कनकाई खबर \ कनकाई स्थित जामुनखाडी स्पोर्टिङ क्लबले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं.२ ले हात पारेको छ ।
पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनाबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र कनकाई—२\१ स्थित खेलमैदानमा सम्पन्न वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ ले हात पारेको हो ।

वडा दशैंको अवसरमा यहि असोज १९ गतेदेखी सुरु भइ २४गते फुलपातीका दिन समापन भएको प्रतियोगिताको फाइनल खेल कनकाईको वडा नं.२ र वडा नं.१ बीच भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा वडा नं.२ का तर्फबाट खेलको २४ औं मिनटमा रोशन बर्देवाले गरेको एक गोल नै निर्णायक सावित भयो । विजेता टिम वडा नं.२ ले नगद ३१ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । समापन समारोहमा प्रमुख अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी र वडा नं.२ का वडाअध्यक्ष बलराम राईले विजेता टिमलाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरे ।
त्यस्तै उपविजेता बनेको वडा नं.१ लाई समेत नगद २१ हजार, मेडल र प्रमाण पत्र प्रदान गरेको आयोजक समितिका खेल संयोजक दिलकुमार राईले जानकारी दिए । खेलको म्यान अफ द म्याच वडा नं.१ का जर्सी नं.८ का खेलाडी महसुस चौधरी घोषित भए । उनलाई नगद २ हजार सहित ट्रफी प्रदान गरियो ।

त्यस्तै प्रतियोगिताको मेन अफ द टुर्नामेन्ट वडा नं.२ का दिनेश राई घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै हाइस्कोरर वडा नं.२ का रोशन बर्देवा घोषित भए । उनले समेत नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । हाइस्कोरर गर्ने खेलाडी बर्देवालाई स्थानीय कृष्ण बर्देवाले थप एक हजार पुरस्कार दिए ।
प्रतियोगितामा पहिलो नगद पुरस्कारको राशी झापा क्षेत्र नं.४ का सांसद एलपी साँवा लिम्बूबाट सहयोग प्राप्त भएको हो भने दोस्रो पुरस्कारको राशी हाल जर्मनमा रहेका नगेन्द्रकुमार श्रेष्ठबाट सहयोग प्राप्त भएको आयोजक समिति जामुनखाडी स्पोर्टिङ क्लबका अध्यक्ष रत्नकुमार राईले जानकारी दिए ।

क्लवका अध्यक्ष राईको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समापन विशेष समारोहका अवसरमा युट्युब च्यानल सिज्लीङ्ग रोइनीलाई सम्मान गरेको बताइएको छ । युट्युब च्यानलका माध्यमबाट जामुनखाडी सिमसार क्षेत्रको प्रचार प्रसारमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको बताइएको छ ।
पुर्व खेलाडी विनोद राणाले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख शिवाकोटी सहित कनकाईको वडा नं.१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, आयोजक समितिका खेलमैदान व्यवस्थापन संयोजक ईन्द्र पुलामी मगर लगायतले मन्तव्य राखेका थिए ।
्
्
