यसै वर्षदेखि कक्षा ११ शुरु हुने
कनकाई खबर / झापाको कनकाई–३ सुरुङ्गास्थित प्यारागन एकाडेमीले यसै शैक्षिक सत्रदेखि कक्षा ११ शुरु गर्ने भएको छ ।
विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत प्यारागनले व्यवस्थापन समूहमा कक्षा ११ शुरु गर्न लागिएको जानकारी दिएको छ । प्यारागनले क्रमैसँग कक्षा ११ र १२ सम्मको अध्यापन गराउने भएपछि अब नर्सरीदेखी स्नातक तहसम्म एउटै छानामुनी अध्ययन अध्यापन हुने भएको हो । हालसम्म नर्सरीदेखी कक्षा दशसम्म अध्यापन हुँदै आएको प्यारागन एकाडेमीसँगै केहीवर्ष अघिदेखि नै युनिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायमा स्नातक तहको कक्षा संचालन गर्दै आएको छ ।
प्रारम्भिक चरण २०५७ मा भद्रपुरमा शुरु गरिएको र २०६४ मा शिक्षासेवी स्व.लक्ष्मण सुवेदीले सुरुङ्गामा स्थानान्तरण गरेको प्यारागन एकाडेमीले यस क्षेत्रको शैक्षिक क्षेत्रमा ट्रयाक रेकर्डसहितको गौरवशाली विगतको लामो यात्रा तय गरेको विद्यालयकी संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदीले बताइन् । विगत ३३ वर्षदेखि शैक्षिक क्षेत्रको अनुभव प्राप्त सुवेदीले २०३९ साल फागुनदेखि शिवसताक्षीको बालनिकुञ्ज प्राविबाट शिक्षा क्षेत्रमा प्रवेश गरेकी हुन् । क्रमिक रुपले राष्ट्रिय रमणिय मावि दुधे अनि २०४७ देखि कनकाई मावि सुरुङ्गामा कार्यरत सुवेदीले २०७३ मा स्वेच्छीक अवकास लिएर सम्पूर्ण समय प्यारागन एकाडेमीलाई प्रदान गर्दै आएकी छन् । विद्यालयको प्रशासनिक क्षेत्रको जिम्मेवारी भने लामो समय शिक्षा क्षेत्रमा काम गरेका अनुभवी वौद्धिक व्यक्तित्व दीपक भट्टराईले यसै शैक्षिक सत्रबाट सम्हाल्दै आएका छन् ।
विद्यालयले २०६७ देखि नै तत्कालीन एसएलसीमा विद्यालयका विद्यार्थी सहभागी गराउँदै आएको बताइएको छ । त्यसपछिका हरेक नतिजाले विद्यालयको नयाँ कृतिमान कायम हुँदै आएको विद्यालयले दाबी गरेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा सुधारसँगै कक्षा १२ सम्मको अध्यापन हुने भएपछि विद्यालयका संस्थापक प्रिन्सिपल स्व.लक्ष्मण सुवेदीको सपनाले सार्थकता पाउने विश्वास गरिएको छ ।
यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कम्प्युटर विज्ञान र गणितसहित व्यवस्थापन विषय अध्यापन गर्न लागिएको अध्यक्ष सुवेदीले बताइन् । व्यवस्थापन समूहमा अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र र लेखा अनिवार्य विषय रहने छन् भने गणित वा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये कुनै एक र व्यावसायिक अध्ययन अथवा कम्प्युटर विज्ञान मध्ये कुनै एक छनोट गरेर विद्यार्थीले अध्ययन गर्न सक्ने उनले जनाइन् ।
सचेत अभिभावकको आकांक्षा अनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रगामी, भरपर्दो र किफायती संस्था स्थापना गर्ने पवित्र सपना बोकेर शिक्षासेवी स्वर्गीय लक्ष्मण सुवेदीको पहलमा यस विद्यालयको स्थापना भएको हो । झापाको मध्यभाग भएर बहने पवित्र कनकाई नदीको पूर्वी तटमा अवस्थित, सबै प्रकारका हडतालबाट मुक्त र शिक्षाको केन्द्रको रूपमा विकास हुँदै गरेको कनकाई नगरीमा अभिभावकको विश्वास कायम राख्दै प्यारागन एकाडेमी अघि बढिरहेको अध्यक्ष खनालको भनाइ छ ।
