कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रमा विद्यार्थी र युवालाई लक्षित गरी लागु औषधको दुव्र्यसनका बारेमा सेचत गराउने उद्येश्यले अभियान संचालन गरिएको छ ।
पछिल्लो समय कनकाई नगर क्षेत्रमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन .स्थानीय ईलाका प्रहरी कार्यालय सुरुङ्गाको सहयोगमा नवजिवन प्रतिष्ठानले अभियान संचालन गरेको हो । नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुगेर प्रतिष्ठानले लागु औषध सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको कार्यक्रमका संयोजक बाबुप्रसाद लिम्बूले जानकारी दिए ।

खुला सिमानाका कारण झापाका विभिन्न पालिकाहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै कार्यक्रम संयोजक लिम्बूले कनकाई नगर क्षेत्रमा इलाका प्रहरी कार्यलय सुरुङ्गा सहित दोस्रो जिवन प्रतिष्ठान र विश्वास प्रतिष्ठान समेतको समन्वयमा कनकाई नगर क्षेत्रका विभिन्न विद्यालय, टोल, साथै हरेक वडामा सचेतना कार्यक्रमलाई तिब्रता दिएको बताइएको छ ।
अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असर बारे जानकारी गराएर सचेतना जगाउने कार्य भएको कार्यक्रम संयोजक लिम्बूले जानकारी दिए ।
संयोजक लिम्बूले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले प्रयोग गरेको वा ओसारपसार गरेको बारेमा केही जानकारी हुने बित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे । अधिकांश विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागी धेरै छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने बताएका छन् ।