सन्दर्भ ः नेल्टा झापाको तेस्रो सम्मेलन
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्गठन (नेल्टा) झापाको तृतीय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सो सम्मेलनमा अङ्ग्रेजी भाषाको वैश्विक प्रभाव, महत्त्व र अङ्ग्रेजी भाषा शिक्षणका नीति नियम, भ्रम तथा जटिलतासम्बन्धमा विचार विमर्श भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा अङ्ग्रेजी भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्राध्यापक डा. विष्णुसिंह राईले अङ्ग्रेजी भाषासम्बन्धी नेपाली समाजमा विकसित भएका फ्यालसी अर्थात् भ्रम बारेमा बताएका थिए । छोरा र छोरी मध्ये कसले बढी माया गर्छ भन्ने प्रश्नमा चिन्तन गर्दै छोरी हुने बाबुआमा बढी भाग्यमानी हुने निष्कर्ष सुनाउँदै डा. राईले छोरीले बाबुलाई लेखेको चिठीलाई कवितात्मक शैलीमा सुनाउँदै अनौपचारिकताबाट विषयवस्तुको गहिराइमा प्रवेश गर्दै अङ्ग्रेजी भाषाको महत्त्व र अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धीका व्यक्त अव्यक्त रूपमा जरा गाडेर बसेका र जरा हाल्दै नेपाली समाजलाई असल पथबाट विचलित गर्दै लगेका विषवस्तुमाथि सबाल उठाएका थिए ।
बिर्तामोडस्थित एभरेस्ट स्मार्ट एजुकेसन एकाडेमीमा सम्पन्न कार्यक्रममा अङ्ग्रेजी भाषाप्रति माया गर्नु राम्रो हो, तर अन्धमोह राख्नु गलत भएको डा. राईको भनाइ थियो । संसारमा अंग्रेजी भाषा ज्ञानको एक मात्र स्रोत हो र अंग्रेजी भाषा बोल्ने वा लेख्न सक्ने मात्र ज्ञानी र बुद्धिमान् हुन् भनेर निष्कर्ष निकाल्नु ठीक होइन । संसारका एक चौथाइ मानिसहरु अंग्रेजी बोले पनि बाँकी तीन चौथाइ मानिसहरु अंग्रेजी बोल्दैनन् । ज्ञानको विपुल भण्डार अन्य भाषामा पनि छ भन्ने सत्यलाई ग्रहण गर्न आवश्यक रहेको डा. राईको भनाइ थियो ।
अर्को महत्त्वपूर्ण र नेपालमा आम अभिभावकको मनमा उठिरहेको कुरा भनेकोबालबच्चालाई शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गरेमा राम्रो हुन्छ भन्ने हो । आम अभिभावक, शिक्षक र शिक्षाका अभियन्ताको यही राय छ, तर बाल्यावस्थामा मातृभाषामा शिक्षा दिनुको सट्टा अर्को भाषामा शिक्षा दिँदा उनीहरूको सोच्ने, विश्लेषण गर्ने र नवीन धारणा निर्माण गर्ने अवस्था पर्याप्त रूपमा हुँदैन भन्ने डा. राईको भनाइ छ । विभिन्न समयमा संसारका विभिन्न मुलुकमा भएका अध्ययन तथा अनुसन्धानले यो कुराको पुष्टि गरेको उनको भनाइ थियो । डा. राईले बालकलाई कक्षा ४ वा ५ देखि मात्र अंग्रेजी लगायत अन्य भाषा सिकाउन राम्रो हुने सन् १९५५ मै भएको अनुसन्धान र त्यसपछिका सयौं अनुसन्धानले सिद्ध गरेको विषय भएको बताए ।
