अभियानमा सहयोग गर्ने नगरबासीप्रति नगर प्रमुख पोखरेलको धन्यवाद ज्ञापन
कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान सफल भएको छ ।
“हात्तीपाइले रोग विरुद्धको औषधि खाऔं, यो वर्षलाई अब अन्तिम बनाऔं” भन्ने नाराका साथ १३ औं पटक संचालन गरेको कार्यक्रमबाट ८५.६७ प्रतिशत नगरबासीले औषधि सेवन गरेपछि कनकाई नगरपालिकाको यस पटकको अभियान सफल भएको हो । यस पटक ५३ हजार ९९२ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको कनकाईमा अभियानको अन्तिम दिन बैशाख २५ गते सम्ममा ४६ हजार २२७ जनाले औषधि सेवन गरेको बताइएको छ ।

अभियान सफल बनाउन कार्ड प्रणाली लागू गरेको कनकाई नगरपालिकाले औषधि सेवन नगर्ने नगरबासीलाई नगरले उपलब्ध गराउने सेवा सुविधाबाट समेत बञ्चित गर्ने सुचना सार्वजनिक गरेको थियो । अभियानको पहिलो दिन बैशाख १६ गते कनकाई— ३, स्थित सुरुङ्गा बजारमा एक विशेष कार्यक्रमका बिच नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी सहितका जनप्रतिनिधिहरुले औषधि सेवन गरी अभियानको शुभारम्भ गरिएको हो ।
अभियानको शुभारम्भ विशेष समारोहमा सम्बोधन गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइले रोग विरुद्धको औषधि अन्य समयमा बिरामी पर्दा पनि खाने गरेका कारण कुनै पनि भ्रममा नपरी औषधि सेवन गर्न सबै नगरबासीलाई अनुरोध गरेका थिए । हरेक क्षेत्रमा अब्बल कनकाई नगरपालिकालाई हात्तीपाइले रोग विरुद्धको अभियानमा समेत शतप्रतिशत औषधि सेवन गरेर अभियान सफल बनाउँन नगरप्रमुख पोखरेलले सार्वजनिक रुपमा अपिल गरेका थिए ।
अघिल्लो वर्ष १२ औ पटकको अभियानमा निक्कै कम ४८ प्रतिशत नगरबासीले मात्र कनकाईमा यो औषधि सेवन गरेसँगै आलोचना सहनु परेको भन्दै नगर प्रमुख पोखरेलले यस पटक कार्ड नै जारी गर्नुपर्ने बाध्यताका बिच कार्यक्रम सफल बनाएको जानकारी दिए । हात्तीपाइले रोग विरुद्धको औषधि खाएर यस अभियानलाई सहयोग गर्ने नगरवासी सबै— सबैप्रति आभार प्रकट गर्दै नगर प्रमुख पोखरेलले आगामी दिनमा समेत यस किसिमको सहकार्यलाई निरन्तरता दिन चाहेको बताए ।
अभियानमा कनकाई नगर क्षेत्रका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितका कर्मचारीहरुको सक्रियता रहेको कनकाईका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले जानकारी दिए । अभियानमा बढी भन्दा बढी नगरबासीलाई सहभागी गराउँन अझै पनि कनकाई नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रम मार्फत सक्रिय रहेको स्वास्थ्य शाखा प्रमुख दंगालले जानकारी दिए । कनकाईमा हालसम्म एकजना पनि हात्तीपाईलेका बिरामी फेला नपरेको स्वास्थ्य शाखा प्रमुख दंगाल बताउँछन् । घरदैलो कार्यक्रमपछि पनि नगर क्षेत्रमा रहेका स्वास्थ्य कार्यालयहरुबाट औषधि सेवन गर्न सकिने बताइएको छ ।
औषधि खुवाउने अभियानको पहिलो दिन बैशाख १६ गते समग्र नगर क्षेत्रभरीमा २,८९७ जना पुरुष र २,७१६ महिला सहित ५,६१३ जनाले हात्तीपाईलेको औषधि सेवन गरेको कनकाई नगरपलिकाका स्वास्थ्य निर्देशक नारायण अधिकारीले जानकारी दिए । अभियानको अन्तिम दिन बैशाख २५ गते ७१० महिला र ८२२ पुरुष गरि १,५३२ जनाले यो औषधि सेवन गरेको स्वास्थ्य निर्देशक अधिकारीले बताए । स्वास्थ्य शाखाको २५ गते सम्मको प्रतिवेदन अनुसार वडा नं.१ मा ३,४८६ जनाले औषधि सेवन गरेका छन् भने वडा नं.२ मा ४,७१९, वडा नं.३ मा ९,३९१, वडा नं.४ मा ६,९००, वडा नं.५ मा ६,७९०, वडा नं.६ मा २,५०६, वडा नं.७ मा ४,२६९, वडा नं.८ मा ४,४९३ र वडा नं.९ मा ३,४७७ जनाले हात्तीपाइलेको रोग विरुद्धको औषधि सेवन गरेको बताइएको छ ।
अभियानलाई सफल बनाउन नगरस्तरीय स्वास्थ्य शाखाले प्रारम्भिक चरणबाटै नगरका विभिन्न वडामा हात्तीपाइले रोग, यसबाट बच्ने उपाय तथा रोगका लक्षण लगायतका विविध विषयमा अन्तरक्रियालाई तीब्र पारेको थियो । नगरभित्रका शैक्षिक संस्थाका प्रधानाध्यापक, त्यहाँ कार्यरत शिक्षकहरु साथै नगरका सबै वडास्तरका जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँग समेत शाखाले अन्तरक्रिया र छलफललाई व्यापक बनाएर अभियान शुभारम्भ गरिएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी टिका दवाडीले जानकारी दिएकी छन् ।
हात्तीपाइले रोगको निवारणमा चुनौती र जोखिम भनेकै हात्तीपाइले रोग विरुद्धको औषधि प्रत्येक मानिसले सेवन नगर्नु र यसका विषयमा हुने भ्रामक प्रचार नै भएको स्वास्थ्य शाखाकी सिनियर अनमी दवाडी बताउँछिन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको भएपनि सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै यो औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढ्दै आएको थियो । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई बेवास्ता गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
