कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाले वर्तमान समयमा संचार एवं सामाजिक भूमिकामा जीवनशैली,अध्यात्म र हाम्रो चिन्तन विषयक अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।

कनकाई नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका बौद्धिक एवं उत्कृष्ट सञ्चारकर्मी टीकाराम यात्रीले धार्मिक पर्यटनसँग जोडिएको बन्द मुक्त सुरुङ्गाको प्रशंसा गर्दै यसको निरन्तरताको शुभकामना दिए । मानिसले आफ्नो जीवन–शैलीलाई सहज बनाएर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रसङ्गमा यात्रीले विज्ञान र अध्यात्म वीचमा तात्विक फरक नरहेको र सूचना, ज्ञान र प्रज्ञा जीवन दृष्टिका आधार भएको बताए । उनले सञ्चार क्षेत्रको भूमिकाको सम्बन्धमा प्रकाश पार्दै आवाज विहीनहरूको आवाज बन्नु पर्ने र पत्रकारले चर्चामा भएका कुराको मात्र चर्चा नगरेर चर्चामा नभएका विषयवस्तु पनि चर्चामा ल्याउनुपर्ने बताए ।

धर्म सम्बन्धमा संविधानमा उल्लेख नगर्न उनले सुझाएका थिए । धर्म र जीवन भनेको फूल र सुगन्ध जस्तै भएको उनको भनाइ थियोे । वैदेशिक रोजगारमा युवा जानु भनेको प्रतिष्ठा र जीवनशैलीको विषय मात्र नभएर राष्ट्रिय शरमको विषय भएको उनले बताए । भ्रष्टाचारका विषयमा उनले भने, “भ्रष्टाचारमुक्त संस्कृतिको सुरुवात हरेक व्यक्तिबाट हुनुपर्छ ।” कार्यक्रमको सहजीकरण सामाजिक कार्यकर्ता भक्तिप्रसाद सिटौलाले गरेका थिए ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफूहरू कनकाई नगरलाई उत्कृष्ट नगरको रूपमा विकास गर्न एकताबद्ध ढङ्गले लागी परेको बताए । बन्दमुक्त शान्ति क्षेत्रको रूपमा रहेको कनकाई नगरको गरिमालाई अक्षुण्ण राखिने नगर प्रमुख पोखरेलको भनाइ थियोे । कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउँदै नगर प्रमुख पोखरेलले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर(एजी) सन्दीप चापागाईंले टीकाराम यात्रीको विचारले युवा माझ नयाँ आशा जगाएको भन्दै समाज रूपान्तरणमा सबैलाई क्रियाशील हुन आग्रह गरे । सो अवसरमा टीकाप्रसाद कट्टेल, रामप्रसाद निरौला, लीलाराज झापाली, एकराज गिरी, रेजिना रोदन, सङ्गीता उप्रेती, तीर्थराज खरेल, शम्भु पोखरेल, रोशनबाबु प्रसाईं, राजेन्द्र चौंलागाई लगायतले यात्रीलाई विभिन्न जिज्ञासा राखेका थिए ।

रोटरी क्लबअफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष एवं उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, क्लवका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेल, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायत झापाली सञ्चारकर्मीसहित स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।कार्यक्रममा सहभागीहरुलाई क्लवका प्रेसिडेन्ट इलेक्ट लुवराज उप्रेतीले धन्यवाद ज्ञापन गरेका थिए ।
संचारकर्मी एवं रोटरी क्लव अफ सुरुङ्गाका सर्जन एट आम्स रामप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाकी सचिव बिनिता मैनालीले गरेकी थिइन् ।