अभिभावकलाई आफ्ना छोराछोरी अंग्रेजी जानून् भन्ने छ, तर कुन उमेरदेखि अंग्रेजी पठनपाठन गर्दा उत्तम हुन्छ भन्ने कुरा त भाषाविद् र शिक्षाविद्को कुरा हो नि भन्ने डा. राईको तर्क छ । आर्थिक, सामाजिक र राजनीतिक तवरबाट पछाडि पारिएका समुदायले अंग्रेजी माध्यम शिक्षालाई वैकल्पिक प्रभुत्वका रूपमा लिएको पाइन्छ । जसले कुलीनवर्गसँगको समान स्तरमा विकास गर्न बल पु¥याउँछ भन्ने विश्वास राख्छ । वास्तवमा हाम्रो देशको सन्दर्भमा यो भ्रम हो । आर्थिक, सामाजिक र राजनीतिक उत्थानका लागि चाहिने गुणस्तरीय शिक्षा हो, जुन मातृभाषाबाट सम्भव छ । अंग्रेजी माध्यममा शिक्षाको रोजाइ अभिभावकका लागि गुणस्तरसँग जोडिएको पाइन्छ । अभिभावकका अनुसार नेपाली माध्यम विद्यालयमा शिक्षाको गुणस्तर सन्तोषजनक छैन, त्यसैले अंग्रेजी माध्यम उनीहरुको छनोट हो । यो भनाइ वास्तवमा भ्रम मात्र हो । पहिलो, संयुक्त राष्ट्रसंघका अनुसार शिक्षा त्यति बेला गुणस्तरीय हुन्छ, जब त्यो समुदायका बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्न पाउँछन् । अधिकांशका हकमा अंग्रेजी तेस्रो भाषा हो भने शिक्षाको गुणस्तर राम्रो हुन्छ भन्नेमा सहमत हुन सकिन्न । यदि पढाइएको विषय राम्रोसँग बुझिँदैन भने सिकाइ पनि प्रभावकारी हुँदैन ।
अंग्रेजी माध्यम शिक्षा अभिभावकको रोजाइ हो भन्ने विषय नेपाल सरकारको शैक्षिक नीतिसँग सम्बन्धित दस्तावेजमा बारम्बार उल्लेख गरेको पाइन्छ । मातृभाषा शिक्षा प्रभावकारी नहुनुको कारण पनि अभिभावकले अंग्रेजी माध्यम शिक्षालाई नै रोज्नु हो भनी दस्तावेजमा उल्लेख गरिएको छ । जुन वास्तवमा भ्रमबाहेक केही होइन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उपाय अंग्रेजी माध्यममा शिक्षण गर्ने नभई अंग्रेजीलगायत सबै विषयको शिक्षणमा सुधार गर्ने हो । भाषा परिवर्तन गर्दैमा शिक्षकको तयारी र उत्तरदायित्वको भावना, विद्यालय व्यवस्थापनमा देखिएका जटिलता जस्ता अनेकौं समस्याको समाधान हुनसक्दैन ।
बालबालिकाको सिकाइ दोस्रो वा अन्य कुनै भाषामा भन्दा उनीहरूको मातृभाषामै प्रभावकारी हुन्छ भन्ने कुरा सर्वस्वीकार्य सिद्धान्त नै हो । त्यसैले नेपालको संविधान २०७२ को धारा ३१ मा प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । मातृभाषामा शिक्षा दिने कामका लागि पाठ्यक्रम विकास केन्द्रले विभिन्न भाषामा पाठ्यपुस्तक पनि तयार गरेको छ । मातृभाषामा शिक्षा दिँदा विद्यार्थी सिकाइ उपलब्धि वृद्धि भएका समाचार पनि प्रकाशित भइरहन्छन् । विद्यालय सुपरीवेक्षणको क्रममा शिक्षकका यस्ता अनेकौं अनुभवहरू सुन्न पाइन्छ जसमा कक्षामा नबोलेर बस्ने बालबालिका उनीहरूकै मातृभाषामा कुरा गर्दा खुशी भएर सिक्नमा तत्पर भएका उदाहरण छन् । यी सबै उदाहरणहरुले सहजै अनुमान र अनुभव गर्न सक्ने विषय भनेको बालकको पहिलो भाषामा नै प्राथमिक तहको शिक्षा दिनुपर्छ ।
डा. राईले उठाएको अर्को विषय भनेको ब्रिटिस वा अमेरिकीले लेखेका पुस्तक मात्र आधिकारिक हुन्छन् भन्ने भ्रम रहेको भन्ने छ, तर नेपाली वा अन्य देशका लेखकहरुले अंग्रेजीमा लेखेका कृति वा लेख पनि स्तरीय हुन सक्छन् । नेपालका बारेमा बुझ्न् नेपालीले नेपाली भाषामा वा अंग्रेजी भाषामा लेखेका किताब बढी स्तरीय र आधिकारिक हुन सक्छन् । नेपाललाई बुझ्न विदेशीले लेखेका पुस्तक महत्त्वपूर्ण हुन्छन् तर तिनीहरु मात्र सर्वस्वीकार्य स्रोत हुन् भन्ने एउटा भ्रम हो । यो खासमा कुलीनले निर्माण गरेको भाष्य हो, जसले जनमानस र नीति निर्माण गर्नेको सोचलाई प्रभावित पार्छ । ‘माग र आपूर्ति’को खेलमा अंग्रेजी माध्यम शिक्षा अभिभावकको चाहना हो भनी देखाएर अंग्रेजीको खुराक शिक्षा नीतिमा प्रवेश गराइएको छ । हालैको राष्ट्रिय शिक्षा नीतिले अंग्रेजी भाषालाई विद्यालय शिक्षाको माध्यमका रूपमा लागू गर्नुपर्ने प्रस्ट्याएको छ ।
