सामान्य अर्थमा रोग भन्नाले सजिव प्राणिहरुको शरीरमा देखिने असामान्य अवस्थालाई बुझिन्छ।रोगहरु २ प्रकारका हुन्छन,सर्ने रोग र नसर्ने रोग।चिकित्सा विज्ञानका आधारमा हेर्दा रोगी व्यक्तिवाट स्वास्थ्य व्यक्तिमा सर्ने रोगलाई सरुवा रोग भनिन्छ।दुषित हावा, पानी, दिशा, पिसाब, सरसफाईको कमि र अन्य कारणमा ब्यक्टेरिया,भाईरस,प्रोटोजोआ,फङ्गस आदिका उपस्थितिले सरुवा रोग हुने गर्दछ।यस्ता रोगहरुको समयमै निदान र उपचार नभएको खण्डमा महामारीको रुपमा देखिने गर्दछन्।

एक व्यक्तिबाट अर्कोमा प्रायः नसर्ने रोगलाई नसर्ने रोग भनिन्छ।यी रोगहरु प्राय दीर्घ (Chronic) प्रकारका हुन्छन् । सर्ने रोगको तुलनामा प्राय नसर्ने रोगहरुको लक्षण तथा चिन्ह देखिन लामो समय लाग्ने गर्दछ।त्यसकारण मानिसहरु सर्ने रोगको तुलनामा नसर्ने रोगवाट कमै सचेत रहेको पाईन्छ।नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्छन् ।क्यान्सर, मधुमेह, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन्।
वर्तमान परिप्रेक्षलाई हेर्दा हामीले नसर्ने रोगलाई खासै ध्यान दिएको पाईन्न।विश्व स्वास्थ्य संगठन २०२३ को तथ्याङ्क अनुसार हेर्दा बिश्वमा नसर्ने रोगको समस्या निम्नानुसारको देखिन्छ ।
१. संसारमा हुने कुल मृत्युको ७४ प्रतिशत मृत्यु वा प्रतिवर्ष ४,१०,००,००० व्यक्तिको मृत्यु नसर्ने रोगका कारणबाट हुने गरेको छ ।
२. ७० वर्ष उमेर नपुग्दै मृत्यु हुने व्यक्तिमध्ये १७०,००,००० व्यक्तिको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ ।
३. उमेर नपुग्दै हुने मृत्युको ८६ प्रतिशत व्यक्ति अल्पबिकशित तथा बिकासोन्मुखमुलुकमा हुने गरेको छ भने ७७ प्रतिशत यस्तो मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ ।
४. नसर्ने रोगबाट मृत्यु हुने प्रमुख चारवटा रोगमध्ये वार्षिक १,७९,००,००० व्यक्तिको मृत्यु नसर्ने प्रकारको मुटु रोगसँग सम्बन्धित कारणले हुने गरेको छ, क्यान्सरबाट ९३,००,००० व्यक्ति, दीर्घ श्वासप्रश्वास रोगबाट ४१,००,०००जना र मधुमेह तथा मधुमेहसँग सम्बन्धित जटिलताबाट २,००,००,००० व्यक्तिको मृत्यु हुने गरेको छ ।
५. यी सबै किसिमका नसर्ने रोगहरूको मृत्युको प्रमुख कारण सूर्ती तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मद्यपानको अनियन्त्रित सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण प्रमुख कारणका रुपमा रहेका छन् ।
केही दशक अघिको सन्दर्भलाई हेर्दा बिकशित मुलुकहरुमा मात्र नसर्ने रोगको जोखिमलाई उच्च रुपमा हेरिदै आएकोमा हाल अल्पबिकशित तथा बिकासोन्मुख राष्ट्रहरुमा पनि नसर्ने रोगको समस्याले व्यापकता पाई जोखिम निरन्तर बढ्दै गइरहेको अवस्था छ । नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकतासँगै भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । बिश्व स्वास्थ्य संगठन Country Profile 2018 को तथ्याङ्कलाई हेर्दा क्रमशः मुटुसम्बन्धी समस्या वा हृदयघात, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या र मधुमेह रोगको समस्या नेपालमाप्रमुख नसर्ने रोगका चुनौतीका रुपमा रहेका छन्।
