कनकाई खबर \ झापाको कनकाईमा उपनिर्वाचनको चहलपहल सुरु भएको छ ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै स्थानीय स्तरमा चहलपहल सुरु भएको हो । कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो । थापाको निधनपछि हाल वडा सदस्य कल्पना विश्वकर्माले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
गत स्थानीय तहको निर्वाचनमा जेब्रा चिन्ह भएका स्वतन्त्रका उम्मेदवार लक्ष्मीप्रसाद ओलीलाई पराजित गरी नेकपा एमालेका उम्मेदवार दीर्घबहादुर थापा निर्वाचित भएकाथिए । त्यसबेला थापाले ५०८ मत प्राप्त गरी विजयी बनेका थिए भने ओलीले ४४० मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका तर्फबाट रेवतबहादुर रेग्मीले २९४ मत प्राप्त गरेका हुन् ।
यस उपनिर्वाचनमा वडामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, स्वतन्त्र र राप्रपाबाट समेत वडाअध्यक्ष पदकालागि उम्मेद्वारी दर्ता हुने बुझिएको छ । आज कातिक १० गते सम्ममा उम्मेद्वारको टुङ्गो लगाउँने गरी तयारीमा जुटेका प्रमुख दलका नेता तथा कार्यकर्ताहरु यति बेला कनकाईको वडा नं.६ मा केन्द्रित छलफल र संवादमा व्यस्त देखिन्छन् ।
एमालेका तर्फबाट पार्टीको जिल्ला कमिटी पुर्व सदस्य साथै क्षेत्रीय कमिटीका पुर्व सचिव समेत रहेका पुर्व जनप्रतिनिधि तुलाराम बस्नेत, त्यस्तै नगर कमिटीका पुर्व सचिवालय सदस्य धर्मेन्द्र भट्टराई र पुर्व ईलाका कमिटी सदस्य शान्तीराज प्रसाई आकांक्षीका रुपमा रहेको पाइएको छ । वडा कमिटी सहित निर्वाचन परिचालन समितिको सिफारीसका आधारमा एमाले नगर कमिटीले आज कातिक १० गते उम्मेद्वारको टुङ्गो लगाउँने पार्टी स्रोतले जनाएको छ ।
त्यस्तै नेपाली कांग्रेसबाट समेत दुईजना भन्दा बढी नै आकांक्षी भएपनि गत स्थानीय तह निर्वाचनका प्रत्यासी केशव बिमली र पार्टीका युवा नेता रामगोपाल ओली मध्ये एकजनाको टुङ्गो लाग्न सक्ने पार्टी स्रोतले जनाएको छ । वडाकमिटीले निर्णय गरेर पठाएको सिफारीसका आधारमा पार्टीको नगर समितिले यहि कातिक ११ गते उम्मेद्वारको अन्तिम निर्णय गर्ने तयारी भएको बुझिएको छ ।
माओवादी केन्द्रबाट समेत गत स्थानीय तह निर्वाचनका प्रत्यासी रेवत रेग्मी र पार्टीका युवा नेता गणेश थापा मध्ये एकजनाको नाम चाँडै टुङ्गो लाग्ने पार्टी स्रोतले बताएको छ । दिपावलीको अवसरमा पार्टीको तर्फबाट वृहत शुभकामना आदानप्रदान सहित उम्मेद्वार सार्वजनिक गर्ने योजना रहेको पार्टी स्रोत बताउँछ । राप्रपाले समेत पार्टीका स्थानीय नेता नारायण निरौलालाई उम्मेद्वारका रुपमा तयारी गरेको छ । उता यस अघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्रको उम्मेद्वारका रुपमा झिनो मतको अन्तरले पराजित बनेका लक्ष्मीप्रसाद ओली समेत यस उपनिर्वाचनमा वडाअध्यक्षको उम्मेद्वारका रुपमा चुनावी मैदानमा अघि बढ्ने भएका छन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी सहित वडामा क्रियाशिल अन्य साना दलको समेत आँफूलाई समर्थन हुने भएकाले निर्वाचनको तयारीमा रहेको ओलीले बताए ।
स्थानीय तहमा अहिले ३९ पद रिक्त छन् । गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात देशभरबाट विभिन्न कारणले १ नगरपालिका प्रमुख, १ उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ३ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख, २१ नगरपालिकाका वडाअध्यक्ष र ९ गाउँपालिका वडाअध्यक्षको रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो ।
झापामा झापा गाउँपालिका अध्यक्ष, कनकाई नगरपालिका वडा नं ६ का वडाअध्यक्ष , बिर्तामोड १० का वडा सदस्य, बिर्तामोड ६ की दलित महिला सदस्य,बिर्तामोड ९ का वडा सदस्य र झापा गाउँपालिका वडा नं ६ का वडा सदस्यको पद रिक्त छ । त्यसमध्ये कनकाई वडा न. ६ को वडाअध्यक्ष पदकालागि मात्र उपनिर्वाचन हुन लागेको हो ।
गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बनमा परेपछि उनको पद रिक्त छ । अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । विशेष अदालतको सो निर्णय विरुद्ध शाहले सर्वोच्चमा मुद्धा हालेका छन् । जुन विचाराधिन अवस्थामा रहेको छ । अन्य वडा सदस्यको हकमा एक वर्षमै रिक्त भएपनि सो पदका लागि उपनिर्वाचन गराउने व्यवस्था नरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यहीदिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिने भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने जनाइएको छ । मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने स्थानीय तह र पद :


