमा झापा गाउँपालिका र टिभिए सिक्किमको पाउना टोलीसँग प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेजजी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकुद विकास समिति रहेको छ ।
