म मात्रै सुनको मान्छे ! अरु हुन् रङ्ग रोगन ।
म विद्यावारिधि अन्य जो जो छन् मात्र लेपन ।।
अर्काको रिसमा हाम्ले आगो आफ्नै शरीरमा ।
लगाई जित हो भन्छौं पग्ली यी हिम रितमा ।।
उल्लुले ठान्दछ सूर्य छँदै छैन धरा महाँ ।
नदेख्दा उसले रश्मी मानोस् के रविका कण ।।
भन्ने छोडौँ सबै आज जोडौं मानव बन्धन ।
अरण्य बीचमा एक्लै सुगन्ध छ चन्दन ।।
ठुला, वीर भयौँ धेरै असल बन्न सिकौँ अब ।
सुकेको समिदा छिट्टै अग्निले खान्छ त्यो सब।।
घृणा, द्वेष पखालेर गङ्गाझैँ मन निर्मल ।
देवत्व मनमा जागोस् राक्षसी क्षय भूतल ।।
रोगव्याधि सबै भागून् शुद्ध होस् मनको गति ।
सत्कर्म जनले पाउन् नहोस् वैराग्यको मति।।
भत्केका मन जोडेर हाली “साँघु” बढौँ अघि ।
होस् यात्रा सबका निम्ति नहोस् त्यो अघि वा पछि।।
झरी -हिलो सुकेजस्तै सुकोस् उन्माद देशमा ।
राज- रैती बनून् दर्पण नहून रावण भेषमा।।
सूर्यको रश्मी छोपेर सकिन्न त्यो सधैंभरि ।
अँजुली भरको पानी रहन्न त्यो कसै गरी ।।
पखालौँ मनको मैलो हेरौँ सुन्दर चाँदनी ।
काँडाको बीचमा फुल्दा गुलाव बन्छे रागिनी ।।
दुर्गा भग्वतीले हाम्रो अनित्य त्रास ती हरून् ।
नेपाली जनको रक्षा भवानी यिनले गरुन्।।
दुःख कष्ट जति छन् ती लुकाई शान्ति- कामना ।
बडा दसैँ एकासीको सबैमा शुभकामना ।।
अस्तु