२०८० साल फागुन १५ गते मंगलबार बिहान झापा सुरुङ्गा निवासी बालकृष्ण मैनालीको सम्बन्धमा एउटाअपत्यारिलो, विष्मयकारी र अनपेक्षित खबर भुसको आगोझैं, वनको डढेलोझैं फैलियो । धेरैबेरसम्म सो खबर झुठो होस् भन्ने मनमा लागिरह्यो, तर खबर सत्य ठहरियो र कमरेड बालकृष्ण मैनालीले यो धराधाम छोड्न स्वमृत्युवरण गरेको तीतो, अमिलो र टर्रो सत्यको उजागर भयो । सबै स्तब्ध भए । सबैका आँखा रसाए । ढिलो र छिटो मृत्यु त निश्चित आउँछ, तर बिझाउँदो मृत्युले सदैव पिरोलिरहने छ सबैलाई ।
उनी झापा आन्दोलनको एक विशिष्ट नेता थिए । २००१ साल जेठ १८ गते जन्मेका मैनाली सानै उमेरदेखि कर्मशील, कर्तव्यपरायण र लगनशील थिए । बाल्यकाल उनको त्यति सहज र सरल थिएन । बर्मा, भारत र नेपालका तेह्रथुम आठराई तथा झापाका सुरुङ्गा, लखनपुर गुहावारीमा आफ्ना जीवनका सुनौला वर्ष व्यतीत गरेका मैनालीसँग भारतीय सेनामा ५ वर्ष सेवा गरेको अनुभव थियो । पिता टीकाराम र माता पदमादेवीका कान्छा सुपूत्र रहेका मैनाली ५ दिदीबहिनी र ३ दाजुका धनी थिए । २०२० सालमा उनी भारतीय सेनामा भर्ती भए । भारतीय सेनामा मणिपुरको इम्फालमा कार्यरत रहेका बखत भारतीय कम्युनिस्टहरूको उनी सम्पर्कमा आए । त्यसपछि उनीहरूको सङ्गत पाएपछि र चिनियाँ र रुसी कम्युनिस्ट साहित्य र दस्तावेज अध्ययन गर्ने अवसर पाएपछि कम्युनिस्टहरू असल मानिस रहेछन् भन्ने सोच उनीमा विकास भएको थियो । समाज रूपान्तरणका लागि माक्र्सवादी चिन्तनको अपरिहार्यतालाई उनले त्यतिबेला नै बुझेका थिए । उनी कम्युनिस्टहरू अरुसँग मित्रवत व्यवहार गर्ने र मेहेनती कामदार वर्गलाई सँधै सम्मानको दृष्टिकोणले हेर्छन् भन्नेमा विश्वास गर्थे ।
उनको हृदयमा क्रान्तिको दीप त्यतिबेला प्रज्वलित भयो जब भारतीय सेनाबाट बिदामा आएका बखत २०२३ सालमा तेह्रथुम सिम्लेमा उनको कमरेड सूर्य कन्दङवासँग भेट भयो । कमरेड सूर्य कन्दङवासँगको छलफलपछि कम्युनिस्टप्रतिको आकर्षण झन बढेर गयो । तेह्रथुम आठराई सिम्ले मूलथलो भए पनि उनको मुख्य कार्यथलो झापा नै रह्यो । २०२५ सालमा सेनाको जागिर छोडेपछि उनी तेह्रथुमको आठराईमा पार्टीको सम्पर्कमा पुगे । पहाड आठराईमा टीकाराम बर्देवा, सूर्य कन्दङवा, त्रिलोचन मैनाली, रामचन्द्र मैनालीसँग कम्युनिस्ट विचारधारा फैलाउने र पार्टी सङ्गठन विस्तार गर्ने कमरेडसँग मिलेर काम गर्न सकेकोमा उनी सदैव गर्व महसुस गर्थे । मधेस र पहाड आवतजावत गरिरहे पनि पछिल्लो समय पहाडमा १ वर्ष बसेपछि उनी झापा झरे ।
