कनकाई खबर \ नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष गुरु बरालले के.पी.ओलीको नेतृत्वमा रहेको वर्तमान स्थीर सरकारले समृद्धिका योजनालाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।
झापाको कनकाई—६मा यहि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट आयोजना गरिएको उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बरालले सुशासन, समृद्धि र विकासमा नेपालको रणनीतिक योजना प्राथमिकताका साथ अघि बढेको बताएका हुन् । देशको मुख्य दुईवटा राजनीतिक दलको समिकरणमा बनेको बर्तमान स्थीर सरकारको सुदृढीकरणका लागि दर्शन, सिद्धान्त, कार्यक्रम, नीति, संगठन तथा जनाधार समेत त्यत्तिक्कै आवश्यक रहेको भन्दै एमाले उपाध्यक्ष बरालले यो स्थिरतालाई जोगाएर अघि बढ्नु आजको आवश्यक्ता रहेको बताए ।
वर्तमान अवस्थामा उपनिर्वाचनका लागि बाध्यकारी अवस्थामा पार्टीले नयाँ उम्मेद्वारी घोषणा गर्नु पर्ने अवस्था सिर्जना भएको भन्दै नेता बरालले स्थानीय बौद्धिक व्यक्तित्व तुलाराम बस्नेतलाई वडाअध्यक्षको उम्मेद्वार घोषण गर्नु एमालेको रहर नभएर बाध्यता भएको भन्दै स्व.दिर्घबहादुर थापाको अविच्छिन्न उत्तराधिकारको रुपमा तुलाराम बस्नेतलाई सार्वजनिक गरिएको बताए । वडाअध्यक्ष पदका उम्मेद्वार बस्नेतको उपस्थिती एउटा व्यक्तिको मात्र नभएर यो उपस्थितीले आज केही मुद्धाहरुको सम्बोधन हुने भन्दै नेता बरालले ढुक्क भएर एमालेका उम्मेद्वारलाई मतदान गर्न सम्पूर्ण वडाबासीहरुमा अनुरोध गरे ।
नेकपा एमाले वडा कमिटी कनकाई— ६ का वडाअध्यक्ष वृहस्पति ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरीले उम्मेद्वार घोषणा गरेका हुन् । वडाअध्यक्ष पदका लागि मास्टर डिग्री होल्डरका रुपमा रहेका विद्धान व्यक्तित्व तुलाराम बस्नेतको व्यक्तित्व परिचय सहित एमाले झापा अध्यक्ष गिरीले उम्मेद्वार घोषणा गरेका हुन् ।
पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेतलाई वडाअध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरिएको हो । साविक घैलाडुवा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलीसकेका बौद्धिक व्यक्तित्व बस्नेत बिगत लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् । २०३८ देखी नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका बस्नेतले पुर्व नेकपा मालेबाट राजनीतिक जीवन सुरु गरेका हुन् । स्थानीय कम्युनिष्ट नेताहरु सूर्यप्रकाश उप्रेती, कमलपन्त, बलराम गजुरेल, बेदप्रसाद खतिवडा लगायतको प्रभाव र प्रेरणा प्राप्त गरी कम्युनिष्ट आन्दोलनमा होमिएका बस्नेतले साविक घैलाडुवा गाउँ कमिटीको सदस्य साथै दोस्रो अधिबेसनबाट दुई कार्यकाल सचिवको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेका थिए । पार्टीको इलाका नं.१० को सदस्य समेत रहेका बस्नेत विभिन्न सामाजिक साथै शैक्षिक संघसंस्थामा समेत सक्रिय छन् ।
कार्यक्रममा एमाले झापाका ईञ्चार्ज समेत रहेका केन्द्रिय सदस्य रोमनाथ ओली, केन्द्रिय सदस्य हरिबहादुर राजवंशी, केन्द्रिय सल्लाहकार परिषद सदस्य सूर्यप्रसाद उप्रेती, प्रदेश सभा पुर्व सदस्य हीराकुमार थापा, एमाले प्रदेश कमिटी सदस्य एवं कनकाई नगर ईञ्चार्ज मन्जु प्रसाईँ, शिवसतक्षी नगर ईञ्चार्ज चन्द्रकुमार शेर्मा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, विर्तामोड अध्यक्ष सुवास भट्टराई, पार्टीको कनकाई नगर कमिटी लगायत विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कनकाई ६ स्थित चम्पापुरमा घोषणा सभा सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक धर्मेन्द्र भट्टराईले जानकारी दिए । सोही अवसरमा एमाले वडा कमिटीको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ । एमाले केन्द्रिय सदस्य हरीबहादुर राजवंशीले कार्यालयको उद्घाटन गरेका हुन् ।
निर्वाचित वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।