अभिभावक र शुभेच्छुकहरूको निरन्तरको व्यापक मागसँगै विद्यालयलाई स्तरोन्नति गर्ने निर्णय गरिएको र स्थानीय सरकार कनकाई नगरपालिकाबाट अनुमति लिइएको विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले जानकारी दिए । प्रिन्सिपल भट्टराईले भने, ‘विभिन्न उतार चढाव पार गर्दै हामीले आफ्नो शैक्षिक उत्कृष्टताका लागि आफ्नो यात्रा जारी राखेका छौं । यो स्थापित संस्थागत विद्यालयको रूपमा परिचित छ । विद्यालयको समग्र विकासमा कर्तव्यनिष्ठ र जिम्मेवार शिक्षकहरू भएमा अन्य विद्यालयहरूसँग सजिलै प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वास गर्दछौं ।’ प्रिन्सिपल भट्टराईले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि ३.६० जीपीए र सोभन्दा माथि प्राप्त गर्नेलाई मासिक शुल्कमा ७५% छुट र ३.२० जीपीए र सोमाथि प्राप्त गर्नेलाई मासिक शुल्कमा १०% छुटको व्यवस्था भएको जानकारी दिए ।
यस विद्यालयको प्रभावकारी व्यवस्थापन, उच्च गुणस्तरीय शिक्षा र समर्पित शिक्षकहरूका कारण यसले विभिन्न विधामा उत्कृष्ट हुने गौरव प्राप्त गरेको इतिहास रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताए । उनले ब्रिटिश काउन्सिलले प्यारागन एकाडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आईएसए) प्रमाणपत्र प्रदान गरेको जानकारी दिए । यो वर्ष एसईईमा ५८ जना विद्यार्थी सहभागी भएका र उत्कृष्ट नतिजा आउने सिटौलाले आशा व्यक्त गरे ।
प्यारागन एकाडेमीमा कनकाई नगरपालिकासहित , झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका लगायतका क्षेत्रबाट विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । यातायात सुविधा, सर्वसुलभ शुल्क, अतिरिक्त कक्षाको व्यवस्था, अतिरिक्त क्रियाकलाप, व्यक्तिगत वृद्धि विकासका निमित्त विभिन्न कार्यक्रम, शैक्षिक भ्रमण, अनलाइन कक्षाको व्यवस्था विद्यालयको विशेषता रहेको विद्यालयका शैक्षिक संयोजक सी.एन. भण्डारीले जानकारी दिए । जीवनको लामो समय शिक्षा क्षेत्रमा बिताएका संयोजक भण्डारीले विद्यालयले दिनानुदिन गुणस्तरीय शिक्षा प्रदान गर्ने लोकप्रिय शैक्षिक संस्थाको रूपमा प्रगति गर्दै गएको र कक्षा ११–१२ मा पनि सोही इतिहासलाई कायम राख्ने प्रतिबद्धता जनाए ।
पत्रकार भेटघाटमा सोही विद्यालयमा बिहानी सत्रमा सञ्चालन भइरहेको युनिक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज खरेल, सहायक क्याम्पस प्रमुख युवराज अधिकारी लगायतले दुईवटा संस्था अलगअलग भए पनि प्राज्ञिक क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने बताएका थिए । पत्रकार भेटघाट कार्यक्रममा शिक्षकहरू गुरुप्रसाद पौडेल, विष्णुकुमार रिजाल लगायतको उपस्थिति रहेको थियो ।
