साहित्यका विभिन्न विधाहरूमध्ये कविता सर्वोत्कृष्ट एवं सर्वप्राचीन विधा पनि हो। आकार, संरचना, भाव तथा विषयवस्तु अनि अर्थ गाम्भीर्यताका दृष्टिले पनि कविताहरू पठनीय एवं श्रवणीय हुने भएकाले पनि कविता विधा सर्वप्रिय बनेको हो। थोरैमा धेरै भन्न सकिने, विषयवस्तुमा पनि व्यङ्ग्य प्रहार गर्न सकिने, समय सापेक्ष वस्तुतालाई सरल र सहज ढङ्गबाट प्रस्तुत गरिने भएको हुँदा कविता विधा आफैँमा जटिल हुँदाहुँदै पनि सर्वप्रिय विधा बनेको कुरामा दुई मत छैन।

झन्डै दुई वर्षअघि प्रकाशनमा आएको बसिबियाँलो कविता संग्रह कवि तिलोत्तमा घिमिरेको एक उत्कृष्ट कविता संग्रह हो। यसलाई उत्कृष्ट भनिनुका विभिन्न कारणहरू छन्। पहिलो कारण त यो आफैँमा कवित्वमय छ अर्थात् कवितामा पाइने सम्पूर्ण तत्वहरू जस्तैः शीर्षक, विषयवस्तु ,भाव तथा अनुभूति ,लय विधान ,केन्द्रीय कथ्य, व्यञ्जना, बिम्ब, प्रतीक ,अलंकार भाषिक शिल्प ,कथन पद्धतिजस्ता कविताका मूलभूत तत्वहरु कविता सङ्ग्रहमा पाइन्छन् भने दोस्रो मूलभूत कुराचाहिँ कवि तिलोत्तमा घिमिरे आफू छ दशक पार गरिसकेपछि पनि शास्त्रीय छन्दमा यति सुन्दर कविताहरु रचना गर्नुअनि ती कविताहरू पनि सुस्वादु एवं आश्वाद्य हुन सक्नु तथा पहिलो कविता सङ्ग्रह भएर पनि पुराना कविका कविताहरू भन्दा पनि अझ लोकप्रिय ,विशिष्ट अनि जीवनोपयोगी हुनुले पनि कवि तिलोत्तमा घिमिरे उत्कृष्ट कविका रूपमा विराजमानीत हुनुहुन्छ।
प्रकाशनको झन्डै दुई वर्षपछि म यस बसिबियाँलो कविता संग्रहको चर्चा यस कारण गरिरहेको छु कि यस सङ्ग्रहभित्रका कविताहरू यति लोकप्रिय र सशक्त छन् अनि जीवनोपयोगी पनि तर चर्चापरिचर्चाका दृष्टिकोणले जति सशक्त हुनुपर्ने हो त्यो पटक्कै नभएको मैले महसुस गरेको छु। हुन सक्छ यो मोफोसल हो। मोफोसल राजधानीको खाल्टोभन्दा टाढा होला तर क्षमता र योग्यतामा साहित्यलाई समेत विभाजित गर्नु यो अत्यन्त दुःखद कुरा हो। मैले गरेको कुरा काल्पनिक होइन। अन्तिम सत्य नहोला तर सत्य चाहिँ अवश्य हो। राजधानीको खाल्टो र मोफोसलको दुरी बीचलाई दशकौँदेखि नापिएकै छ त्यसैले पनि मोफोसलले आफ्नो क्षमतालाई यही प्रदर्शन नगर्ने हो भने जिउँदा जाग्दा साहित्यहरु मृत प्राय अवस्थामा सुशुप्त रहनेछन्। तसर्थ मैले पनि प्रस्तुत कृतिको दुई वर्षपछि पुनः चर्चा गरी यसलाई साहित्यकार एवं कविहरू माझ पुर्याउने जमर्को मात्रै गरेको हुँ ।
सुनेको छु माहुरीको संगतले फूलको थुगामा पुगिन्छ तर झिँगाको संगतले फोहोरको डङ्गुरमा । घिमिरे परिवार माहुरीको परिवार हो। त्यसैले उनीहरू माहुरीले फुलसँग खेलेझैँ कवितासँग खेल्न मन पराउँछ। सायद त्यसैको उपज होला कवि तिलोत्तमा घिमिरेको बसिबियाँलो कविता संग्रह । कवि घिमिरेका पूज्यपति गोविन्दप्रसाद घिमिरे पनि कवि, खण्डकाव्यकार एवं महाकाव्यकार हुन् भने छोरा अच्युत घिमिरे विभिन्न विधाहरूमा साहित्यको रचना गरी स्थापित साहित्यकार रूपमा परिचित भई हाल विभिन्न पत्रपत्रिकाहरूको सम्पादक तथा प्रकाशकका रूपमा काम गरिरहनुभएको छ। त्यसैले मैले यो परिवारलाई माहुरीको परिवार भनेको हुँ।
