कनकाई । फेरि विवादमा आएका झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले यसअघि काम गरेको विद्यालयको हरहिसाव अझै बुझाएका छैनन् ।
उनले अर्जुनधारा – ६ मा रहेको लक्ष्मी माविको हिसाव नबुझाई सरुवा मिलाएर डिल्लीराज मावि गएका थिए ।समुदायले नै गुप्तालाई लक्ष्मी माविबाट विदा गर्नुपर्ने, हरहिसाव सार्वजनिक गर्नुपर्ने माग गरेपछि त्यसबेला सरुवा मिलाएर डिल्लीराज पुगेका थिए । अहिले डिल्लीराजमा पनि अपारदर्शी ढंगबाट विद्यालय सञ्चालन गरेको आरोपमा अख्तिायरमा उजुरी परेको छ ।
अख्तियारले गाउँपालिकालाई अध्ययन गरेर प्रतिवेदन पठाउन पत्रिपत्र गरेको छ । परिपत्र अनुसार गाउँपालिकाले विद्यालयको अध्ययन गरिरहेको छ ।२०७६ साल साउनमा लक्ष्मी मावि छोडेर डिल्लीराजमा सरुवा भएका गुप्ताले हिसाव नमिलाई गएका थिए । लक्ष्मी माविमा आउने नयाँ प्रअ निर्मला पोख्रेललाई विद्यालयको हरहिसाव बुरबझारथ नगरी गएका हुन् । प्रअ पोख्रेलले तत्कालिन प्रअ गुप्ताले हिसाव नबुझाएको स्वीकार गरिन् ।प्रअ गुप्ताले लक्ष्मी मावि छोड्दै गर्दा विद्यालयको अडिट पछि रमाना लिने भन्दै मौखिक सहमति गरेको प्रअ पोख्रेलको भनाई छ ।
विद्यालयको अडिटपछि आफुले बुझाउनु पर्ने भए कागजातका आधारमा बुझाउने लिखित नै गरेको लक्ष्मी माविकी प्रअ पोख्रेलले जानकारी दिइन् ।विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको गठनपछि लक्ष्मी माविले लेखापरीक्षण गरेको थियो । आर्थिक वर्ष २०७५-०७६ को लेखा परीक्षण प्रतिवेदनमा तत्कालिन प्रअ गुप्ताको नाममा २८ लाख ६९ हजार १०६ रुपैयाँ ९६ पैसा बेरुजु देखिएको थियो । लक्ष्मी माविकी प्रअ पोख्रेलले आर्थिक वर्ष ०७८-७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार हालसम्म गुप्ताबाट सो रकम असुल उपर नभएको जानकारी दिइन् ।
लेखापरीक्षणपछि आफ्नो नाममा आउने रकम बुझाउने भनेका गुप्ताले त्यसपछि विभिन्न बहानाबाजी गर्दै विद्यालयलाई रकम बुझाउन अटेर गरेका छन् । विद्यालयले सो रकम बुझाउन भन्दै पटक–पटक चिठी बुझाइएको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु आफै गुप्तालाई चिठी पुराउन जाँदा बुझ्न नमानेको, बुझ्दा पनि जवाफ नफर्काएको घटना पनि छन् ।सोही विषयलाई लिएर गुप्ता विरुद्ध अख्तियारमा उजुरी समेत परेको थियो । उजुरीका आधारमा अख्तियारले अर्जुनधारा नगरपालिकालाई आवश्यक कारवाहीका लागि भन्दै पत्र लेखेको थियो । अख्तियारको पत्रपछि नगरपालिकाले विद्यालयको कागजात झिकाएको थियो । विद्यालयले गुप्ताबाट असुलउपर गर्नुपर्ने रकम विवरण खुलाइएको कागजात, लेखापरीक्षण प्रतिवेदन, पर्याप्त प्रमाण भएका कागजात नगरपालिकालाई बुझाएको थियो । तर, सो फाइल नगरापलिकाबाट गायव भयो ।
अख्तियारमा फेरि उजुरी परेपछि सो कागजतासहितको फाइल नगरपालिकाले मागेको छ । प्रअ पोख्रेलले नगरलाई फाइल बुझाईसकेको जानकारी दिइन् ।यता, व्यवस्थापन समितिले भर्खरै निर्णय गरेर गुप्ताबाट असुलउपर गर्नुपर्ने रकमका लागि पत्र लेख्न निर्णय गरिसकेको छ । अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन समेतमा असुलउपरका लागि फाइल बुझाइसकेको विद्यालयले प्रभावकारी किसिमको दवाव आवश्यक ठानेको छ ।
प्रअ पोख्रेलका अनुसार गुप्ताले एक पटक ०७७ फागुन २ गते विद्यालयलाई बरबुझारथ सम्बन्धमा भन्दै पत्र पठाएका थिए । उनले सो पत्रमा विभिन्न अनावश्यक भाषा शैली प्रयोग गरेर रकम बुझाउछु भन्नुको सट्टा पुनःअडिटको माग गरेको बताइन् । पुनःअडिट भनेर विद्यालयको रकम नतिर्ने बहाना खोजेको हुन सक्ने पोख्रेलको अनुमान छ । उनले एउटा संस्थाको रकममा यो हदसम्मको लापबारही गर्नु गुप्ताको गैरजिम्मेवारीपन भएको बताइन् ।
अर्जुनधारा –६ का वडाध्यक्ष हरिश बाँस्तोलाले लक्ष्मी माविका पूर्व प्रअले बुझाउनुपर्ने रकम बुझाउनै पर्ने बताए । रकम बुझाउन कुनै बहानाबाजी नगर्न आग्रह गरेका छन् । प्रअ गुप्ताले विद्यालयको हिसाव नबुझाई जानु नै ठुलो त्रुटि भएको वडाध्यक्षको भनाई छ । उनले तत्काल लेखापरीक्षणमा देखिए अनुसारको विद्यालयको रकम बुझाउ आग्रह गरेका छन् ।लक्ष्मी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले गुप्ताबाट असुलउपर गर्नका लागि आवश्यक प्रक्रियाको काम अघि बढाउन निर्णय भइसकेको जानकारी दिए ।
उनले आफ्नो कार्यकाल अघि कै हिसाव भएकाले धेरै जानकारी नभए पनि पछिल्लो घटनाक्रमबाट थाहा पाएको बताए । विद्यालयलाई बुझाउनुपर्ने रकम कसैले कुनै पनि बहानामा बुझाउदिन भन्न नपाइने उनको भनाई छ । राईले पूर्व प्रअको नाममा रहेको बेरुजु रकम असुलउपर गर्ने बताएका छन् । ईजलास दैनिकबात