नसर्ने रोगकोसगँ जोडिएका रोगको अवस्थालाई उदाहरणको रुपमाहेर्ने हो भने कनकाई नगरपालिकाले गत आ।व। २०८र०८१ मा बिपन्न नागरिक उपचार कोष कार्यक्रम अन्तर्गत ७१ जनालाई गरेको थियो। सिफारिस गरिएका बिरामीहरुमा नसर्ने रोगको वर्गिकरण गर्दा मुटुरोग १३ जना, क्यान्सर४४ जना, मृगौला रोग ८ जना, पार्किन्सन्स १ जना र मेरुदण्ड पक्षघात ५ जनाको रहेको छ।तथ्याङ्कमा पनि कडा नसर्ने रोगको निदान भई उपचारको प्रकृयामा रहेका बिरामीहरु जो नेपाल सरकारको बिपन्न नागरिक उपचार कार्यक्रम लागु भएका अस्पतालमा उपचारको दायरामा रहि अस्पतालवाट प्रदान गरिएको सिफारिको कागजातका अधारमा भेटिएको बिरामी संख्याको तथ्याङ्क मात्र हो।
हाल हाम्रो समुदायमा हुने मृत्यूको कारणलाई गहिरो रुपमा खोजि तथा अनुसन्धान गरि गर्दा करिव दुई तिहाई भन्दा वढी मृत्यूको कारण नसर्ने रोगवाट भएको पाईन्छ।सन् २०१९ देखि करिव ३ वर्षसम्म बिश्वमा भयावह अवस्थामा फैलिएको कोभिड(१९वाटबिश्वमा ६ करोड,नेपालमाकरिव १२ हजार तथा कनकाई नगरपालिकामा ४८ जनाको मृत्यू भएको बिभिन्न तथ्याङ्कले देखाएको छ।जस्मा मृत्यूदरको अवस्थालाई हेर्दा नसर्ने रोगको तुलनामा कम मात्रामा रहेको पाईन्छ।
नसर्ने रोगका मुख्य कारणहरु
बुदाँगत रुपमा हेर्दा नसर्ने रोगका मुख्य कारणहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।
-धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन
-मद्यपान सेवन
-अस्वस्थकर जीवनशैली
-पत्रु खाना (जङ्क फूड) को सेवन र अस्वस्थकर खानपान
-वातावरणीय प्रदूषण
-दबाब वा तनावको सामना
-बंशाणुगत अवस्था
रोकथामका उपायहरुः-
रोग लागि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै सवैभन्दा राम्रो उपाय हो।अतः सर्ने रोग र नसर्ने रोगको रोग लाग्ने र सर्ने प्रकृयामा केही रुपमा भिन्नता पाईएता पनि रोकथामका उपायहरुमा भने केही रुपमा समानता पाईन्छ।संक्षेपमा हेर्ने हो भने नसर्ने रोग रोकथामका उपायहरुलाई मुख्यतः निम्नानुसार उपायहरु अवलम्वन गर्ने हो भने नसर्ने रोग वाट धेरै हद सम्म वच्न सकिन्छ।
(क) स्वास्थ्यकर खानापान।
(ख) नियमित शारीरिक ब्यायम,योगा,ध्यान गर्ने।
(ग) मोटोपनको नियन्त्रण।
(घ) धुम्रपान,सुर्तिजन्य पदार्थको सेवन तथा मध्यपानको कुलतवाट टाढा रहने।
( ङ ) आवश्यक९सहि० मात्रामा मात्र नुन तथा चिल्लो पदार्थको सेवन।
(च ) चिन्ता,तनावको व्यवस्थापन।
( छ ) बिद्यालयमा साप्ताहिक रुपमा अतिरिक्त कृयाकलाप गरी स्वास्थ्य शिक्षालाई बिशेष महत्व दिने।
( ज ) दैनिक खानाको थालिमा अन्नलाई कम गरी फलफूल,गेडागुडी र दालजन्य पदार्थ तथा सागसव्जिलाई प्राथमिकता दिने।
( झ ) समय समयमा स्वास्थ्य परिक्षण९रक्तचाप,रगतमा चिनीको मात्राको परिक्षण,मुटुको परिक्षण,मृगौलाको परिक्षण,स्तन तथा पाठेघर परिक्षण,आँखाको परीक्षण आदि०
(ञ) परिक्षणमा रोग देखिएमा तुरुन्त उपचार गर्ने।
हालको वढ्दो अवस्थामा रहेको नसर्ने रोगको संक्रमणवाट वच्न माथि उल्लेखित कार्यहरुलाई अपनाउदा अपनाउदै पनि हामी कुनै न कुनै तवरवाट नसर्ने रोगको शिकार हुन पुगिन्न भन्न सकिन्न।अत हामीले निवारण गर्न सकिने कुराहरु जस्तैः हाम्रो दैनिक खानपानमा अन्न (Carbohydrates), नुन,चिनी तथा चिल्लोको मात्रालाई केहि हद सम्म कम गर्ने,दैनिक खानपानमा हरियो सागसव्जि तथा फलफूलको मात्रा वढाई गेडागुडि तथा दाल (Protein) जन्य खानेकुराको मात्रा वढाई दैनिक रुपमा शारीरिक ब्यायम,योगा,ध्यान गरी मोटोपनको नियन्त्रण जस्ता कार्यहरु तथा समय समयमा स्वास्थ्य परिक्षणलाई प्रथमिकतामा राखी सरुवा रोगको जोखिम वाट टाढा रहौं,स्वास्थ्य वनौं।
