कनकाई खबर \ झापाको कनकाई—२\१ स्थित जामुनबारी सामुदायिक बन उपभोक्ता समुह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले भर्खरै प्राप्त गरेको अन्तर्राष्ट्रियस्तरको अवार्ड सार्वजनिक गरेको छ ।
भारतको पश्चिम बंगाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले केही दिन अघि प्रदान गरेको अवार्ड वन समूहको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
नेटवर्कले आयोजना गरेको छैठौं हिमालयन हस्पिटालिटी टुरिजम अवार्ड २०२४ का अवसरमा विभिन्न २४ वटा विधामा पुरस्कार प्रदान गरेको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर नेटवर्कले प्रदान गरेको विभिन्न अवार्ड मध्ये “सस्टेनएबल टुरिजम डेस्टिनेशन अफ द इयर’’शिर्षकमा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले यो अवार्ड प्राप्त गर्न सफल भएको वन समूहका अध्यक्ष परशुराम गिरीले जानकारी दिए । अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज भएको अध्यक्ष गिरीले प्रष्ट पारे । नेपालका अन्य थुप्रै यस्ता क्षेत्रलाई पछि पार्दै जामुनखाडीले अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्न सफल भएको हो ।
जामुनखाडीको उक्त पुरस्कार कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा)कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दिपक ओली, सल्लाहकार सदस्य अनिरुद्र ओली र अशोक न्यौपानेले संयुक्त रुपमा ग्रहण गरेका थिए ।
यसअघि २०२३ को हिमालय ल्याण्डस्कप नेपाल र सन् २०२२ को पर्यटकमैत्री ग्रामीण पर्यटकीय पुरस्कार इलामको पर्यटकीय क्षेत्र कन्यामलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको बताइएको छ । नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्यप्रसाद थपलिया र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको पहलमा जामुनखाडीलाई उक्त अवार्ड प्राप्त भएको बताइएको छ। नेपाल पर्यटन बोर्ड र निवर्तमान अध्यक्ष श्रेष्ठले भारतका पश्चिम बंगाल बिहार राज्य नजिक रहेका नेपालका आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रलाई सिफारिस गरिएको थियो ।
सिफारिस पश्चात आयोजकले विभिन्न मापदण्ड बनाएर एउटालाई छनौट गर्ने क्रममा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले मापदण्ड पूरा गरी अवार्ड प्राप्त गरेको वन समूहका सचिव दिपक ओलीले जानकारी दिए ।
२०५२मा जामुनबारी सामुदायिक वन स्थापना गरि २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालन गर्न थालिएपछि यस क्षेत्रमा बर्सेनी लाखौँ पर्यटकहरु आउने गरेका छन् । कूल४ सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन परिसर भित्रको २६ दशमलव ५४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालित रहेको छ । यसकारण पनि जामुनबारी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको केन्द्रबिन्दु बन्दै गएको वन समूहका सचिव ओली बताउँछन् ।
कनकाईको वडा नं.—१\२लाई कार्यक्षेत्र बनाएर सञ्चालित यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पति साथै लोपोन्मुख दुर्लभ वन्यजन्तुहरू नीलगाई, अष्ट्रिच, एमु, अजिङगर, चितुवा, भालु, मृग, खरायो, हुचिल, सेतो मुसा, सारस तथा विभिन्न प्रजातिका चराहरू साथै विभिन्न प्रजातिका सरिसृप जिवजन्तुहरूको अवलोकन गर्न सकिने वन समूहका अध्यक्ष गिरी बताउँछन् । उक्त क्षेत्रभित्र रहेको पोखरी र झोलुङ्गे पुल पनि विशेष आकर्षण रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
यतिमात्र होइन यहाँ भएका विभिन्न प्रजातिका फूलवारी र बच्चाहरूका विभिन्न प्रकारका खेलहरूले बालक देखि बृद्धसम्मको मनलाई आकर्षण गरिरहेको बताइएको छ । विभिन्न प्रजातिका जिवजन्तु र वनस्पतिको अध्ययन अनुसन्धानका लागि पनि जामुनखाडी पछिल्लो समय अनुसन्धानकर्ता सहित पर्यटकका लागि आकर्षण बन्दैं गएको बताइएको छ ।
तर पछिल्लो समय कोरोना कहरसँगै विगतको तुलनामा पर्यटकको आगमन साथै आम्दानी घटेको अध्यक्ष गिरीले जानकारी दिए । जसका कारण वन क्षेत्रमा रहेको कोशी प्रदेशकै पहिलो प्राणी उद्धार केन्द्रमा रहेका वन्यजन्तुहरुलाई दैनिक आहाराको जोहो गर्न आर्थिक समस्या हुन थालेको अध्यक्ष गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
वन्यजन्तुको आहारा साथै कर्मचारीको तलब गरी मासिक सात लाख खर्च हुँदै आएको यस सामुदायिक वन क्षेत्रमा पछिल्लो समय तीन तहकै सरकारसँग हारगुहार गरिरहेको भएपनि कुनै तहबाट सहयोग प्राप्त नहुँदा दिनप्रतिदिन अवस्था कमजोर बन्दै गएको भन्दै वन समूहका अध्यक्ष गिरीले सरकारप्रति गुनासो पोखे ।
अध्यक्ष गिरीले वन क्षेत्रलाई पहिलाकै अवस्थामा ल्याउँनका लागि आगामी दिनमा गर्नुपर्ने महत्वपुर्ण कार्यहरुलाई बुदाँगत रुपमा प्रस्तुत गरे । विभिन्न नौवटा बुँदामा समेटिएका महत्वपूर्ण कार्यहरुमा आगामी दिनमा वन क्षेत्रमा चरिचरण बन्द, उपभोक्ता परिचालन मार्फत आवश्यक परे श्रमदान, जामुनखाडी–२ को सौन्दर्यकरण, जामुनखाडीलाई प्रदेश नं.१ को चिडियाखाना निर्माणमा पहल तथा पुर्वाधार विकास, बँदेल तथा चित्तल जातका मृगहरुलाई व्यवासायिक रुपमा संरक्षण गर्ने अधिकार प्राप्त गर्नका लागि केन्द्रिय सरकारसँग अनुमती लिने, परम्परागत, सँस्कृतिजन्य चिज वस्तु संकलन केन्द्र, कोसेलीघर सन्चालन, एकोरियम घर निर्माण साथै जामुनखाडी वरिपरि रहेको पार्कमा व्यवस्थित सिँचाई लगायत रहेको बताइएको छ ।
वन समूहका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा समुहकी उपाध्यक्ष रेणुका खवास, सचिव दिपक ओली, कोषाध्यक्ष चेतकुमारी सापकोटा, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा, अशोक न्यौपाने, लेखा समिति संयोजक रमेशकुमार बारकोटी , कार्यालय सचिव अम्बरबहादुर चौहान , कार्यसमितिका सदस्यहरु सहित अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
