कनकाई खबर \ झापाको कनकाईमा साहित्य र संगीतका क्षेत्रमा क्रियाशिल दुई फरक संस्थाले एकै ठाउँबाट भव्य कार्यक्रम सम्पन्न गरेका छन् ।
साहित्य र संगीतका क्षेत्रमा क्रियाशिल संस्था क्रमशः कनकाई प्रतिभा प्रतिष्ठान र संगीत साधना कला केन्द्रको संयुक्त आयोजनामा साहित्यिक एवं सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला केन्द्रको सभा हलमा शनिवार सम्पन्न विशेष कार्यक्रमका अवसरमा दुईवटा कृति बिमोचनसँगै सुरुङ्गामा रहेको कला केन्द्रको सभाहल समेत उद्घाटन गरिएको छ ।
कार्यक्रम अन्तर्गत कनकाई प्रतिभा प्रतिष्ठानले बार्षिक रुपमा नियमित प्रकाशन गर्दै आएको कनकाई प्रवाहको सातौ तरङ्गको रुपमा यस पटक प्रकाशन गरेको संस्मरण विशेषाङ्क अनावरण गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पवन राजवंशी , कनकाई नगर उपप्रमुख आशा शिवाकोटी , साहित्यकार कोमलप्रसाद पोखरेल, जीवनहरी शर्मा , साहित्य चौतारिका संस्थापक अध्यक्ष देविभक्त श्रेष्ठ , संगीत साधना कलाकेन्द्रका संस्थापक सदस्य एवं अक्षयकोषका संरक्षक लीलाप्रसाद चिमरिया, कार्यक्रमका अध्यक्ष जीवनाथ सुवेदीले संयुक्तरूपमा संस्मरण विशेषाङ्क अनावरण गरेका हुन् ।
विशेषाङ्कको समिक्षा शिक्षासेवी भिम दाहालले गरेका थिए । पुस्तकको समिक्षा गर्दै दाहालले संस्मरण विशेषाङकका सर्जकहरुले भावनामा नबगी यथार्थमा जस्ताको त्यस्तै चित्रण गरेको प्रष्ट पारे । दाहालले संस्मरणमा साहित्यका नवरसहरु मध्ये श्रृङ्गारीक रस बाहेक सबै रसहरु प्रयोग भएको पनि जानकारी गराए । संस्मरणले विभिन्न देशका विभिन्न स्थानको परिचय समेत दिनुका साथै धार्मिक ,सामाजिक , पारिवारिक लगायतका विभिन्न विषयबस्तु समेट्न सफल भएको हँुदा संस्मरण विशेषाङ्क मनन् योग्य , पठन योग्य रहेको पनि समिक्षक दाहालले वताए ।
त्यस्तै कार्यक्रममा गायिका तुलसा तिम्सिना पाठकको एकल स्वरमा रहेको कृष्ण दर्शन भाग –२ भजन संग्रहको समेत लोकार्पण गरिएको थियोे । भजन संग्रहमा प्रतिष्ठानका अध्यक्ष समेत रहेका जीवनाथ सुवेदी , पुर्णलाल श्रेष्ठ र दुर्गा ओलीका रचना समेटिएका छन् भने पुर्णलाल श्रेष्ठले आफ्नो रचनामा आफंै संगीत भरेका छन् । अन्य सबै रचनामा संगीतकार ध्रुव पाठकको संगीत रहेको छ ।
भजन संग्रहको समिक्षा गर्दै शिक्षासेवी डा.पुण्यप्रसाद सिग्देलले यस संग्रहमा रहेका भजनहरु गाउँदा ,सुन्दा थाहै नभई भक्ति भावमा सजिलै समर्पित हुने वताए । सबै भजनहरुमा स्वर , संगीत र शब्दको गतिलो समायोजन भएकोले कर्णप्रिय रहेको पनि उनले वताए । प्रमुख अतिथि प्राज्ञ पवन राजवंशी , विशिष्ट अतिथि कनकाई नगर उपप्रमुख आशा शिवाकोटी, कृष्ण योञ्जन लगायतले जीवनाथ सुवेदीको रचनामा रहेको भजनको भिडियो प्ले गरेर लोकार्पण गरिएको भजनको समिक्षा समेत गरिएको थियो । भजनका शब्दमा भक्ति भावसँगै संयोग हुनसक्छ “शुदर्शन विना जिव…” भन्ने बाबु जीवनाथ र स्वर्गीय छोरा शुदर्शन नाम अंकित शव्द र दृश्य चित्रले भावविह्वल नै बनाउने पनि समिक्षक सिग्देलले वताए ।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र स्वर सम्राट नारायण गोपालको स्मृतिमा कवि जीवनहरि शर्मा , पुण्य बराल , कमला सुवेदीबाट रचना वाचन सहित गायक झलक संग्रौला , तुलसा तिम्सिना पाठक , रविन मैनाली , लता चिमरिया , धनमाया गजुरेल साथै संगीत साधना कलाकेन्द्रका विद्यार्थीहरुबाट सांगितीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
सोहि अवसरमा कनकाई नगर उपप्रमुख आशा शिवाकोटीबाट संगीत साधना कलाकेन्द्रले सञ्चालनमा ल्याएको अक्षयकोषको वृद्धिका लागि व्यक्तिगत रुपमा नगद ५१ हजार १ सय ५५ रुपैयाँ कलाकेन्द्रका संस्थापक ध्रुव पाठक र अध्यक्ष तुलसा तिम्सिना पाठकलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख शिवाकोटीले नगर भित्र संगीतमा विशेष रुची रहि आर्थिक अवस्थाका कारण प्रशिक्षण लिन नसकिरहेका कोही भएमा आफ्नो वडा र संगीत विद्यालयबाट सिफारिस लिएर नगरपालिकाको कार्यालयमा आएमा प्रशिक्षणको व्यवस्थापन नगरले गरिदिने प्रतिवद्धता समेत जनाएकी छन् ।
कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता एवं प्राज्ञ पवन राजवंशीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झापा सहित जिल्ला बाहिरका समेत साहित्यकार , संगीतकर्मी साथै स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि कृष्ण योञ्जन , विशेष अतिथि यज्ञराज ओली र अखिलकुमार कोइराला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत संगीत साधना कलाकेन्द्रका सचिव दिलिपकुमार खतिवडाले गरेका थिए भने धन्यवाद ज्ञापन कलाकेन्द्रका संस्थापक ध्रुव पाठकले गरेका थिए । कार्यक्रम संचालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने र कलाकेन्द्रका सहसचिव लेखनाथ गुरगाईले गरेका थिए ।