कनकाई खबर \ नेकपा एमाले कनकाई नगरको नयाँ नेतृत्व चयनकालागी आज बुधबार दिउँसो २ बजेदेखी साँझ ५ बजे सम्म निर्वाचन हुने भएको छ ।

कार्यसमितिको प्रमुख पद अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव(दुई) पदकालागी निर्वाचन हुन लागेको हो । अध्यक्ष पदकालागी गोकर्ण ओझा, छविलाल थपलिया र तुलाराम बस्नेतले उम्मेद्वारी मनोनयन गरेका छन् । त्यस्तै उपाध्यक्ष पदकालागी इन्द्र पुलामी मगर, ऋषिकेश खतिवडा, घनश्याम पौडेल, देवीप्रसाद उप्रेती र प्रेमवहादुर कटुवालले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
सचिव पदकालागी खिनमाया आचार्य खतिवडा, प्रकाश शिवाकोटी, मिनाल तिम्सिना, विश्वविजय खरेलले उम्मेद्वारी मनोनयन गरेका छन् ।

त्यस्तै उपसचिवमा पुरुष तर्फ ख्यामप्रसाद ओली, नविनकुमार राई र शुक्रराज भण्डारी रहेका छन् भने महिला तर्फ विन्दा थापा र राधिका ओली कडरिया उम्मेद्वारका रुपमा रहेको बताइएको छ ।


स्थानीय कनकाई उद्योग वाणिज्य संघको सभाहलमा हिजो मंगलबार सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन समारोहपछि सुरु भएको बन्द सत्रपछिको माहोल निर्वाचन तर्फ धकेलिएपछि आज बुधबार २ बजेपछिको समय निर्वाचनकालागी तय भएको हो । अधिवेशनकालागी कनकाई नगरका नौवटै वडाबाट ७९२ प्रतिनिधि चयन भएको जनाइएको छ ।
निर्वाचनकालागी सहजीकरण गर्न अधिवक्ता तारादेवी बाराकोटी संयोजक, जिल्ला कमिटी सदस्यहरू रोशन सुवेदी र दीपक चापागाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले अन्य केही सहयोगी सदस्य साथमा लिएर आवश्यक तयारी अघि बढाएको जनाइएको छ ।
हिजै मंगलबार भएको उम्मेद्वारी मनोनयनमा सदस्य पदकालागी ५६ जनाको मात्र उम्मेद्वारी परेका कारण सदस्य पदकालागी उम्मेद्वार बनेका सबै सदस्य सर्वसम्मत भएको जनाइएको छ । त्यस्तै ५ सदस्यीय लेखा समितिकालागी समेत आवश्यक संख्यामा मात्र उम्मेद्वारी परेका कारण लेखा समिति समेत सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समिति संयोजक तारा बाराकोटीले जनाएकी छन् । सर्वसम्मत रुपमा चयन भएको लेखा समितिको अध्यक्षमा धर्मेन्द्र सुवेदी, उपाध्यक्षमा नवलकिशोर दत्त, सचिवमा बलराम राई र सदस्यद्वयमा कृष्णमाया भुजेल र निर्मला खड्का रहेका छन् ।