मैनालीलाई कम्युनिस्ट दर्शन बोकेर जनसेवामा लाग्न आफ्नी पत्नी र छोराछोरीबाट कहिल्यै असहयोग भएन । उनीहरूले सदैव सहयोग गर्ने गरेको मैनाली बताउँथे । कम्युनिस्ट पार्टीमा आबद्ध रहेर ३ वर्ष बढी भूमिगत जीवन र पटकपटकका हिरासत तथा जेलजीवन बिताउनु पर्दा पनि बालकृष्ण मैनाली कम्युनिस्ट आदर्श र मेहनतकश जनताको पक्षधरताबाट एक इञ्च पनि तलमाथि भएनन् । उनकी धर्मपत्नी राममायाले छायाँजस्तै बनेर उनका हरेक कदममा साथ दिँदै आएकी थिइन् । कमरेड राममाया आफैं पार्टी सदस्यका रूपमा पार्टीमा आबद्ध छिन् । छोरा निर्मल र छोरीहरू गीता, टीका, रीता र निताले पनि उनलाई जहिल्यै कम्युनिस्ट पार्टीमा सक्रियतापूर्वक समर्पित हुन प्रोत्साहन गरेको उनी सधैँ स्विकार्थे ।
बालकृष्ण कम्युनिस्ट नेता तथा कार्यकर्ताका सेल्टरदाता थिए । झापा सङ्घर्षदेखि अहिलेसम्म वामपन्थी आदर्शप्रति अविचलित बालकृष्ण २०२८ सालताका ‘दारी मैनाली’ भनेर चिनिन्थे । उनी युवामाझ कमरेड बीके दाइ भनेर प्रिय थिए । मैनाली भूमिगत कालमा पार्टीका दस्तावेजको सुरक्षा गर्ने, दस्तावेज र कमरेडहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, साथीहरूको संरक्षण गर्ने, खाना खुवाउने, बैठकको प्रबन्ध मिलाउने आदि काम गर्थे भने उनी आफैं सतीसालझैं सााम्यवादप्रति आस्था रहेका एक कार्यकर्ता पनि थिए । उनको घरमा कम्युनिष्ट नेता \ कार्यकर्ताको बाक्लै आउजाउ हुने गथ्र्यो । उनकै घरलाई आश्रयस्थल बनाएर राजनीति गर्नेहरू आज राजनीतिको शीर्षस्थानमा पुगेकोमा उनी गौरव महसुुस गर्थे । शुरुमा भोला चौधरी, फाल्गुनन्द दाहालसँग उनले काम गरेका थिए भने पछिल्लो कालमा रामनाथ दाहाल, सीपी मैनाली, केपी ओली, आरके मैनाली, शिवप्रसाद शिवाकोटी, मोहनचन्द्र अधिकारी, जनार्दन उप्रेती, गङ्गाप्रसाद उप्रेती, त्रिलोचन मैनाली लगायतसँग काम गरेको उनी स्मरण गर्ने गर्थे । पञ्चायत कालमा सुरुङ्गा, शरणामती, शिवगञ्ज र सतासीधाम क्षेत्रलाई कर्मथलो बनाएर राजनीति गर्ने अधिकांश शीर्षनेतालाई सेल्टर प्रदान गरेर अभिभावकत्व लिएका बिके दाइ मुलुकलाई सकारात्मक रूपान्तरणको दिशातर्फ लैजान माक्र्सवादी दर्शन मात्र विज्ञानसम्मत पथप्रदर्शक सिद्धान्त रहेकोमा सदैव जोड दिने गर्थे ।
सिङ्गो सुरुङ्गा क्षेत्र नै कम्युनिष्ट आन्दोलनको उद्गम थलो रहेको र अहिले पनि वामपन्थीहरुको वर्चश्व रहेको कुरा समाजमा माक्र्सवादी चिन्तन र साहित्यको प्रचारप्रसार भएर मात्र सम्भव रहेको उनको भनाइ थियो । दर्शनलाई समाजसँग जोड्ने, वैचारिक चेतना र जागरणको संवाहकका रूपमा उभ्याउने, सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणका लागि सिर्जनात्मक कार्य गर्ने मानिसहरू नै असल कम्युनिस्ट बन्ने उनको राय थियो । सैद्धान्तिक, राजनीति, दार्शनिक, सांस्कृतिक मूल्य स्थापित गर्न वैज्ञानिक आविष्कारसृजित आधुनिक प्रविधिलाई कम्यनिस्ट पार्टीले आत्सात गर्नुपर्नेमा उनको जोड थियो । कम्युनिस्टहरू हत्याहिंसामा विश्वास गर्छन् भन्नु माक्र्सवादलाई नबुझ्नु वा आफ्नो पद, प्रतिष्ठा आर्जनका लागि माक्र्सवादको गलत व्याख्या गरेर वैज्ञानिक दर्शनको दुरुपयोग गर्नु हो भन्ने उनको भनाइ थियो ।
