कनकाई खबर \ शुद्ध पिउने पानीको अभावका कारण उपभोक्तामा हाहाकार मच्चिएको कनकाई –६ स्थित भवानी खानेपानीमा सुधार आएपछि स्थानीय उपभोक्तामा खुशी छाएको छ ।
आजभन्दा छ महिना अघि कनकाई खबर डटकम अनलाइनसहित कनकाई खबर साप्ताहिकले पिउने पानीको अभावमा भवानी खानेपानीका उपभोक्तामा हाहाकार भएको समाचारलाई निरन्तर रुपमा प्रकाशन÷प्रसारण गरेको थियो । त्यसपछि मात्र भवानी खानेपानी संस्थाको जिम्मेवार निकायले खानेपानीको विस्तारलाई थप व्यवस्थित बनाउँन विशेष पहल गरेपछि खानेपानीमा सुधार आएको हो ।
हाल खानेपानीको ओभर हेड ट्याङकीमा थप पाइप विस्तार गरेपछि खानेपानी सहज भएको बताइएको छ । यस अघि होभर हेड ट्याङकीमा १६० एमएमको एउटा मात्रै पाइपबाट पानी सप्लाई हुन्थ्यो भने अहिले सोही एमएमको अर्को पाइप पनि थप विस्तार भएपछि पानीको क्षमतामा वृद्धि भएको भवानी खानेपानीका कर्मचारी चन्द्रप्रसाद अधिकारी बताउँछन् । दुई महिना अघिदेखी नै पिउने पानीको विस्तार सहज हुँदै आएपछि उपभोक्ताबाट गुनासो आउँन छाडेको कर्मचारी अधिकारीले जानकारी दिए । ओभर हेड ट्याङकीमा थप गरिएको पाइपबाट दुईवटा अलग अलग क्षेत्रमा पानी विस्तार हुने गरेको बताइएको छ ।
गत चैत–बैशाखदेखी नै विशेष गरी दुर्गापुर उत्तर साथै सिमसार क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा आएको समस्याका कारण केही समय सम्म खानेपानीको विस्तार असहज बनेको भएपनि हाल क्रमिक रुपले सहज बन्दै गएको जनाइएको छ ।
पछिल्लो समय सुधार भएको खानेपानीको धारामा चौबिसै घण्टा पानी नआएपनि विगत तीन महिनादेखी रातको समयमा आएको पानीले घरको ट्याङकीमा जम्मा गरेर काम चलाउँदै गरेको स्थानीय उपभोक्ता मोहन खतिवडाले जानकारी दिए । भवानी खानेपानी संस्थामा प्राविधिकहरुको अभाव भएकै कारण उपभोक्तासम्म पिउने पानीको विस्तार सहज बन्न नसकेको खतिवडाको बुझाई छ । खानेपानीमा समस्या आएपछि सम्बन्धित क्षेत्रको प्राविधिकले हेर्नु पर्ने साथै जिम्मेवार निकायको गम्भिर ध्यानाकर्षण हुनु पर्नेमा त्यस्तो नभएकाले उपभोक्ता समस्यामा पर्ने गरेको खतिवडाको ठहर छ ।
पिउने पानीको अभाव झेल्दै आएका सोही क्षेत्रका उपभोक्ता खगेन्द्र निरौलाले तीन महिनादेखी भवानी खानेपानीको सेवा केही सहज बन्दै गएको जानकारी दिए । बर्सौदेखी पिउने पानीको अभाव झेल्दै आएका यस क्षेत्रका उपभोक्तालाई तीनवटै सरकारका प्रमुख तथा प्रतिनिधिहरुले मिठो आश्वासनमा पार्ने गरेको भएपनि पिउने पानीको दिगो समाधान हुन नसक्दा यस क्षेत्रका सयौं उपभोक्ता समस्यामा पर्ने गरेको उपभोक्ता निरौला बताउँछन् ।
भवानी खानेपानीले आफ्नो सेवा क्षेत्रमा शुद्ध पानी नियमित उपलव्ध गराउँन नसक्दा यस अघि उपभोक्तामा हाहाकार मच्चिएको थियो । खानेपानीका उपभोक्ताहरु विशेष गरी कनकाईको वडा नं.७, वडा नं.६ को केही भाग, वडा नं.१, दुर्गापुर बजार क्षेत्र साथै बजार उत्तर तर्फका समेत सयौंको संख्यामा रहेका उपभोक्ताहरु पिउने पानीको अभाव झेल्दै आएका थिए ।
उपभोक्ता सदस्यहरुलाई नियमित रुपमा स्वच्छ पिउने पानी उपलव्ध गराउँने प्रतिवद्धता जनाउँदै संस्थाले २०७४ पौष १७ गतेदेखी नियमित रुपमा पिउने पानी वितरण गर्दै आएको हो ।संस्था स्थापनाकालदेखी नै स्थानीय समाजसेवी चिरञ्जीवी उप्रेतीको नेतृत्वमा रहेको समितिले नियमित रुपमा स्वच्छ पानी वितरण साथै उचित व्यवस्थापनको समग्र पक्षमा क्रियाशिल भएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै आएको छ । भवानी खानेपानी संस्थामा हाल १ हजार चारसय साठी उपभोक्ता रहेको जनाइएको छ ।