बसिबियाँलो कविता संग्रहमा विभिन्न छन्दहरूका साथै अन्त्यानुप्रासयुक्त लोकलयमा आधारित ६१ वटा कविताहरू सङ्कलित छन् । प्राध्यापक डाक्टर भीमप्रसाद खतिवडा तथा प्रतिष्ठित साहित्यकार कोमलप्रसाद पोख्रेलको भूमिका रहेको सङ्ग्रहमा गणेश स्तुति नामक कविताबाट गौरी पुत्र गणेशको वन्दना गरी कवितारुपी काव्यिक लेखनीमा कतै विघ्न बाधा नआओस् भनी प्रार्थना गरिएको छ। दोस्रो कविता सरस्वती बन्दनाका रुपमा रहेको छ। पठन संस्कृतिको अन्त्य भइरहेको परिप्रेक्षमा हाम्रा बालबालिकाहरूलाई असल संस्कार सिकाउनका लागि प्रस्तुत कविता अत्यन्त उपयुक्त छ।
कवितामा कविले सरस्वतीलाई विद्याकी दातृका रूपमा स्थापित गरी हरेक बालबालिकाहरुलाई असल संस्कार शिक्षाका माध्यमबाट दिने सरस्वतीप्रति बारम्बार नमनः गर्दै सबै बालबालिकाहरूलाई पियूषको घडा मस्तिष्कमा भरिदिन आग्रह गरेकी छिन्। छारो हाल्छन् घरिघरी ,नामक कवितामा कविले श्रमप्रतिको मूल्य खोज्दै गरिबको श्रम चुस्ने प्रत्येक गरिमाराहरूलाई घोंगटा अनि झुसुलकिराको संज्ञा दिएकी छन्।
बालसन्देश, नामक कविता प्रस्तुत संग्रहको बालबालिका लक्षित तयार पारिएको अत्यन्तै उत्कृष्ट कविता हो। बिहान जुरुक्क उठेर आँखा मिच्दै मोबाइल खोली उगदन अनि ाचभभ ाष्चभ मा रमाउने आजका बालबालिकाहरुलाई यस कविताले नैतिक शिक्षा समेत दिएको छ। आफैं स्वावलम्बी बन्न आग्रह समेत गरिएको कवितामा बिहान उठेर गरिने नृत्यकर्महरूलाई अत्यन्तै सन्तुलित ढङ्गबाट प्रस्तुत गरिएको छ ।
स्वावलम्बी हुनुपर्छ
समाजसेवी पनि
देश हाक्न सिक्नुपर्छ
ठूलो मान्छे बनी।।
देशको संविधान, नामक कवितामा कविले संविधानका विषयप्रति असन्तुष्टि व्यक्त गर्दै समाजका सम्पूर्ण वर्गलाई प्रतिनिधित्व गर्ने खालको संविधान कहिले प्राप्त हुने हो भन्दै प्रश्न उठाएकी छन्। कम्तिमा संविधानले मानिसलाई अधिकार मात्र होइन प्रकृतिलाई समेत बचाओस् भन्ने आशय कवितामा रहेको छ। वसन्तमा चरी, एक प्रकृतिवादी कविता हो। यस कविताले वसन्त ऋतुमा देखिने प्राकृतिक सौन्दर्यलाई अत्यन्तै सुक्ष्म रुपमा चित्रण गरेको छ। चरीलाई मुख्य प्रतीक बनाई लेखिएको कवितामा प्रकृतिलाई नै जीवनको सञ्जीवनीका रूपमा व्याख्या गरी स्वच्छ, सौम्य चेतनाका रुपमा मानव र प्रकृतिका बीचको तादत्मयतालाई सतहि रुपमा चित्रण गरिएको छ।
हेर आज वयको सब रङ्ग
हाँसखेल प्रियका बससँग
राज हो त अब यो ऋतुराज
गर्नुपर्छ सबले अब काज।।
