झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवमा उत्साहजनक कारोबार भइरहेको आयोजकले जनाएका छन् ।
आज बिहान पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको बताइएको छ ।महोत्सवको १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्यायले जानकारी दिए ।
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेका छन् ।महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ ।
बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ । तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरू उपलब्ध छन् ।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरूको सहभागिता रहेको छ ।
महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहेको छ ।
