कनकाई खबर \ पूर्वी नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वनले पर्या–पर्यटनसँगै उद्यमशिलतालाई अघि बढाएको छ ।
पर्या–पर्यटन सञ्चालन गरी समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुराको एउटा भरपर्दो उदाहरण बनेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पछिल्लो समय टपरा उत्पादनको सुरुवात हुन थालेपछि उद्यमशिलताको थप पाइला अघि बढेको हो ।वन समूहले २९औं वार्षिक साधारण सभाको अवसर पारेर वन क्षेत्रमा ‘टपरी उद्यम घर’ संचालनमा ल्याएर आम्दानीको थप वैकल्पिक बाटो बनाउँन खोजेको बताइएको छ ।

वन समूहका अध्यक्ष परशुराम गिरीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी शिवाकोटीले पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको थप विकास साथै विस्तार गर्न स्थानीय सरकार, सामुदायिक वन समिति र उपभोक्ता बीच सहकार्य हुनु जरुरी रहेको बताएकी छन् । सामुदायिक वनले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु सामान्य कुरा नभएको भन्दै उपप्रमुख शिवाकोटीले यो सम्मान स्थानीय सरकारका लागि समेत एउटा ठूलो सम्पत्ति भएकोले यसको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताएकी छन् ।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर उनीहरुको पठनपाठनमा थप हौसला जगाएको बताइएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुमा विशेष तामाङ, साम्राज्ञी राई, खुशीश्रेष्ठ र रेवन सुवेदी रहेका छन् ।

त्यस्तै उत्कृष्ट कर्मचारी अन्तर्गत वन समूहमा लामो समयदेखी कार्यरत कर्मचारीहरु हरिमाया श्रेष्ठ, लक्ष्मी माझी र डिल्लीराज दहाललाई नगद सहित सम्मान पत्रका साथ सम्मान गरिएको वन समूहका कार्यालय सचिव अम्बरबहादुर चौहानले जानकारी दिए ।
पर्या–पर्यटनसँगै समृद्धिको यात्रा तय गरेको जामुनबारी सामुदायिक वनले यसको संरक्षण, सम्वद्र्धनका साथै सिमसार क्षेत्रको विकास र यस समुहलाई असुरक्षित वन्य जन्तुहरुको लागि सुरक्षित बासस्थानको रुपमा परिचित गराउन सफल भएको वन समूहका अध्यक्ष परशुराम गिरीले जानकारी दिए । वन समूहको सभाहलमा भएको वार्षिक साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले वन समूहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न पुरस्कारहरु समेत प्राप्त गरी सम्मानीत भईसकेको जानकारी गराए ।
त्यस्तै वन संरक्षण तथा वन विकासका लागि जामुनबारी सामुदायिक वनले प्राप्त गर्ने सबैभन्दा महत्वपुर्ण पुरस्कार “गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७२” प्राप्त गरेको बताइएको छ । वन विकासका साथसाथै यस समूहले २०६५ साल देखी नै असुरक्षित वन्यजन्तुहरुको लागि सुरक्षित वासस्थानको रुपमा स्थापित गरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागद्धारा वन्यजन्तु संरक्षण पुरस्कार २०६९मा प्राप्त गरेको अध्यक्ष गिरीले जानकारी दिए ।
