कनकाई खबर \ झापाको कनकाईमा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानले ग्रामिण क्षेत्रको एक विद्यालयका विद्यार्थीलाई जाडोको कपडा (स्वीटर) वितरण गरेको छ । प्रतिष्ठानले ग्रामिण क्षेत्रको विद्यालय कनकाई ३ स्थित जनचेतना आधारभुत विद्यालयका १३० विद्यार्थीलाई जाडोको कपडा स्विटर वितरण गरेको हो ।

शहिद गौतमको माघ ५ गते पर्ने ६० औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले जाडो बढेसँगै स्विटर वितरणको कार्यलाई अघि बढाएको जनाइएको छ । प्रतिष्ठानकी संरक्षक समेत रहेकी शहिद पत्नी देवका गौतमको व्यवस्थापनमा स्विटर वितरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका बीच विद्यालयमै उपस्थित भएर विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । ग्रामिण क्षेत्रमा रहेका विपन्न परिवारका वालवालिका अध्ययनरत विद्यालयमा प्रतिष्ठानले जाडोको समयमा स्विटर वितरण गरेर ठूलो राहत पुगेको विद्यालयका प्रधानाध्यापक होमकुमारी कुमालले बताएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका नगर प्रमुख पोखरेलले समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको बताए । शहीद डिल्ली गौतमको व्यक्तित्वका बारेमा चर्चा गर्दै नगर प्रमुख पोखरेलले अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा वि.सं. २०५० को साउन ४ गतेका दिन शहादत प्राप्त गरेका शहिद गौतम अत्यन्तै लगनशील र मेहनेती भएको स्मरण गरे ।
प्रतिष्ठानका उपाध्यक्ष तोयानाथ अधिकारीले स्वागत गरेको कार्यक्रममा पुर्व प्रदेश मन्त्री हिराकुमार थापाले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिए ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भएको थियो । हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलन चर्किएको थियो । सोही समयमा पार्टीको आयोजनामा झापाको दमकमा स्वतस्फुर्त निस्किएको मजदुरहरुको जुलुश अगाडि बढिरहेको बेला प्रहरीले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गरेका थिए ।
यसरी देश र जनताका निम्ति आफ्नो ज्यानको बलिदान दिने शहिद गौतमको स्मृत्तिमा सामाजिक गतिविधि संचालन गर्न कनकाईमा स्थापना भएको प्रतिष्ठानले रहेक वर्ष वार्षिक रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । सोही क्रममा यस पटक जन्मजयन्तीको अवसर पारेर न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल बताउँछन् ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, कार्यपालिका सदस्य कृष्णमाया भुजेल र लक्ष्मी कटुवाल, वडा सदस्य अनिल गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यकुमार राई, शहिद गौतमकी माता पुण्यवती र पत्नी देवका गौतम लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गरेका थिए ।