कनकाई खबर \ पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी शक्तिका कारण नेपालको राष्ट्रिय राजनीतिमा स्थीरता आउन नसकेको बताए ।
झापाको सुरुङ्गामा जिल्ला बाल सञ्जालले आयोजना गरेको बासँग बालबालिका कार्यक्रममा उठेका सबालको जवाफ दिँदै पुर्व प्रधानमन्त्री ओलीले राजनीतिमा स्थिरता नहुनु देशकालागी ठूलो घाटा भएको दाबी गरे ।
कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग सहित झापाका सम्पूर्ण पालिकाहरुको सहयोगमा सम्पन्न भएको बासँग बालबालिका कार्यक्रममा झापाका सबै पालिकाबाट विद्यार्थीहरुको सहभागीता रहेको जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए ।कार्यक्रममा कलाकार राजा राजेन्द्र पोखरेल सहित विभिन्न कलाकारहरुले आ आफ्नो साँस्कृतिक प्रस्तुतीहरु समेत दिएका थिए ।
कार्यक्रममा सहभागी बालवालिकाहरुले देशमा विकास हुन नसक्नु, स्वदेशमा आत्मनिर्भर हुन सक्ने वातावरण नहुनु, दक्ष युवा जनशक्ति विदेश पलायन हुनु साथै राजनीतिमा समेत स्थिरता नभएपछि बालबालिकाको भविष्य अन्यौलमा रहेको भन्दै बासँग बालबालिकाहरुले दुखेसो पोखेका थिए । ६ सय बढी वालवालिकाहरुको सहभागीता रहेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्बू, झापाका विभिन्न पालिकाका प्रमुख साथैं उपप्रमुख लगायत अन्य जनप्रतिनिधिहरु सहित बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।
जिल्ला वाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्रको सभापतित्व रहेको कार्यक्रममा सहभागीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शाव्दीक स्वागत गरेका थिए ।