के अभिभावकको चाहना अंग्रेजी माध्यम शिक्षा नै हो त ? हाम्रो भाषा शिक्षा नीति अभिभावककै चाहनाअनुरूप बनाइएको हो त ? जबकि, यसलाई पुष्टि गर्ने गरी कुनै पनि सर्वेक्षण भएको हालसम्म ज्ञात छैन । यस्ता सर्वेक्षणमा सोधिने प्रश्नले पनि अभिभावकबाट आउने उत्तरको आंकलन गर्न सकिन्छ । अहिलेको युगमा पेसागत र आर्थिक विकासका लागि अंग्रेजी माध्यम शिक्षा चाहिन्छ भन्ने सोचको सकारात्मक आधार छैन । सर्वप्रथम अंग्रेजी भाषाको ज्ञान, आर्थिक र पेसागत विकासको सम्बन्ध कुनै पनि अनुसन्धानले देखाएको छैन । केही हदसम्म अंग्रेजी भाषाको ज्ञानले केही निश्चित पेसामा पुर्याउन सहयोग नगरेको भने होइन । तर, अंग्रेजी मात्रको ज्ञानले जागिर पाइन्छ भन्ने सोच गलत हो ।
वास्तवमा अंग्रेजी भाषाको आवश्यकतालाई पूर्ण रूपमा नकार्न पनि सकिँदैन, तर प्राध्यापक रियोको कुबोटाले भनेअनुसार विश्वका तीनचौथाइ जनसंख्याले अंग्रेजी भाषा नबोलेको अवस्थामा यसलाई विश्वव्यापी भाषाको रूपमा परिभाषित गर्नु भ्रमात्मक सोच मात्र हो । अंग्रेजी बोलिने देशमा पनि पेसागत अथवा व्यावहारिक रूपमा अंग्रेजी भाषाको मात्रै प्रयोग हुन्छ भन्ने सोच भ्रम हो । भाषा मात्र परिवर्तन गर्दैमा शिक्षकको तयारी र योजना निर्माण, जिम्मेवारी र उत्तरदायित्वको भावना, पाठ्यक्रमको उचित कार्यान्वयन, विद्यालय व्यवस्थापनमा देखिएका जटिलता जस्ता अनेकौं समस्याको समाधान हुने होइन । तसर्थ विद्यालय तहमा आफ्नै भाषामा सबै विषयको गुणस्तरीय शिक्षण गरी उच्च तहको सिकाइको लागि अंग्रेजी भाषाको बलियो जग बनाउनु नै उपयुक्त हुनेछ ।
प्रा.डा. राईले नेपाल भौगोलिक वा भौतिक रुपमा कहिले पनि विदेशीको उपनिवेश नबनेको तर अहिले विदेशी संस्कृति र भाषाको उपनिवेश बन्ने सम्भावना रहेको छ । विदेशी शब्द उधारो लिँदा विदेशी संस्कृति पनि आयात हुने गर्छ । डा. राईले उठाएको अर्को मननीय कुरा भनेको शिक्षकहरु शिक्षणमा केन्द्रित भएको तर विद्यार्थी केन्द्रित शिक्षण नगरिएको भन्ने हो । नेपालमा हुने गरेका शिक्षक तालिम तथा प्रशिक्षणहरु पनि शिक्षक केन्द्रित, शैक्षिक सामग्री केन्द्रित हुने गरेका तर विद्यार्थी र कक्षाकोठामा हुनुपर्ने गतिविधिकेन्द्रित नभएका डा. राईको भनाइ थियो । अर्को मूल समस्या भनेको शिक्षक, अभिभावक र विद्यार्थीमा अरुले भनेको सुन्ने क्षमता छैन तर आफू बोल्ने मात्र हो । आजका शिक्षकको मूल काम भनेको विद्यार्थीलाई पनि बोल्न र आफ्ना कुरा राख्न दिनुपर्छ । अंग्रेजी भाषा शिक्षणमा रहेको अर्को गलत धारणा भनेको पढाइ र लेखाइ सीपलाई बढी प्राथमिकता दिनु तर सुनाइ र बोलाइ सीपलाई कम प्राथमिकता दिनु हो । यो भाषा सिकाइको सिद्धान्त विरुद्ध छ । प्राकृतिक रुपमा हेर्ने हो भने पनि पहिला सुनाइ र बोलाइ सीप नै आउने हो ।