स्वदेशमै बसौँ, कविता संग्रहको उत्कृष्ट राष्ट्रवादी कविता हो। कवितामा आफ्नो प्यारो देश नेपाललाई सर्वगुण सम्पन्न देशका रुपमा परिभाषित गरी स्वर्ग समान देशलाई माया मारी विदेश नपस्न आग्रह गरिएको छ। कविता विचारमा विदेश स्वदेश भन्दा रमणीय होला तर त्यो क्षणिक मात्र हो। पानीको फोका जस्तो मात्रै हो त्यसैले हरेक नेपालीले आफ्नै देशमा श्रम गरी पसिनालाई यही तरतर चुहाउनुपर्छ भन्ने सन्देश कवितामा कविले व्यक्त गरेकी छिन् ।
गुणी, नाम कविता हरेक व्यक्तिलाई कविताका माध्यमबाट असल मार्गमा डोहोर्याउने एउटा संग्रहको नीतिवादी कविता हो। कविताले आफूभित्र रहेका सम्पूर्ण अवगुणहरूलाई स्वेत देखाउने र अरुका गुणहरूलाई समेत अश्वेत देखाउने मानवीय परिपाटीप्रति तीव्र व्यङ्ग्य प्रहार गरेको छ। आजको विश्व विज्ञानले हराभरा फुलाएको भएतापनि नीतिवादी चेतना मर्दै गएका प्रति कविमा बेचैनी देखिएको छ । ज्ञान र विज्ञानको संगमबाट पनि सभ्य समाजको निर्माण गरिने तर्क कवितामा मौलाएको पाइन्छ।
शङ्खध्वनि गरुन् सारा
रोगाणु ती भगाहुने
ज्ञानको ज्योति बालेर
विज्ञानमा मिलाउने ।।
कृषक, कविता पनि सङ्ग्रहलाई पठनीय बनाउने अर्को एक कविता हो। यस कविताले कृषकलाई जीवनको सर्वोपरि ठान्दै आदि अनादि कालदेखि देव देवादिलाई समेत अन्न खुवाएर ढिकुटी भर्ने कृषकप्रति नमनः गरेको छ। यसका साथै कृषकलाई ईश्वरको अर्को प्रतिरूप समेत मानी पूजा गर्न समेत आग्रह गरिएको छ।
गरौँ कृषकको पूजा
सम्मान कर जोरले
मनुष्य रूप यी देव
बाँच्दछौँ अन्न ब्रह्मले।।
जङ्गल, कविताले हरेक मानिसहरूलाई विचारको स्वतन्त्रतामा रम्न आग्रह गरेको छ। जङ्गललाई स्वतन्त्रताको प्रतीक मान्दै जसरी जङ्गली जनावरहरू आफ्नो स्वतन्त्रता वा मर्जीले जङ्गलमा घुमफेर गर्छन् त्यसरी नै कविताले पनि हरेक मानिसहरूलाई विचारको स्वतन्त्रतामा रम्न आग्रह गरेको छ। कविताको मूल आशयलाई खोतल्ने हो भने कविताले कविप्रति समेत सुई फर्काएको छ। आज जीवनको उत्तरार्धमा कति व्यक्तिहरू आफूलाई बुढो महसुस गरी ओछ्यानमै थन्काइरहेको परिप्रेक्ष्यमा कविचाहिँ आफ्नो मनलाई युवावस्थामा फर्काई जीवनका अनेकौं सकारात्मक सन्देश र संगमहरुलाई कवितामार्फत बाँड्न तल्लीन रहेकी छन्। समग्रमा यो कविता संग्रहको जीवनका नैरास्यहरूलाई चिर्दै जीवनलाई उपयोगी बनाई सकारात्मक कार्यतर्फ अभिप्रेरित रहन आग्रह गर्ने कविता हो।
छन्दमा समेत सुन्दर कविताहरूको रचना गर्न सक्ने कवि तिलोत्तमाले छन्द, शीर्षककै कवितामार्फत शास्त्रीय छन्दको महत्त्वलाई प्रष्ट पार्दै छन्दको प्रादुर्भाव एवं रमणीयतालाई मिही ढङ्गले प्रष्ट पारेकी छन्। छन्दलाई कतै वेदसँग तुलना गरिएको छ भने छन्दलाई कतै वनजङ्गलमा सुसाउने विभिन्न बोटबिरुवाहरुसँग तुलना गरी सुसाइले वंशीको आवाजलाई ध्वनित गराएको र समीरले समेत छन्दकै माध्यमबाट संसारभर छन्दलाई ध्वनित गराइरहेको कुरा समेत कवितामा उजागर गरिएको छ। छन्दलाई वेदका शुद्ध रिचा, चन्द्र, सूर्य, ब्योम आदिसँग तुलना गर्दै भर्खरै जन्मिएको बालकले समेत रुवाइको कुनै न कुनै कोणमा छन्दलाई उजागर गरिरहेको आभास कविले गरेकी छन्।
