सातवर्षको अवधिमा विद्यार्थी संख्या ११सय बढ्यो
कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले अभिभावकको मन जित्न सफल भएको बताएका छन् ।
कनकाईको वडा नं.—६स्थित चम्पापुर माविको६०औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले पछिल्लो सात वर्षको अवधिमा नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षासँगै अभिभावकहरुको मन जित्न सफल भएको बताएका हुन् ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता नगरको शैक्षिक विकासमा भएको प्रगतिका कारण यो सात वर्षको अवधिमा कनकाई नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा मात्रै ११सय विद्यार्थीको संख्या वृद्धि भइसकेको नगरप्रमुख पोखरेलले जानकारी दिए । नगर क्षेत्रका अभिभावक एवं शिक्षकहरुको योगदानका कारण पनि यो उपलव्धी हात परेको नगर प्रमुख पोखरेलको ठहर छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा गुणस्तरीय शिक्षा प्राप्तीकालागी विभिन्न विधामा विद्यार्थीलाई अब्बल बनाउँने उद्येश्य अनुरुप नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताए । पछिल्लो समय प्रविधिमैत्री बन्दै गएका अधिकांश सामुदायिक विद्यालयहरुले स्थानीय सरकारको पहलमा अंग्रेजी माध्यमलाई समेत प्राथमिकतामा राख्दै अघि बढेको जानकारी दिँदै नगर प्रमुख पोखरेलले नगरपालिकाले पढ्दै कमाउँदै गर्ने गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउँने गरीको कार्यक्रम संचालन गरेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिनमाया बस्नेत(सीता)को सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य एवं नगर उपप्रमुख आशा शिवाकोटीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।सोहीअवसरमा विद्यालयमा स्थापना भएको करिब एक दर्जन अक्षयकोषबाट बिपन्न, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत साथै सम्मानित भएका छन् ।
विद्यालयका तर्फबाट प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले भावी योजना सहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यस्तै विद्यालयले कक्षा नर्सरीदेखी पाँचकक्षा सम्म यसै शैक्षिक सत्रबाट संचालनमा ल्याएको अंग्रेजी माध्यमको पठनपाठनका बारेमा सहायक प्रधानाध्यापक रुद्रवहादुर थापाले कार्यक्रममा जानकारी गराएका थिए। यसलाई निरन्तरता दिनकालागी विद्यालयले स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेको सहायक प्रधानाध्यापक थापाले प्रष्ट पारे ।
विद्यालयको ऐतिहासिक पृष्ठभुमीका बारेमा थप जानकारी दिँदै प्रधानाध्यापक कोइरालाले तत्कालिन सामाजिक व्यक्तित्व स्व.वृद्धिलाल खतिवडाको नेतृत्वमा उहाँकै निजी गाईगोठबाट अनौपचारिक रूपमा पठन पाठन सुरु गरेको यस विद्यालयले २०२० पौष १४ गते औपचारिकता पाएको बताए ।
क्रमिक रुपले समय बित्दै जाँदा विद्यार्थीको चाप समेत बढ्दै गएपछि स्थानीय अभिभावक साथै विद्यालय परिवार समेतको पहलमा विद्यालयले २०३२ कार्तिक १० गते निम्नमाध्यमिक स्तरको कक्षा सञ्चालनकालागि अनुमति प्राप्त गरी पठनपाठन सुरु गर्दै आएको प्रधानाध्यापक कोइरालाले प्रतिवेदन मार्फत जानकारी गराए ।
स्थानीय समुदायले माध्यमिक विद्यालयको आवश्यकता महसुस गरेपछि२०४५बाट क्रमशः माध्यमिक तहका कक्षाहरु सञ्चालन गर्दै आएको यस चम्पापुर माविले २०४८ सालमा पहिलो ब्याच एस.एल.सी. परीक्षामा विद्यार्थी सामेल गराएको बताइएको छ ।यस विद्यालयले माध्यमिक तहको पूर्ण स्वीकृति भने वि.सं.२०५२ पौष १८ गते प्राप्त गरेको प्रधानाध्यापक कोइरालाले प्रतिवेदन मार्फत जानकारी गराए ।
हाल ३३३ विद्यार्थी रहेको यसविद्यालयको भौतिक र शैक्षिक वातावरणलाई सुरक्षित एवं बालमैत्री बनाउने योजना निर्माण गरिएको बताइएको छ । विद्यालयमा यसै शैक्षिक सत्रदेखि सुरु गरिएको नर्सरीदेखि कक्षा ५ सम्मको पूर्ण अंग्रेजी माध्यमको कक्षालाई आगामी वर्षमा क्रमशः वृद्धि गरी कक्षा १० सम्म पु¥याउने लक्ष्य राखिएको बताइएको छ ।
आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गरी कम्तीमा ५०० बनाउने साथै स्थानीय आवश्यकताका आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रबन्ध मिलाउने भावी योजना रहेको विद्यालयका प्रधानाध्यापक विष्णु कोइराला बताउँछन् ।
विद्यालयमा भौतिक सुविधा वृद्धिकालागि विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सभाहल, प्रतीक्षालयको निर्माण साथै सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।विद्यालयमा स्थापना भएका विभिन्न ११ वटा अक्षयकोषहरुबाट विद्यार्थीहरुलाई न्यानो कपडा, नगद सहित पुरस्कृत एवं सम्मानित गरिएको विद्यालयका पुर्व प्रधानाध्यापक डम्बरवहादुर राउतले जानकारी दिए ।
विद्यालयमा स्थापना भएका अक्षयकोषहरुमा क्रमशःपं.भीमप्रसाद तिम्सिना स्मृति अक्षयकोष, स्व.अमरराज+सावित्रा खतिवडा स्मृति अक्षयकोष, कपिल—चन्द्रा—कृष्ण ओली स्मृति अक्षयकोष, वेद कला अक्षयकोष, वेनुप्रसाद उप्रेती स्मृति अक्षयकोष रहेका छन् । त्यस्तै स्व.भीमादेवी उप्रेती स्मृति अक्षयकोष, गोपीलाल + पवित्रा उप्रेती अक्षयकोष, स्व.दीपेन्द्र शिवाकोटी स्मृति अक्षयकोष, स्व.कोमलराज घिमिरे स्मृति अक्षयकोष, स्व.डिल्लीराम खनाल स्मृति अक्षयकोष, तारानाथ®सीतादेवी पोखरेल अक्षयकोषबाट विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।
कार्यक्रममा घैलाडुवा गाविसका पुर्व अध्यक्ष वृहस्पती उप्रेती, कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष शेरवहादुर थापाले समेत विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् । कार्यक्रममा सेवानिवृत्त शिक्षक लक्ष्मीप्रसाद नेपाल साथै दिर्घ सेवा सम्मानका रुपमा शिक्षिका सुलोचना घिमिरेलाई विशेष सम्मान गरिएको छ । त्यस्तै विद्यालयको चौतर्फी विकासमा सहयोग गर्ने झापाली समाज अष्ट्रेलियाका प्रतिनिधि रोजन खतिवडा सहित विभिन्न समयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.६ का वडाअध्यक्ष दिर्घवहादुर थापा, वडा नं.७ का वडाअध्यक्ष भिष्मभुषण सिटौला लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक मोहन काफ्लेले गरेका थिए ।
