कनकाई खबर \ झापाको कनकाई —२,निवासी १६ वर्षिय आसिष माझीको जीवन बचाइदिन परिवारजनले अपिल गरेको छ ।
कनकाई माविमा कक्षा— ८ मा अध्ययनरत माझी केही दिन अघि साइकलबाट लड्न गई घाइते भएका थिए । घाइते भएका माझीको ब्रेन हेमरेज भइ टाउकाको शल्यक्रिया समेत भएको र हाल बिर्तासिटी अस्पतालको न्युरो सघन उपचार कक्षमा राखी उपचार भईरहेको छिमेकी गणेश खड्काले जानकारी दिए । अस्पतालमा उपचार खर्च बापत एक हप्ताको विल २ लाख ४७ हजार र फार्मेसीमा ७४ हजार भएको जानकारी आएपछि कनकाई नगरपालिका, स्थानीय संघसंस्था, विद्यालय एवं सहयोगी मनहरुबाट १ लाख ५० हजार आर्थिक सहयोग संकलन गरी अस्पतालमा बुझाइएको आशिषका बुबा गोविन्द माझीले जानकारी दिए । अस्पतालका अनुसार आशिषको उपचार खर्च १० लाख रुपैंयाँ लाग्ने जानकारी आएपछि माझी परिवारले उपचार खर्चकालागी सहयोग गरिदिन सार्वजनिक रुपमा अपिल गरेको हो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका माझीका बुबा गोविन्द माझी सुरुङ्गामा सिटि सफारी चलाउँछन् । एक छोरा र एक छोरी रहेका बुबा गोविन्द र आमा उमा माझीको बिहान बेलुकाको हातमुख जोड्ने स्रोत भनेकै सिटी सफारी भएकोले छोराको उपचार खर्चमा अभाव भएको बताइएको छ । परिवारजनका तर्फबाट आइतबार साँझ सुरुङ्गामा पत्रकार भेटघाट कार्यक्रम मार्फत माझी परिवारले छोराको उपचारमा आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशमा समेत रहेका सहयोगी मनहरुलाई अपिल गरेका छन् ।
बिरामीको घरायसी आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र उपचारमा आर्थिक समस्या भएका कारण सहयोगी मनहरुमा अपिल गर्दै कनकाई वडा नं.—२ का वडाअध्यक्ष बलराम राई(प्रताप), कनकाई माविका प्रधानाध्यापक कर्णवहादुर डाँगी, सहायक प्रधानाध्यापक एवं संचारकर्मी तीर्थराज खरेल, युवा समाजसेवी छिमेकी गणेश खड्का लगायतले पत्रकार भेटघाटमा माझी परिवारमा तत्काल परेको समस्यामा सहजीकरण गरिदिन सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।
कनकाई खबर डटकम साथै कनकाई खबर साप्ताहिकका संचालक ÷सम्पादक राम निरौला सहित सिंगो संचार माध्यमबाट समेत अस्पतालको न्युरो सघन उपचार कक्षमा विशेष उपचारमा रहेका आशिषको शिघ्र अनि पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।
आशिष माझीलाई सहयोग गर्न चाहने सहयोगी मनले मितेरी बैंकमा रहेको बैंक खाताको क्युआर कोर्डमा सोझै सहयोग रकम पठाएर भौचर उपलव्ध गराउँन सकिने जनाइएको छ । मितेरी बैंकमा रहेको बैंक खाताको क्युआर कोर्ड यसै साथ सम्लग्न रहेको छ ।
बुबाः गोविन्द माझी
आमा ः उमा माझी
सहयोगकालागी सम्पर्क नं. ः ९८०५१५७७१० \ ९८१६९७६११०

