मोरङमा एउटा जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान एउटा हात्ती मृत फेला परेको हो।
सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ। घटनाको प्रकृति हेर्दा गोली हानेर मारेजस्तो देखिने सब डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए। माझी नेतृत्वको टोली अहिले घटनास्थलमा छ।
हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८:५० बजेतिर प्रहरी र वन कर्मचारीलाई गराएका थिए। त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ। थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ जाँदै छ। हाललाई घटनास्थल सुरक्षित राखिएको माझीले बताए।
