कनकाई खबर \ यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि झापाको कनकाई वडा नं. ६ को वडाअध्यक्ष पदका लागि ९ जना उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन ।
कनकाईको वडा नंं.६,चम्पापुर स्थित वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, नेपाली कांग्रेस,राप्रपा,माओवादी,मंगोल नेशनल अर्गनाइजेशन, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतका ८राजनीतिक दल सहित एक स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका हुन ।
एमालेको तर्फवाट वडा अध्यक्ष पदका उम्मेद्वार तुलाराम बस्नेत, कांग्रेसका रामगोपाल ओली, माओवादीका गणेश थापा,राप्रपाका नारायणप्रसाद निरौला,जनमत पार्टीका सुकलाल राजवंशी, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङ्ग, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठ, नागरिक उन्मुक्ती पार्टीका जमुना राजवंशी र स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली लगायतले उम्मेद्वारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । झापा जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत लुइँटेलका अनुसार उपनिर्वाचनका लागि कनकाई ६ मा दुई हजार ५८ जना मतदाता रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार अब मंसिर ३ गते उम्मेद्वार विरुद्धमा उजुरी दिने, मंसिर ४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने साथै उम्मेद्वारको नामावली प्रकाशन साथै मंसिर ५ गते उम्मेद्वारको नाम फिर्ता लिनेसँगै अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ।
मतदानको समय मंसिर १६ गतेलाई तय गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
एमालेवाट निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको क्यान्सर रोगका कारण निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
