कनकाई खबर \ झापाको कनकाई ̶ ६ मा स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।
शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मुख्य निर्वाचन आयुक्त झापा जिल्ला न्यायधिस उमेशप्रसाद लुईटेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल , जिल्ला प्रहरी प्रमुख मिलन केसी लगायत प्रमुख राजनीतिक दलका जिल्लास्तरीय नेता साथै स्थानीय स्तरका दलका प्रतिनिधिको उपस्थितिमा कनकाई नगरपालिका ६ स्थित वडा कार्यलयमा निर्वाचन प्रयोजनका लागि कार्यालयको स्थापना गरिएको हो ।
निर्वाचन कार्यालय सञ्चालनसँगै आगामी मंसिर २ गतेदेखि कार्यालयले आफ्ना निर्वाचनका गतिविधि गर्ने झापाका निर्वाचन कार्यालय प्रमुख तथा उपनिर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकृत तुलसीप्रसाद नेपालले जानकारी दिए । कनकाई ६ मा कुल २हजार ५८ मतदाता रहेकोे र मतदान स्थल स्थानीय चम्पापुर माविको मैदानमा २ वटा मतदानस्थल कायम गरिएको नेपालले बताए ।
यता झापाको एकमात्रै निर्वाचन स्थल कनकाई ६ भएकोले झापाका सबै जनपथ र सशस्त्र प्रहरीलाई परिचालन गरिने र यसरी हेर्दा यस क्षेत्रमा जम्मा मतदाताको संख्या भन्दा धेरै सुरक्षाकर्मीको संख्या रहनेहँुदा कुनै सुरक्षा चुनौती नभएको झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।
निर्वाचनका बेला अपनाउँनुपर्ने आचारसंहिताका वारेमा प्रमुख निर्वाचन आयुक्त उमेशप्रसाद लुईटेलले जानकारी गराए । झापामा एकमात्र वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको र निर्वाचन हुन लागेको जिल्ला प्रधानमन्त्री तथा सभामुख, उपसभामुख लगायतका अधिकांश शिर्ष नेताहरू रहेको गृह जिल्ला भएकोले समेत यस निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
कनकाईको वडा नं.६मा तत्कालिन अवस्थामा एमालेका तर्फबाट वडाध्यक्ष दिर्घबहादुर थापाले जितेको स्थान हो । गत असारमा क्यान्सर रोगका कारण मृत्यु भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो । यहाँ एमालेबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसबाट रामगोपाल ओली, माओवादी केन्द्रबाट गणेश थापा, राप्रपाबाट नारायण निरौला सहित जनमत पार्टीबाट समेत शुकलाल राजवंशीले आफ्नो उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले समेत उम्मेद्वारी घोषणा गरिसकेका छन ।