“असल कर्मको कुनै दिन सुनौला अक्षरले नाम लेखिनेछ”
धर्तीमा सबैको आँखाको नानी बनेर बसेकाहरुलाई भगवानले छिट्टै स्वर्गको बाटोतिर डो¥याउँछन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् कनकाईका दीर्घबहादुर थापा ।
आजभन्दा ४५ वर्ष अघि २०३६ देखी लामो समय सम्म हालको कनकाई—६ स्थित चम्पापुर माविमा मुखियाको जिम्मेवारीमा रहेर शैक्षिक क्षेत्रमा प्रवेश गरेका थापालाई अघिल्लो पुस्ताले अहिले पनि मुखिया सरको नामले मात्र चिन्दछन् । बुबा नरबहादुर र आमा खगमाया थापाका जेठा छोराको रुपमा वि.संं.२०१५ को चैत्र २७ गते कनकाई ६ स्थित क्याम्पामा जन्मिएका थापाले सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाउँदै आएका थिए । जीवनको २१औं बसन्तदेखी नै शैक्षिक क्षेत्रमा मुखिया जस्तो महत्वपूर्ण जिम्मेवारी बहन गर्दै अघि बढेका थापाले वि.सं.२०४१ बाट प्राथमिक तहको शिक्षकको रुपमा हालको चम्पापुर माविमा स्थायी दरबन्दीमा रहेर काम गर्दै आएको बताइएको छ । लामो समयसम्म सोही विद्यालयमा शिक्षण पेशामा आवद्ध भएका थापालाई हालको कनकाई –५स्थित भगवती आधारभुत विद्यालयमा समेत केही समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको अनुभव थियो ।
शिक्षण पेशासँगै जनचेतनामुलक कलाकारिता तर्फ उत्तिक्कै पोख्त थापाले विभिन्न साँस्कृतिक कार्यक्रम, हाँस्यव्यङ्ग्य, नाटक जस्ता विधाबाट समेत आफ्नो छुट्टै पहिचान बनाएका थिए ।तत्कालिन समयमा स्व.थापाले जनसाँस्कृतिक मञ्चलाई आफ्नो प्लेटफर्मका रुपमा लिएर अघि बढेको स्थानीयबासी बताउँछन् । हँसिलो अनि ठट्यौलो स्वभावका थापा स्थानीय स्तरमा सधै सत्य अनि न्यायको पक्षमा चट्टान जस्तै भएर उभिने गरेको थापाका समकालिन स्थानीय शिक्षक तुलाराम बस्नेत बताउँछन् ।
वि.सं.२०३६ देखी नै कम्युनिष्ट आन्दोलनमा लागेका थापा तत्कालिन भुमिगत समयमा समेत पार्टीमा क्रियाशिल थिए । नेकपा माले हँुदै पार्टी एकीकरणपछि एमाले अनि बिचमा केही समय नेकपा माओवादीको समेत स्थानीय स्तरको नेता बनेका थापा गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्षका रुपमा निर्वाचित भएका थिए ।
वडाको जनप्रतिनिधिका रुपमा दुई वर्ष अघि मात्र निर्वाचित भएर आएको थापाको नेतृत्व वडाभित्रै भएको स्रोत साधनको परिचालन गर्ने परिकल्पनाका साथ दिगो आर्थिक व्यवस्थापनमा जुटेको थियो । वडास्थित ऐतिहासिक स्थलहरु तालखाडी, धरधरे सिमसार क्षेत्र, लुकुनी खाडी लगायतका ऐतिहासिक स्थलहरुको संरक्षण साथै सम्बद्र्धनमा सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण हुनु पर्नेमा जोड दिँदै आएका थापाले ऐतिहासिक स्थलहरुको संरक्षण साथै विकास हुन सकेमा वडाको बलियो आम्दानीको स्रोत बन्न सक्ने सपना देख्दै आएका थिए । स्थानीय स्तरका धार्मिक तथा शैक्षिक संघसंस्थाहरु चम्पापुर मावि, गायत्री मन्दिर धार्मिक विकास संस्था, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, चम्पापुर बजार व्यवस्थापन समिति लगायतका क्षेत्रमा नेतृत्व तहमा रहेर स्व. थापाले सफलता हासिल गरेका थिए ।
