कनकाई खबर \ आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमाले कनकाईले आज उम्मेद्वारको टुङ्गो लगाउने भएको छ ।
झापामा एक मात्र स्थान कनकाई वडा नं.६मा वडाअध्यक्ष पदकालागि उपनिर्वाचन हुँदैछ । वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।
जसकालागि अहिले प्रमुख राजनीतिक दलका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको कनकाई नगरमा चहलपहल बढेको पाइन्छ । उपनिर्वाचनकालागि नेकपा एमाले कनकाई वडा नं. ६ को केही दिन अघि सम्पन्न वडा कमिटीको बिस्तारित बैठकले वडास्तरीय निर्वाचन परिचालन समिती साथै निर्वाचन केन्द्रित सल्लाहकार समिति सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।
एमाले नगर कमिटीका पुर्व सचिवालय सदस्य साथै पुर्व वडा ईञ्चार्ज धर्मेन्द्र भट्टराईको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । त्यस्तै स्थानीय एमाले नेता लीलाबल्लभ सुवेदीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन केन्द्रित सल्लाहकार समिति गठन गरेको बताइएको छ । एमाले वडा कमिटी अध्यक्ष वृहस्पती ओलीको अध्यक्षता एवं जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा निर्वाचन केन्द्रित विशेष बैठक सम्पन्न भएको हो ।
एमालेका तर्फबाट पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेत, त्यस्तै नगर कमिटीका पुर्व सचिवालय सदस्य धर्मेन्द्र भट्टराई र पुर्व ईलाका कमिटी सदस्य शान्तीराज प्रसाई आकांक्षीका रुपमा रहेको पाइएको छ । वडा कमिटी सहित निर्वाचन परिचालन समितिको सिफारीसका आधारमा एमाले नगर कमिटीले आज कातिक १० गते उम्मेद्वारको टुङ्गो लगाउँने पार्टी स्रोतले जनाएको छ ।
वडाअध्यक्ष पदमा आकांक्षी तीनजना रहेको भएपनि यस उपनिर्वाचनका लागि बस्नेतकै पक्षमा निर्णय हुने अवस्था देखिन्छ । साविक घैलाडुवा गाविसको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल जनप्रनिधिको अनुभव बटुलीसकेका बौद्धिक व्यक्तित्व बस्नेत बिगत लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा क्रियाशिल छन् ।