सल्लाहकार वनमा गए र सुनियोस् वंशी बजाएसरी
हरपल गुन्जिरहन्छ छन्द गहिरो सुन्दा त बागैभरि
पापै चामर झैँ छ वृक्षकरमा घन्टी त सिम्टै यहाँ
छदै छन्द सुनाउँदै छ वनमा हावासँगै मौसम।।
संग्रहको अन्तिम कविताको रूपमा धोबिनी चरी, लाई राखिएको छ । कविताले चरीका माध्यमबाट एकातिर जातीय विभेदको उन्मुलनको समेत अपेक्षा राखेको देखिन्छ भने अर्कातिर चरीका माध्यमबाट स्वतन्त्रताको उद्घोष समेत गरेको छ। आफ्नो र आफ्ना साना बचेराहरूको जीवन धान्नका लागि एक मुठीको शरीर बोकेर चारो खोज्न हिँड्ने धोबिनी चरी प्रकृति सुन्दर सृष्टि हो भने मानवीय चेतनाको ध्योतकसमेत हो। प्रकृतिलाई सिँगार्न मानवले कति मेहनत गरेको छ त्यो त स्वयं मानवलाई नै थाहा होला। तर प्रकृतिको सृष्टि एउटी सानी धोबिनी चरीले प्रकृतिलाई सिँगार्न गरेको अथक प्रयासलाई कविताले आफ्ना सुन्दर पंक्तिहरूका माध्यमबाट अत्यन्तै रोचक ढंगले प्रस्तुत गरेको छ ।
गाएर सृष्टिको गाना
ब्युझाउँछे जनै जना
वसन्तको कथा भन्छु
सुन्नुहोस् अब सज्जन।।
सारमा बसीबियाँलो कविता संग्रह बसिबियाँलो अर्थात् समय टार्न वा समय व्यतीत गर्नका लागि मात्रै लेखिएको कविता संग्रह होइन। सङ्ग्रहले जीवनका अनेकन् परिस्थिति वा बाध्यतालाई उजागर गरेको छ भने बिम्ब ,प्रतीक, भावार्थ, अलङ्कार योजना, अन्त्यानुप्रासको प्रयोग आदिजस्ता कुराहरू कुनै पनि प्रौढ कविको कविताहरूमा भन्दा कम छ भन्न सक्ने कुनै आधारहरु देखिँदैनन्। न त तिलोत्तमालाई कुनै नयाँ कवि वा सिकारु कविका रूपमा राख्न सक्ने स्थान नै छ। लाग्छ उनी वर्षौंसम्म कालीगण्डकीमा रगटिएर कवि रूपी शालिग्राम भएकी हुन्। लाग्दैन अब उनी आराम नै गर्नेछिन्। डाक्टर भीमप्रसाद खतियोडाले भनेझैं डोरी जति बाटे पनि पस्यौटो एउटै हुने हो। हो कवि अर्थात् आमा तिलोत्तमा घिमिरेका विषयमा जति लेखे पनि कविता सङ्ग्रहको दृष्टिकोणले कम नै हुने गर्दछ। तसर्थ कविता संग्रह हरेक पाठकहरूका लागि ऊर्जा बनोस् भने आमाका लागि यो सफलताको श्रेणीका रुपमा स्थापित होस्। समालोचक कोमलप्रसाद पोख्रेलको विचारमा म पनि सहमत हुन्छु । उहाँले भनेझै ६१ वटा कविताहरू समावेश गरिएको यस काव्य पुष्पमा सौरभीय विविधता मुखरित हुनुका साथै यसमा धर्म,संस्कृति, पर्यावरण, राष्ट्रियता, देशप्रेम जस्ता विविध विषयहरु शब्द पुष्पका रुपमा लहलहाएका छन् । अन्त्यमा आमा कवि तिलोत्तमाको सुस्वास्थ एवं दीर्घायुको कामनाका साथ थप कविता संग्रहको अपेक्षा सहित यो छोटो टिप्पणी यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु।
फुल्नुपर्छ अब यौवन डाक
ढाक सुन्दर सबै मनभाक
फुल्नु बागबीचमा भलिभाँती
चुम्छ सुस्त पुतली मुखमाथि।
सूर्यप्रसाद अधिकारी ,कनकाई १ झापा
