कनकाई खबर \ झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले हरेक शैक्षिक संस्थाहरुमा शिक्षासँगै असल संस्कारको आवश्यक रहेको बताएकी छन् ।
कनकाई –३सुरुङ्गास्थित ग्लोबल एडुकेयर एकाडेमीको २२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले विद्यालयका बालबालिकाकोलागी शिक्षासँगै संस्कारको समेत आवश्यक पर्ने भएकाले त्यस तर्फ हरेक शैक्षिक संस्थाहरुले ध्यान दिनु पर्नेमा जोड दिएकी हुन् ।

उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी नगर उपप्रमुख शिवाकोटीले विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक लगायत चौतर्फी विकासकालागि अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताइन् । जसका कारण विद्यार्थीहरूले अध्ययनसँगै विभिन्न प्रतियोगिताहरूबाट सफलता हासिल गरेर विद्यालय साथै नगरपालिकाको समेत देशविदेशमा पहिचान दिन सक्ने कुरालाई मध्यनजर गर्दै पछिल्लो समय ग्लोबल एडुकेयरले शैक्षिक क्षेत्रमा गरेको प्रगतिको नगर उपप्रमुख शिवाकोटीले खुलेर प्रशंसा गरेकी छन्।
प्रविधिको विकाससँगै अघि बढ्नु पर्नेमा जोड दिँदै उपप्रमुख शिवाकोटीले विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध सुमधुर भएकै कारण हरेक शैक्षिक संस्थाले सफलता हात पार्न सक्ने बताएकी छन् । कार्यक्रमका अवसरमा उपप्रमुख शिवाकोटीले लामो समय सम्म शिक्षा क्षेत्रमा आँफूले काम गरेको अनुभव समेत सुनाएकी थिइन् । आज भन्दा २२ वर्ष अघि स्थानीय शिक्षासेवी कृष्ण लामाले आफ्नो परिवारका वालवालिकालाई दिएको असल संस्कारकै उपलव्धी स्वरुप शिक्षाको ज्योती बालेर आज ग्लोबल एकाडेमीले सफलता हात पार्न सकेको नगर उपप्रमुख शिवाकोटीको ठहर छ ।
विद्यालयका प्रवन्ध निर्देशक विशाल लामा तामाङ्गको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव विशेष कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख शिवाकोटीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेकी हुन. । विद्यालयका प्रिन्सिपल विमान लामाले अभिभावकको सकारात्मक सल्लाह, सुझावको कारण विद्यालय अहिलेको अवस्थामा आएको बताउँदै आगामी दिनमा पनि यसरी नै अभिभावकहरूको सल्लाह, सुझाव र सहयोगको विद्यालयले अपेक्षा राखेको बताए । वार्षिकोत्सवका अवसरमा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रिन्सिपल लामाले विद्यालय स्थापनाको विगतलाई स्मरण गरेका थिए ।
प्रिन्सिपल लामाले भाडाको घरमा ७५जना वालवालिकाको साथमा १०जना शिक्षक तथा कर्मचारीबाट संचालनमा आएको विद्यालयमा हाल आफ्नै भवनमा ५३६ विद्यार्थी र ३७ जना शिक्षक कर्मचारी कार्यरत रहेको बताए । अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापका गतिविधिहरुलाई विशेष प्राथमिकताका साथ अघि बढाउँदै आएको यस विद्यालयले खेलका विभिन्न गतिविधिहरुकालागी ग्लोबल स्पोर्टस् जोन संचालनमा ल्याएको प्रिन्सिपल लामा बताउँछन् ।
कनकाई नगर क्षेत्रमा मात्र नभई जिल्ला स्तरीय विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गतका कार्यक्रमहरुमा समेत सहभागीता जनाउँदै सफलता हात पारेको ग्लोबल एकाडेमीले ब्रिटिस काउन्सीलबाट प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको अवार्ड समेत प्राप्त गर्न सफल भएको प्रिन्सिपल लामाले कार्यक्रममा जानकारी दिए । यो सबै सफलताको श्रेय स्थानीय सचेत अभिभावकहरु, निरन्तर सहकार्य गर्दै आउँने शिक्षक तथा कर्मचारीहरु साथै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु नै भएको बताउँदै प्रिन्सिपल लामाले सहयोगी सबैप्रति आभार प्रकट गरे ।
विद्यालयका लेखा शाखा प्रमुख रामकुमार भुजेलले उपस्थित सबैलाई शाव्दीक स्वागत गरेको कार्यक्रममा कनकाई वडा नं.–३ का वडाअध्यक्ष युवराज चम्लागार्इँ, प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुव्वा, अभिभावक शिवकुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।
औपचारिक कार्यक्रमको संचालन विद्यालयका शिक्षक घनेन्द्र खड्काले गरेका थिए भने साँस्कृतिक विशेष कार्यक्रमको संचालन कक्षा २ र कक्षा ४ मा अध्ययनरत विद्यार्थी क्रमशः दिपशिखा बास्तोला र समिक्षा कट्टेलले गरेका थिए ।