क्रमिक रुपले आफ्नो जिम्मेवारी सहितको कार्य क्षेत्र विस्तार हुँदै घर परिवार, इष्टमित्र, समाजसेवाकालागि समेत हरेक दृष्टिकोणबाट अब्बल व्यक्तित्वका रुपमा स्थापित उनै मुखिया सर छिट्टै भगवानको प्यारो बन्न पुगेपछि यतिबेला कनकाईबासी शोकाकुल बनेका छन् ।
संसारमा हरेक मानिसको जन्मपछि मृत्यु प्राकृतिक नियम हो । जन्मपछि मृत्यु शाश्वत सत्य हो, जुन हामीले नचाहेर पनि स्वीकार्नै पर्छ । यो संसारमा अमर कोही छैन । संसार परिवर्तनशील छ । नचाहेर पनि प्रकृतिको अगाडि हामीले घुँडा टेक्नै पर्छ । कर्मको आधारमा मानिसको नाम अमर रहन्छ । बाचुञ्जेल गरेका राम्रा कर्मले मानिसलाई मृत्यु पश्चात पनि जिवन्त राख्ने गर्दछ ।
कनकाई वडा नं.६को वडाअध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थापाको वि.सं. २०८१असार २गते निधन भएको हो ।थापाको निधनले अहिले कनकाईको वडा नं.६ मात्र होइन, नगर क्षेत्रका सम्पूर्ण नगरवासी शोकाकुल बनेका छन् । थापाको सफल नेतृत्वमा वडामा अत्यन्तै महत्वपूर्ण कामहरु भएको स्थानीयबासी बताउँछन् । ती कार्यले निरन्तरता नपाउँने पो हुन् कि भन्दै कनकाई ६ का वडाबासी यतिबेला थप पिडामा परेको बताइएको छ ।
स्व.थापाको नेतृत्वमा वडामा जेष्ठ माता सम्मान सहित जेष्ठ नागरिक देश दर्शन कार्यक्रम, तीज मिलन कार्यक्रम लगायत अन्य केही महत्वपूर्ण विषयलाई वार्षिक कार्यक्रमका रुपमा राखिएको थियो । त्यस्तै वडावासीको मृत्यु संस्कारमा निशुल्क दाउरा वितरण गर्ने साथै दशगात्रा कर्ममा जाँदा रु.१ हजार बराबरको सामाग्री लिएर जाने साथै मृत्यु दर्तापछि रु.४ हजार सहयोग रकम हस्तान्तरण हुँदै आएको बताइएको छ । त्यस्तै जन्मदर्ता उपहार कार्यक्रम, युवा लक्षित कार्यक्रम, लक्षित महिला सिपमुलक तालिम, सन्थाल जाती उत्थान कार्यक्रम, सेवाग्राहीका लागि सहायता कक्ष स्थापना जस्ता जनमुखी कार्यक्रम संचालनमा रहेको वडासमितिले जनाएको छ । कृषिका क्षेत्रमा बोरीङ, स्प्रे ट्याङ्की७५ प्रतिशत अनुदानमा वडावासीलाई वितरण हुँदै आएको छ । त्यस्तै वडावासी कृषकलाई प्रोत्साहन स्वरुप गाईको कृतिम गर्भाधारण निशुल्क रुपमा गराँउने व्यवस्था गरिएको छ ।
यसरी समाज रुपान्तरणका लागि एक स्वयंसेवक जस्तै बनेर लामो समयदेखी सक्रिय थापाको निधनबाट सबैले एउटा अति मिलनसार, सहयोगी, कर्मठ, शिक्षासेवी, सामाजिक, धार्मिक एवं राजनीतिक व्यक्तित्व साथै एक जुझारु जनप्रतिनिधि गुमाएको स्थानीय धरणी न्यौपाने बताउँछन् ।
सबैका प्यारा स्व.थापाले रिस,डाह कहिल्यै जानेनन् । गाउँघरमा हरेकका समस्या समाधानका लागि अग्र पंक्तिमा रहेर काम गर्ने हँसिलो मुद्राका थापा सधैँ सबैलाई सहयोग गर्न रुचाउथे ।गाउँघर समाजमा जुनसुकै उमेरका भएपनि आफ्ना साथीसँगीकै रुपमा लिएर साथीभाइहरुसँग हँस्यौली, ठट्यौली गर्ने स्वभाव भएका स्व.थापाको अभाव महशुस हुन थालेको वडाबासी समेत रहेका न्यौपाने बताउँछन् ।
यो अपूरणीय क्षतिले समाजलाई कालान्तरसम्म बिझाइरहने छ । स्व.थापालाई गुमाउनु परेकोमा कनकाई नगरपालिका परिवारसहित वडाबासी सबै अत्यन्तै मर्माहत बनेका छन् । स्व.थापाबाट भएका असल कर्मको मूल्यांकन पक्कै पनि हुनेछ र कुनै दिन कहीँ न कहीँ सुनौला अक्षरले नाम लेखिनेछ । सबैका प्यारा, अलबिदा मुखीया सर… ।
