कनकाई खबर \ झापाको सुरुङ्गामा क्रियाशिल महिलाहरुको संस्था स्वास्थ्य गृहलक्ष्मी आमा समूहले अक्षय तृतीयाको अवसर पारेर सुक्रबार सुरुङगा बजार क्षेत्रमा सर्वतपानी र सातु वितरण गरेको छ ।
मूहकी अध्यक्ष निर्मला उप्रेतीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णमाया भुजेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहभागी सबैलाई समूहकी उपाध्यक्ष मन्जु गौतमले शाव्दीक स्वागत गरेकी थिइन् । ग्रामीण क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धीत सचेतना जगाउँने उद्येश्यका साथ आजभन्दा दुई वर्ष अघि स्थापना भएको यस संस्थामा हाल सम्म ५१ जना बढी सदस्यहरु रहेको समूहकी सचिव मीना गुरागाईँले बताएकी छन् । कार्यक्रममा प्रमुख अतिथी कार्यपालिका सदस्य कृष्णमाया भुजेल, कनकाई वडा नं. ३ का वडा सदस्य सुस्मा परियार र अनिल गोयल, पत्रकार राम निरौला लगायतले पवित्र उद्येश्यका साथ संचालन गरिएको कार्यक्रमको प्रशंसा गरे ।

अक्षय तृतीयाकै अवसर पारेर मारवाडी युवा मञ्च सुरुङ्गाले समेत सुरुङ्गा चोकमा सर्वतपानी साथै फलफूल वितरण गरेको छ । कार्यक्रम संयोजक सचिन वंशल सहित मुकेश गोयल, सञ्जय अग्रवाल, सुनील गोयल, भुमी गोयल, प्रिती गर्ग, अनिता अग्रवाल, हेमा वंशल सहितको सक्रियतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसर पारेर हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो—अक्षय तृतीया । यो बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ ।
अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो । यो दिनलाई कुनै पनि शुभ कार्यको शुभ सिद्ध मुहूर्त मानिन्छ ।

शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीया तिथिमै परशुरामका साथै नरनारायण तथा हयग्रीव आदि विष्णुको अवतार भएका थिए । त्यसैले यो दिन परशुराम एवं नरनारायण जयन्ती मनाइन्छ । त्रेतायुगाको सुरुवात पनि यसै तिथिमा भएको मानिन्छ । यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामंगलकारी हुने शास्त्रीय वचन छ ।
अक्षय तृतीयाका दिन गरिएको दान तथा त्यसको फल कहिल्यै नाश हुँदैन । यो दिन गर्मी मौसमका लागि उपयोगी जौ, गहुँ, चना, सातु, दहीचामल, उखुको रस, दूधका परिकार, सोन, जलभरिएको घडा, पंखा, छाताजुत्ता, वस्त्र आदि कुराको दान गर्नु मंगलकारी हुन्छ । यस दिन पितृको श्राद्ध तथा ब्राह्मण भोजन गराउँदा पनि अनन्त फल मिल्ने जनविश्वास पाइन्छ ।
ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मंगल कार्य गर्नु निकै शुभ मानिन्छ । यो दिन विवाह गर्दा कुनै पनि प्रकारको दोषले बाधा गर्दैन भनिएको छ ।
