म्याराथन प्रतियोगिताको उपाधि सन्देश मगरलाई
कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा प्रथम जामुनखाडी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

पतञ्जलि योग कनकाई नगर समिति अन्तर्गत रहेको जामुनखाडी योग साधना केन्द्र कनकाई वडा नं.२ ले आयोजना गरेको प्रतियोगितामा ५.३ किलो मिटरको दुरी पार गर्दै स्थानीय सन्देश मगरले उपाधी हात पारेका थिए । त्यस्तै दोस्रो स्थानमा सलिन भुजेल र तेस्रो स्थानमा डिना हेमरमले उपाधी हात पार्न सफल भएको आयोजक समितिका अध्यक्ष शिवकुमार गिरीले जानकारी दिए ।
विजेता तीनैजनाले नगद पुरस्कार क्रमशः ५ हजार, ३ हजार र २ हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे ।कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, युवा नेपाल कोशी प्रदेशका संयोजक बाबुराम बस्नेत, पतञ्जलि योग जिल्ला समिति झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, महिला पतञ्जलि योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौला, झापाका संगठन मन्त्री रुद्र ओली, जिल्ला सदस्य एवं पतञ्जलि योग कनकाई नगर समितिका अध्यक्ष टिकाप्रसाद कट्टेल लगायतले विजेतालाई पुरस्कार साथै सहभागी सबैलाई प्रमाण पत्र वितरण गरेका थिए ।म्याराथन प्रतियोगिता सुरु हुनु अघि योग समिति झापाका अध्यक्ष घिमिरेले योगअभ्यासको कक्षा संचालन गरेका थिए भने समितिका संगठन मन्त्री ओलीले स्वस्थ खानपान र आहार विहारका बारेमा जानकारी गराएका थिए ।
आयोजक संस्था जामुनखाडी योग साधना केन्द्रका अध्यक्ष शिवकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ११ वटा सहयोगी संस्थाहरुले समन्वय गरेका थिए । यसरी सहयोग गर्ने संस्थाहरुमा कनकाई वडा नं.—२ को कार्यालय, जामुनबारी सामुदायिक वन उपभोक्ता समूह, पतञ्जलि योग कनकाई नगर समिति, चाँगे सरोकार समाज विश्व, जामुनखाडी कृषि सहकारी संस्था लि., डाँडागाउँ टोल विकास संस्था लि., जामुनबारी टोल विकास संस्था, म्याक्स टाईगर एग्रो प्रा.लि., गोर्खा ब्रुअरी प्रा.लि.काठमाण्डौ, झापाली बिल्डर्स, डि.डि.खाजा घर कनकाई —२ रहेको बताइएको छ ।
कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी सहयोगी संस्थाकी सदस्य नरादेवी मगरले सहभागीहरुलाई शाव्दीक स्वागत गरेको औपचारिक कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख शिवाकोटी, पतञ्जलि योग समिति झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, योग समिति झापाका संगठन मन्त्री रुद्र ओली, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक योगप्रेमी शम्भु ढकाल सुस्केराले गरेका थिए ।