सङ्कटका घडीमा पनि बालकृष्ण कहिल्यै पनि विचलित भएनन् । उनी झापा सङ्घर्षमा एक अगुवाका रूपमा, कोअर्डिनेसन केन्द्र (कोके) कालमा, माले कालमा र एमालेकालमा आएका उतारचढाव, पार्टी विभाजनका सङ्कटपूर्ण घडीमा पनि सदैव एक क्रान्तिकारी कम्युनिस्टको रूपमा पार्टीको मूलधारमा सतीसालझैं उभिइरहे । विगतमा जनपक्षीय जनप्रतिनिधिको असल भूमिका निर्वाह गरेका मैनाली पार्टी र समाजका विभिन्न पदमा क्रियाशील हुँदै मृत्यु हुनु अघि अन्तिम समयसम्ममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा क्रियाशील थिए ।
२०२९ साल फागुन २१ मा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा र इलामको सुखानीमा पञ्चायती शासकले हत्या गरेको सुन्दा जीवनमा धेरै दुःख लागेको र २०५० साल जेठ ३ गते रहस्यमय रूपमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको हत्या भएको दिन आफू शोकले विक्षिप्त र आक्रोशित भएको उनी स्मरण गर्थे । कम्युनिस्ट दर्शनलाई रूढिग्रस्त मानसिकता र जडताको पराकाष्ठाको रूपमा गरिने व्याख्यालाई उनी अस्वीकार गर्थे । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेकपा एमालेको जनताको बहुदलीय जनवाद माक्र्सवादको भाष्यमा नयाँ क्षितिज उघार्ने, आन्दोलनलाई जडताबाट मुक्त गर्ने, परिवर्तनशीलता र गतिशीलताको तीव्रतालाई पक्रँदै अवैज्ञानिकता र असान्दर्भिकताबारे खुलेर समाजमा बहस गर्नुपर्छ र त्यस्ता विषयहरूलाई हटाउँदै लैजानुपर्छ भन्ने दर्शन भएको मैनालीको धारणा थियो ।
आजका युवावर्गलाई उनी समाज रूपान्तरणमा आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षको बाटोबाट अघि बढ्न र विज्ञानले संसारलाई बदल्छ, कलाले मनुष्यलाई बदल्छ भन्ने महान भनाइलाई आत्मसात गर्न सुझाउँथे । सत्य, न्याय, परिवर्तन र प्रगतिका पक्षमा निरन्तर लागिरहे नयाँ नयाँ विकल्प तयार हुँदै जानेछन् र मूल्यबोधका उज्ज्वल विचार र प्रतीक स्थापित हुनेमा उनी विश्वास गर्थे । उनी भन्थे, ‘क्रान्तिका लागि मुलुकमा धेरै रगत, आँसु र पसिना पोखिएको छ र क्रान्ति वेगवान्सं वेदना, भावना र विचारको सङ्गम हो, यो यथार्थलाई सबैले नवीन विचार, चेतना, चिन्तन र शैलीसहित आत्मसात गर्नुपर्छ ।’ असभ्यताबाट सभ्यतातिर, अँध्यारोबाट उज्यालोतिर, विपन्नताबाट सम्पन्नतातिरको यात्रा हो क्रान्ति । यो मान्छेको पुरानो मानसिक तथा आत्मिक संसार भत्काएर नयाँको निर्माण पनि हो । आत्मरूपान्तरणबिना रूपात्मक रूपान्तरणले मात्र परिवर्तन हुन सक्दैन । तसर्थ क्रान्तिका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य रूपमा दूरदर्शी, जनपक्षीय, शिक्षित र युगको आवाजलाई ग्रहण गर्ने हुनुपर्ने उनको धारणा थियो ।
