कनकाई खबर \ झापाको सुरुङ्गामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नंं.३ र ५ भिड्ने भएका छन् ।
कनकाई ३ स्थित कनकाई माविको खेल मैदानमा सम्पन्न अन्तिम सेमिफाईनलका दुईवटा खेलमा वडा नम्बर ३ र ५ ले जित हात पार्दै फाईनलको यात्रा तय गरेका हुन । मंगलबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा कनकाई ३ ले ९ लाई ३—० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । कनकाई ३ का तर्फबाट क्षितिज कुँबर एक्लैले २ गोल गरे । उनले खेलको ३२ र ३६ मिनेटमा आफ्नो टिमका लागि गोल गरे ।
वडा नं. ३ का लागि एक गोल खेलको ३३ मिनेटमा अरुण श्रेष्ठले गरे । वडा नं. ३ का लागि २ गोल गर्ने क्षितिज कुँबर खेलको म्यान अफ द म्याच बने । उनलाई आयोजक होटल डिलाइटका संचालक ख्याम ओली, आशिस संग्रौला, दिपेन ओली लगायतले नगद १ हजार ५ सय सहित ट्रफि प्रदान गरे।

दोस्रो सेमिफाईनल खेलमा वडा नं. ५ ले वडा नं.४ लाई समान ३—० गोल अन्तरले पराजित गर्दै फाईनलमा वडा नं. ३ सँगको भेट पक्का गरेको हो । वडा नं. ५ का लागि रुचन लिम्बूले एक्लैले २ गोल गरे । उनले खेलको १९ र ३२ औं मिनेटमा गोल गरे । वडा नं. ५ का लागि खेलको ३१ मिनेटमा सचिन बस्नेतले १ गोल गरे । यता वडा नंं.४ ले भने पाएको एउटा फ्रि किकमा समेत गोल गर्न नसकेपछि फराकिलो हार व्यहोर्न पुग्यो ।
दोस्रो खेलको म्यान अफ दी म्याच वडा नं. ५ का गोल किप्पर अस्मित संग्रौला बने । उनलाई आयोजक समितिका आशिस संग्रौलाले नगद १ हजार ५ सय र ट्रफि प्रदान गरे । प्रतियोगिताको फाईनल खेल बुधवार ठिक ३ बजेदेखी हुने बताइएको छ । फाईनल जित्ने टिमले नगद ७१ हजार र आकर्षक ट्रफि प्राप्त गर्दा उपबिजेताले नगद ३५ हजार पाउने छ । विधागत उत्कृष्ट खेलाडीले समेत नगद ५ हजारका दरले पुरस्कार पाउने खेल संयोजक दिपेन ओलीले जानकारी दिए ।
कार्तिक ९ देखि सुरु भई १४ मा समापन हुने प्रथम वडास्तरीय दशैं तिहार कप (नकआउट) फुटबल प्रतियोगिताको मुख्य प्रायोजक हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, अमेरीकास्थित नेप्लीज मिल्ट्री भेट्रान्स क्लव र दारी क्लव युएसए रहेको बताइएको छ । त्यस्तै प्रायोजकका रुपमा युएसए आर्मी नविन सुवेदी सहित बद्री संग्रौला, आकाश संग्रौला, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य र संदिप वास्तोला रहेका छन् ।
