कनकाई खबर \ स्थानीय तहको उपनिर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र तर्फका उम्मेद्वार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।
चापाकल चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार ओली ४९३ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरे । उनीहरु बिचको अन्तर १३७ मतको रहेको बताइएको छ । नवनिर्वाचित वडाअध्यक्ष ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी सहित कनकाईमा क्रियाशिल स्वतन्त्र नागरिक सम्पादन समूहको समेत समर्थन रहेको बताइएको छ ।
उपनिर्वाचनका लागि कनकाई ६ मा दुई हजार ५८ मतदाता रहेकोमा एक हजार ५ सय १३ मत खसेको बताइएको छ । गत २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेवाट निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको क्यान्सर रोगका कारण निधन भएपछि उक्त पदका लागि उपनिर्वाचन भएको हो ।
नवनिर्वाचित वडाअध्यक्ष ओली २०७४को स्थानीय तह निर्वाचनमा सोहि वडाको वडाअध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनले २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवार भएर झिनो मतान्तरले एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
मत परिणाम अनुसार नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद्वार गणेशबहादुर थापाले २७७ मत प्राप्त गरे । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत प्राप्त गरे भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले जानकारी दिए. ।