हाम्रो नेपालीमाझ रहेको अर्को भ्रम भनेको अंग्रेजी पढाउन ब्रिटिस वा अमेरिकी शिक्षकले पढाएको मात्र आधिकारिक हुन्छ भन्ने छ । तर संसारमा त अमेरिका, बेलायत वा अंग्रेजी मातृभाषा भएका शिक्षकदेखि बाहिरका अन्य भाषा मातृभाषा भएका शिक्षकहरुले बढी विद्यार्थी पढाइरहेका छन् । सबैतिर अंग्रेजी मातृभाषी शिक्षक पाउने सम्भावना पनि छैन । तसर्थ जुनसुकै देशका शिक्षकहरुले पनि राम्रो पढाउन सक्छन् भन्ने सत्यलाई आत्मसात गर्न आवश्यक छ ।
नेल्टाको झापा सम्मेलनमा नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष एवम् सुकुना बहुमुखी क्याम्पस मोरङका उपप्राध्यापक गुणराज नेपाल प्रमुख वक्ताको रुपमा थिए । उनले द प्रोमिस अभ् थिंकिङ पेडागोजी ः क्रियटिङ स्पेसिज् फर् क्रिटिकल् एण्ड क्रियटिभ् लर्नर्स् विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाण्डौं विश्वविद्यालयबाट एम्.फिल् गरेका नेपालले विद्यार्थीलाई खाली भाँडो नसम्झन र उनीहरुलाई मलिलो जमिनको रुपमा लिएर उनीहरुलाई उत्पादनमूलक कार्यमा व्यस्त राख्नुपर्ने सुझाव दिए । विद्यार्थीलाई सृजनशील, सकारात्मक र रचनात्मक बनाउन वातावरण तयार गर्ने काम शिक्षकको हो । विद्यार्थीहरुमा सृजनशीलता, रचनात्मकता र समालोचनात्मकता विकास गर्न सक्ने शिक्षक सफल शिक्षक हुने उनको दावी थियो । त्यसै गरी, सहायक वक्ताको रुपमा नेल्टा कोशी प्रदेश समितिका सदस्य एवम् बिर्तामोडस्थित न्युटन एजुकेसन एकाडेमीका शिक्षक जेनी राईले कार्यपत्र प्रस्तुत गर्दै शिक्षण भनेको बौद्धिक र प्राज्ञिक कार्य मात्र होइन, यो त संवेगात्मक कार्य पनि हो भन्ने सार सुनाइन् ।
इन्ह्यान्सिङ् इआई इन् एजुकेसन थ्रु क्रियटिभ् राइटिङ् विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल खुला विश्वविद्यालयबाट अंग्रेजीमा एम्.फिल्. राईले संवेगात्मक निपुणताले प्राज्ञिक सफलता, सकारात्मक सिकाइ वातावरण निर्माण र द्वन्द्व व्यवस्थापनमा सहयोग गर्ने बताइन् । त्यसै गरी काठमाण्डौं विश्वविद्यालयबाट एम्.फिल् गरेकी नेल्टा प्रदेश सदस्य एवम् सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक उषाकिरण वाग्लेले इन्फ्युजिङ् क्रियटिभ् पेडागोजी इन् ईएफएल क्लासरुम विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले शिक्षण भनेको कक्षाकोठामा विद्यार्थीलाई सृजनशीलतासहित क्रियाशील बनाउन गतिविधिको योजना निर्माण र कार्यान्वयनका लागि शिक्षकले खेल्ने भूमिका भएकोमा जोड दिइकी थिइन् । समग्रमा भन्ने हो भने अंग्रेजी भाषा शिक्षणमा नेपाली अभिभावक, योजनाविद्, पाठ्यक्रम निर्माता, पाठ्यपुस्तक लेखक, भाषा प्रशिक्षक र शिक्षक तथा प्राध्यापकमा रहेका गलत धारणा र बुझाइलाई गहिराइमा गएर बुझ्न र सुधार्न जरुरी रहेको देखिन्छ ।
tirthakharel2028@gmail.com