समाजमा न्यायका लागि उनी कसैको पक्ष लिँदैनथिए । विपरित धारबाट आँधीहुरी चलेका बेलामा पनि आफ्नो आस्था र निष्ठा कायम राखेर परिवर्तनका खातिर, मुक्तिका खातिर आफ्नो ८० वर्षे जीवनमा पनि अथक यात्रीको रूपमा निरन्तर समर्पित भइरहने बालकृष्ण दाइ अर्थात् बिके कमरड सदैव सकारात्मक सोच राख्थे । नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् कनकाई नगर ईञ्चार्ज रवीन्द्र लम्साल बालकृष्ण दाइ पार्टी र समाजमा युवाहरूका प्रेरणाको स्रोत रहेको बताउँछन् । मैनालीलाई व्यवहारमा सरल, पार्टीप्रति निष्ठावान, सकारात्मक सोचका धनी, एक उत्कृष्ट अनुशरणीय सामाजिक व्यक्तित्व र एक भरपर्दो अभिभावकका रूपमा पार्टी कार्यकर्ता र शुभेच्छुकले मान्ने गरेको कमरेड लम्सालको भनाइ छ ।
बुलेट होइन, ब्यालेटबाट परिवर्तन खोज्न, नयाँ सोच र चिन्तनको विकास गर्न र जनताको प्रिय बनेर, जनताको सेवा गरेर, मन जितेर मात्र जनअभिमतका आधारमा शासन गर्न कम्युनिष्टहरू तयार हुनुपर्ने मैनालीको अटल विश्वास थियो । उनी भन्थे—मुलुक बदल्न बलजफ्ती होइन, जनपरिचालन, ज्ञान, चेतना, विज्ञान र प्रविधिको बाटो लिनुपर्छ । एकातिर माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शन छ भने अर्कातिर कमरेड केपी ओलीको नेतृत्वमा असल, क्षमतावान, प्रतिभाशाली कार्यकर्ताको विशाल पङ्क्ति तयार भएकाले एमालेको भविष्य उज्ज्वल रहेकोमा मैनाली पूर्ण विश्वास गर्थे । उनको विचारमा माक्र्सवाद मृत्युविरुद्धको सुन्दर जीवनको शङ्खघोष पनि हो । तर उनको स्वमृत्युवरण सुन्दर जीवनविरुद्धको हमला हो । बालकृष्ण दाइले सयौं हजारौंका लागि आशाको नयाँ सोच दिए, तर उनलाई आशाको नवीन दृष्टिकोण दिने कोही भएन । उनले जीवनजगत्का हजारौं प्रश्नका जवाफ दिए, तर उनको धराधाम त्यागको रहस्य उनीसँगै विलिन भयो ।
बिके दाइ एक असल पुस्तकप्रेमी पनि थिए । साहित्य, दर्शन र उत्प्रेरणासम्बन्धी पुस्तक उनी मन पराउँथे । बिके दाइका असल शिक्षाले सदैव मार्गनिर्देशन गरिरहनेछन् । जीवनमा आशाको दीप प्रज्वलन गर्न सिकाउने, युवाहरुका हृदयमा रूपान्तरणका लागि सिर्जनात्मक कार्य गर्न प्रेरणाको ज्योति बाल्ने, क्रान्तिका लागि विज्ञानका नवीनतम् उपलब्धिलाई आत्मसात गर्न शिक्षा दिने बिके दाइलाई हामी सदैव सश्रद्धा स्मरण
गर्नेछौँ । हार्दिक श्रद्धाञ्जली !
अल बिदा बिके दाइ !!
