कनकाई खबर / भर्खरै प्रकाशित भएको एसईई परिक्षाको परिणामले झापाको कनकाई नगर क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ ।
कनकाई नगर क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ परिक्षामा सहभागी भएका मध्ये २८ प्रतिशत र निजी तर्फ ८० प्रतिशत विद्यार्थी पास भएका कारण कनकाईको शिक्षामा तरङ्ग आएको हो ।
कनकाई नगर क्षेत्रमा सामुदायिक तर्फ सात वटा विद्यालयलबाट ५५४ विद्यार्थीहरु एसईई परिक्षामा सहभागी भएका मध्ये १५५ विद्यार्थी मात्र पास भएका छन् भने कनकाई –४ स्थित सिंहदेवी माविले एकजना पनि विद्यार्थी पास गर्न नसकेको कनकाई नगरपालिका शिक्षा शाखाले जनाएको छ । सिंहदेवी माविबाट एसईई परिक्षामा ३० जना विद्यार्थी सहभागी भएका थिए । त्यस्तै कनकाई माविबाट २७४ विद्यार्थी परिक्षामा सहभागी भएका मध्ये ११६ जना पास हुन सफल भएको बताइएको छ ।
सामुदायिक विद्यालयमा साधारण तर्फ सबैभन्दा बढी कनकाई माविबाट १३ जना र प्राविधिक धार तर्फ आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयबाट एकजना गरी जम्मा १४ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् । त्यस्तै निजी तर्फ सबैभन्दा बढी प्यारागन एकाडेमीका १२ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन भने निजी तर्फ समग्र कनकाई नगरमा जम्मा ३७ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।
सरकारका तीनवटै तहबाट विशेष प्राथमिकताका साथ शिक्षाका लागि सामुदायिक विद्यालयमा भएको लगानीको परिणाम सोचेजस्तो नआएपछि यतिबेला सर्वत्र चर्चा भइरहेको छ । कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयबाट परिक्षामा सहभागी मध्ये २८ प्रतिशत विद्यार्थी पास भएको बताइएको छ ।
परिक्षामा सहभागी आदर्श विद्या मन्दिर माविबाट साधारण तर्फ ४३ र आधारभुत धार तर्फ ३० सहित सहभागी ७३ जना विद्यार्थी मध्ये आधारभुतका १५ जना र साधारण तर्फ २ जना गरी १७ जना विद्यार्थी पास भएका हुन् । भृकुटी माविबाट परिक्षामा सहभागी ८० विद्यार्थी मध्ये१० जना पास, सरस्वती माविबाट परिक्षामा सहभागी ३६ मध्ये८ जना पास भएका छन् । त्यस्तै चम्पापुर माविबाट ३० जना सहभागी मध्ये २ जना र हिमाली माध्यमिक विद्यालयबाट सहभागी ३१ मध्ये २ जना विद्यार्थी पास भएको विद्यालयले उपलव्ध गराएको विवरण अनुसार कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रोहित पौड्यालले कनकाई खबरलाई जानकारी दिए ।
त्यस्तै कनकाई नगर क्षेत्रका १४ वटा निजी विद्यालयबाट परिक्षामा सहभागी ३७४ विद्यार्थी मध्ये ३०० विद्यार्थी पास हुन सफल भए । एसईईमा सहभागी मध्ये निजी तर्फ ८० प्रतिशत विद्यार्थी पास हुन सफल भएका हुन् । त्यस्तै निजी तर्फ हरिकुल माविबाट सहभागी ४७ मध्ये ४४ जना पास भएका छन् भने ९ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् । पशुपति अंग्रेजी माविबाट सहभागी ५५ विद्यार्थी मध्ये ५१ जना पास भए भने ६ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै झापा मेरीगोल्डबाट सहभागी ३३ विद्यार्थी मध्ये २८ जना विद्यार्थी पास भएका छन् भने ३ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरे । त्यस्तै पाथिभारा एकाडेमी लक्ष्मीपुरबाट सहभागी २६ विद्यार्थी मध्ये २२ जना पास भए भने ३ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।त्यस्तै बेनुबाजा अंग्रेजी विद्यालयबाट १९ जना विद्यार्थी सहभागी मध्ये १२ जना पास भए भने २ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै नवयुग शिक्षा निकेतनबाट सहभागी २४ विद्यार्थी मध्ये १९ जना पास भए भने एकजनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गर्न सफल भए । त्यस्तै अरुणोदय अंग्रेजी माविबाट सहभागी १४ विद्यार्थी मध्ये १२ जना पास भए भने एक जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरे ।
परिक्षामा दिव्यरत्न माविबाट सहभागी २३ विद्यार्थी मध्ये १५ जना पास भएका छन् । त्यस्तै चम्पा फ्लावर्सबाट सहभागी १३ मा पास १० जना, देवकोटा एजुकेशनबाट सहभागी २६ मा १२ जना पास, विद्योदय अंग्रेजी माविबाट सहभागी १२ मध्ये ८ जना पास, माउन्ट अन्नपुर्ण फाउण्डेशनबाट सहभागी २ मा पास २ जना, फक्तालुङ एजुकेशन फाउण्डेशनबाट सहभागी २२ मा १२ जना पास भएको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।
