कनकाई खबर \ झापाको कनकाईमा ६हजार ७ सय५६ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउँने तयारी गरिएको छ ।
कनकाईका नौ वटै वडामा आवश्यक तयारीकालागी केहीदिन अघिबाटै खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको भएपनि मंगलबार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।सर्वसाधारणलाई रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम संचालन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवाविभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी रहेका कारण अभियान सफल पार्न कनकाई नगरपालिकाले सक्रियता देखाएको छ ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सहजीकरण गरेका थिए । जनस्वास्थ्यअधिकृत पाठकले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराए ।
यता नगर प्रमुख पोखरेलले खोपको सही सदुपयोग गरी सबै नानीबाबूहरुलाई खोप लगाउन सहजीकरण गरिदिन सबै विद्यालयका शिक्षकलाई आग्रह गरे । नगर प्रमुख पोखरेलले विद्यालयमा जाने उमेर नभएका नानीबाबुहरुलाई पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार खोप लागाउन अविभावकहरुलाई आग्रह गरेका थिए ।
कनकाईमा पहिलो चरणमा नगरका सबै विद्यालयमा र आगामी फागुन ३० गते प्रत्येक वडाका प्राथमिक स्वास्थ्य केन्द्रमा अभियान संचालन हुने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकारीले जानकारी गराए ।
कनकाईमा ९ महिनादेखि १५ वर्ष मुनिका ६ हजार ७ सय ५६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले बताए । जसकालागि ५३ जना खोप कर्मी र १ सय ६० जना स्वयंसेविका परिचालन हुने कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले बताएकी छन् ।
अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख आशा शिवाकोटी , नौ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य, स्वास्थ्यकर्मी, स्वयंसेविका, टोल संयोजक लगायतलाई अभिमुखीकरण दिएको थियो । नगरपालिकाकी सिनियर अनमी दवाडीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।
