लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको आज विहान मृत्यु भएको हो । उनी आजै कारागारबाट छुट्ने दिन थियाे ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।
छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् । सहनीको मृत्यु पछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो ।
जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले (मतकले) दिएको नम्बर नै मिस्टेक रहेछ, फोन लागेन,’ उनले भने,‘ नम्बर मिस्टेक हुँदा समयमा नै जानकारी गराउन सकिएन् ।’
लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।
मंसिर २१ गते मोरङ कारागारमा लेटाङ नगरपालिका–४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि आफन्तले शव बुझ्न मानेनन्, शवमा चोटपटक देखिएका कारण आफन्तले शव बुझ्न नमानेपछि स्थानीय प्रशासनले छानविन समिति गठन गरेको थियो । छानविन समितिले काम सुरु गरेपछि उनका आफन्तले पोष्टमार्टम गरी शव बुझेका थिए ।
स्वास्थ्यमा समस्या भएपछि भुजेललाई गत मंसिर २१ गते दिउँसो उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा सोही दिन साँझ ५ बजेतिर उनको मृत्यु भएको थियो ।
भुजेलको मृत्यु शंकास्पद रहेको भन्दै परिवारका सदस्यले बुझ्न अस्वीकार गरेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा कोशी अस्पतालका फिजिसियन डा। मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य रहनेगरी छानविन समिति गठन भएको थियो ।
क्षमता भन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा चौकिदारले विभिन्न बाहानामा कैदीबन्दीलाई यातना दिएको गुनासो आइरहन्छन् । महिला पुरुष गरी ३०० जना क्षमता रहेकोम मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन् ।koshionline
