कनकाई खबर \ झापाको कनकाईमा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि निशुल्क छनौट शिविर सम्पन्न भएको छ ।
सुरुङ्गास्थित कनकाई नगर अस्पतालमा सम्पन्न शिविरमा प्रजनन् रुग्णता स्वास्थ्य सेवा अन्तर्गत पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा आङ खस्ने समस्याको छनौट(स्क्रिनिङ) उपचार तथा परामर्श साथै रेफर समेत भएको बताइएको छ । बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटलको प्राविधिक सहयोग रहेको शिविर कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले संचालन गरेको हो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न शिविरमा बिएण्डसी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.सुजता खड्काको नेतृत्वमा आएको स्वास्थ्यकर्मीहरुको टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण गरेको बताइएको छ । कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कार्यपालिका सदस्य कृष्णमाया भुजेल,वडा सदस्य अनिल गोयल सहित जनप्रतिनिधिहरुको उपस्थिती रहेको शिविरमा कनकाई नगरपालिका अन्तर्गतका २० जना स्वास्थ्यकर्मी साथै २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियता रहेको बताइएको छ ।
शिविरमा ९६ जनाको स्तन क्यान्सर सम्बन्धी परिक्षण, भिआइए परिक्षण २०९ जनाको, प्याप सोयर परिक्षण ५४ जना, आङ खसेका ९ जना , फिस्टुला सम्बन्धी १७जनाको स्वास्थ्य परिक्षण भएको थियो भने ३ जना महिलालाई अप्रेसनकालागी रेफर गरिएको कनकाई नगर स्वास्थ्य शाखाकी फोकल पर्सन टिका दवाडीले कनकाई खबरलाई जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वास्थ्यका कारण दिनप्रतिदिन समस्या बढ्दै गएको कनकाई नगरपालिका क्षेत्रमा हाल ५ सय बढी क्यान्सर पिडितहरुको संख्या भएको भन्दै दुःख व्यक्त गरे ।
पछिल्लो समय पाठेघरको क्यान्सर, स्तन र फोक्सोको क्यान्सरबाट महिलाहरु बढी पिडित बन्दै गएका साथै पुरुषहरुमा आन्द्रा र फोक्सोको क्यान्सरबाट समस्याग्रस्त बनेको अवस्थालाई मध्यजनर गर्दै कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थलाई सार्वजनिक रुपमा प्रयोग तथा बिक्रि–वितरणमा रोक लगाएको जानकारी दिए ।
शिविरमा महिलाहरुको उपस्थिती उल्लेख्य रहेका कारण आफ्नो स्वास्थ्यका बारेमा सचेत हुँदै आएका महिलाहरुको थप स्वास्थ्य उपचार सेवाकालागी आगामी आर्थिक वर्षमा कनकाई नगरपालिकाको तर्फबाट थप बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै कनकाई नगर प्रमुख पोखरेलले महिलाहरुको पाठेघर स्क्रिनिङ गर्ने कार्यलाई विशेष प्याकेज बनाएर शिविर संचालन गर्ने जनाए । अत्यन्तै सुक्ष्म रुपमा नगरपालिका क्षेत्रका वडा साथै टोल–टोलमा रहेका महिलाहरुको स्वास्थ्य परिक्षणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँनु पर्ने आवश्यक्ता देखिएको कारण यसलाई अभियानका रुपमा केही वडाबाट कार्यक्रम संचालन गर्ने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।
कनकाई नगर स्वास्थ्य शाखाकी फोकल पर्सन टिका दवाडीको स्वागत तथा अस्पतालका डाक्टर रुपेश शाहले औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको संचालन कनकाई नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।
