कनकाई खबर \ निरौलाबन्धु सेवा समाज कनकाई शाखाले उभौली गोठपुजाको अवसर पारेर अग्रजहरुलाई सम्मान सहित अक्षयकोष स्थापना गरेको छ ।

कनकाईको वडा नं.—६, चम्पापुर स्थित श्याम \ सुजता निरौलाको निजी निवासमा भएको वार्षिक साधारण सभा सहितको गोठपुजाका अवसरमा निरौला बन्धु सेवा समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा निरौला बन्धु सेवा समाज केन्द्रिय समितिका पुर्व अध्यक्ष शिक्षासेवी धर्मानन्द निरौला, पुर्व महासचिव ऋषि निरौला, पुर्व सचिव दुर्गाप्रसाद निरौला सहित जेष्ठ माताहरु कनकाई— ३ निवासी बुद्धमाया निरौला र झापागाउँपालिका—६, निवासी ईन्द्रा निरौला रहेका छन् ।
सम्मानित सबै अग्रजहरुलाई रुद्राक्षको माला सहित छाता ओढाएर केन्द्रिय सदस्य गुरुप्रसाद निरौला, जिल्ला कोषाध्यक्ष सुजता निरौला, शाखा अध्यक्ष पं.गोविन्द निरौला, सल्लाहकार संयोजक रामप्रसाद निरौला लगायतले विशेष सम्मान गरेको शाखाका उपाध्यक्ष हरिबहादुर निरौलाले जानकारी दिए ।शाखाले हरेक वर्ष जेष्ठ मातापिता सहित अग्रजहरुलाई सम्मान गर्दै आएको छ ।
यसै अवसरमा निरौला बन्धु सेवा समाज कनकाई शाखाले एक लाख रुपैंयाँको अक्षयकोष स्थापनाको सुरुवात गर्ने घोषणा गरेको छ । प्रत्येक वर्ष अक्षयकोष वृद्धि गर्दै अघि बढ्ने योजना रहेको शाखामा केहीवर्ष भित्रै ५ लाख सम्मको अक्षयकोष बनाउँने शाखा अध्यक्ष गोविन्द निरौलाले बताए ।
निरौला बन्धु कनकाई शाखा अन्तर्गतको क्षेत्रमा बसोबास गर्ने बन्धुभित्र आउँन सक्ने संकटको अवस्थालाई मध्यनजर गर्दै विपन्न अवस्थाका निरौला बन्धु परिवारलाई विशेष अवस्थामा थोरै भएपनि अक्षयकोषको व्याजबाट सहयोग पुर्याउँने उद्येश्यका साथ शाखाको तर्फबाट अक्षयकोष स्थापनाको सुरुवात भएको शाखाका सल्लाहकार संयोजक रामप्रसाद निरौलाले जानकारी दिए ।

अक्षयकोषलाई व्यवस्थित रुपमा संचालनकालागी यसको छुट्टै विधान निर्माण गरी कोष व्यवस्थापन उपसमिति मार्फत संचालन गरिने जनाइएको छ । पवित्र उद्येश्यका साथ सुरुवात गरिएको अक्षयकोषमा सहयोग गरेर पुण्य आर्जन गर्नकालागी सबै सहयोगी मनहरुमा शाखाले अनुरोध गरेको छ । अक्षयकोषमा निरौला बन्धुसहित अन्य थर गोत्रका समेत बन्धुबान्धवहरुले सहयोग गर्न पाउँने व्यवस्था गरिएको छ । केही अग्रज निरौला बन्धुहरु साथै स्वदेश तथा विदेशमा रहेका बन्धुहरु सहित अन्य सहयोगी, शुभचिन्तकहरुबाट समेत अक्षयकोषमा सहयोग गर्ने आश्वासन प्राप्त भएको बताइएको छ । सहयोगी मनहरु सबैको शाखामा अभिलेख राखिने साथै निरौला बन्धु सेवा समाजको विशेष समारोहमा सम्मान गरिने जनाइएको छ ।
शाखा अध्यक्ष पं.गोविन्द निरौलाको अध्यक्षता एवं केन्द्रिय समितिका पुर्व अध्यक्ष धर्मानन्द निरौलाको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रममा बर्तमान केन्द्रिय सदस्य गुरुप्रसाद निरौला, सम्मानित व्यक्तित्व प्रमुख अतिथीसहित दुर्गाप्रसाद निरौला र ऋषि निरौला लगायतले शाखाले गर्दै आएको गतिविधिप्रति प्रशंसा गर्दै भर्खरै सुरुवात भएको अक्षयकोषमा समेत सहयोग गर्ने जनाएका छन् ।
कार्यक्रममा निरौला बन्धु सेवा समाज कनकाई शाखा सहित झापा गाउँपालिकाबाट समेत बन्धुहरुको सहभागीता रहेको बताइएको छ । सोही अवसरमा शाखाका सचिव भेषराज निरौलाले शाखा अन्तर्गतको आर्थिक गतिविधिका बारेमा प्रष्ट पार्दै आयव्यय विवरण प्रस्तुत गरेका थिए । उभौली गोठपुजा व्यवस्थापन विशेष संयोजक सुजता निरौलाले सहभागी सबैमा शाव्दीक स्वागत गरेको कार्यक्रमको सहजीकरण शाखाका सल्लाहकार संयोजक रामप्रसाद निरौलाले गरेका थिए ।