व्न तथा वन्य जन्तुहरुको ंसंरक्षण लगायत यस वन क्षेत्र भित्र प्राकृतिक रुपमा रहेको जामुनखाडी सिमसार क्षेत्रको विकासगरी पर्या–पर्यटनको रुपमा विस्तार गरे वापत विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट २०७३ मा प्रकृति संरक्षण पुरस्कार प्राप्त गरी जामुनबारी सामुदायिक वनलाई देशकै एक सवल सामुदायिक वनको रुपमा स्थापीत गराएको बताइएको छ । साथै केहीदिन अघि मात्र छिमेकी मित्रराष्ट्र भारतको पश्चिम बंगाल सरकारबाट विश्व पर्यटन दिवश २०२४ को अवसरमा हिमालयन हस्पीटालिटी तथा पर्यटन विकास कार्यक्रम मार्फत ‘सस्टेनेवल टुरिजम डिस्टीनेशन अफ द इयर अवार्ड २०२४’अर्थात यस वर्षको “दिगो पर्यटन गन्तव्य” को रुपमा सुचिकृत हुने गरी सम्मानीत गरेको अध्यक्ष गिरीले जानकारी दिए ।
स्वीकृत जामुनखाडी पर्यापर्यटन विकास सम्बन्धी कार्ययोजना अनुसार यस वन समुहले गरेको वन विकास, जामुनखाडी सिमसार क्षेत्रको संरक्षण र “असुरक्षित वन्य जन्तुहरुको लागि सुरक्षित बासस्थान”का कार्यहरुको कारण यस समुहले वार्षिक ३ करोड सम्मको आय आर्जन गर्न सफल भएको अध्यक्ष गिरीले विगतको स्मरण गराए । समय परिवर्तनसँगै कोरोना कहर, विभिन्न ठाउँहरुमा खुलेका मनोरञ्जन स्थल साथै वन समितिले आफूलाई परिमार्जन गर्न नसक्दा आजका दिनमा सामुदायिक वन आर्थिक रुपमा कमजोर भएको अवस्थाका बारेमा अध्यक्ष गिरीले सभामा जानकारी गराउँदै सहयोगका लागि तीन तहकै सरकारसँग अनुरोध गरे ।
कार्यक्रममा स्थानीय वडा नं. २ का वडाअध्यक्ष बलराम राईले स्थानीय सरकारको प्रतिनिधिका रुपमा रहेको वडा समितिले जामुनबारी सामुदायिक वनसँग साझेदारीमा काम गरेर अघि बढ्न चाहेको बताए । वडासमितिको भन्दा दोब्बर बजेट निर्माण गरेको सामुदायिक वन आँफैमा अब्बल संस्था रहेको भन्दै वडाअध्यक्ष राईले एक आपसमा सहकार्य, एकता र सद्भावका साथ अघि बढ्न सकेमा सबै पक्षलाई फाइदा हुने बताए ।
साधारण सभामा सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशकी कोषाध्यक्ष गीतादेवी तिम्सिना भण्डारीले सामुदायिक वन महासंघ र डिभिजन वन कार्यालयले उपभोक्तालाई अन्यौलमा पारेको बताइन् । डिभिजन वन कार्यालयले सामुदायिक वनमा हस्तक्षेप गरी व्यापार गर्न खोजेका कारण सामुदायिक वनको काम कारवाहीमा अवरोध सिर्जना भएको भण्डारीको ठहर छ ।
कार्यक्रममा वन समूहका संस्थापक अध्यक्ष केदार गिरीले वन क्षेत्रमा भएका संरचनाहरुको संरक्षण अभाव देखिएको भन्दै यस तर्फ उपभोक्ता समिति सहित सरोकारवाला सबैको ध्यानाकर्षण हुनु पर्ने तर्फ जोड दिए । पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन राज्यको समेत सम्पत्ति भएकाले यस क्षेत्रको आसपासमा रहेका बाटो, सडक, बिजुलीबत्ती, खानेपानी लगायतका आधारभूत आवश्यक्ता पूरा गर्ने कार्यमा स्थानीय सरकारले चासो दिनु पर्नेमा गिरीको जोड थियो । कार्यक्रममा कनकाई सब डिभिजनका प्रतिनिधि याम राना, प्रजापति सामुदायिक वनका अध्यक्ष मात्रिका पोखरेल, सुकेडाँगी सामुदायिक वनका अध्यक्ष बलराम रिसाल लगायतले कार्यक्रम सफलताको कामना गरेका थिए ।
संस्थाकी कोषाध्यक्ष चेतकुमारी सापकोटाले आर्थिक प्रतिवेदन र कार्यालय सचिव अम्बर चौहानले आर्थिक वर्ष २०८१\०८२ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष रेणुका खबासले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव दिपक ओलीले गरेका थिए ।
