ओलीको जीवनीको चर्चासँगै सभाहलमा सन्नटा छायो
कनकाई खबर \ झापाको कनकाईमा शिक्षासेवी लवप्रसाद ओलीको स्मृतिग्रन्थ विमोचन एवं प्रतिमा अनावरण गरिएको छ ।
पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा एक विशेष समारोहका विच स्व.ओलीको स्मृतिग्रन्थ विमोचनसँगै प्रतिमा अनावरण गरिएको हो ।लवप्रसाद ओली स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष अनिरुद्र ओलीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको विशेष समारोहका विच कार्यक्रम सम्पन्न भएको हो ।

लव ओली स्मृति ग्रन्थ प्रकाशन समिति तथा लव ओली बालगृह व्यवस्थापन समितिको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख पोखरेलले स्मृतिग्रन्थ विमोचनसँगै जामुनबारी सामुदायिक वन परिसरको प्रतिक्षालयमा राखिएको लवप्रसाद ओलीको प्रतिमा अनावरण गरेका थिए ।
परिवारजनको मात्र नभइ देशकै सम्पतिका रुपमा उनका कृतिको संरक्षण हुनु पर्ने भन्दै ओलीको अर्धकदको प्रतिमा अनावरण गरिएको हो । जसको संरक्षकका रुपमा लवप्रसाद ओलीकी जीवन संगिनी दुर्गादेवी ओली, छोरीहरु उषा, आशा र निशा ओली साथै छोराबुहारी हेमन्त र विमला ओली, नाती बृहद र अडबिक ओली रहेका छन् ।

कार्यक्रममा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री उद्धव थापा, वरिष्ठ अधिवक्ता हरीप्रसाद उप्रेती, प्राज्ञ सदस्य एवं हाँस्यव्यंग्यकार नरराज लुइटेल, पुर्व राष्ट्रिय सभा सदस्य हरीचरण शिवाकोटी, साहित्यकार एवं समालोचक पुण्यप्रसाद खरेल, डा.कृष्णप्रसाद ओली, घनेन्द्र शर्मा न्यौपाने, मीना अधिकारी, पुण्यप्रसाद ओली लगायतले लवप्रसाद ओलीको जीवनीको चर्चा गर्दै उनी बहुआयामीक प्रतिभाका धनी भएको बताएका थिए ।
तेह्रथुम जिल्ला हालको आठराई गाउँपालिका वडा नं.६ स्थित होडागाउँमा पिता दुर्गाप्रसाद ओली (डिठ्ठा कान्छा) र माता मनमाया सिटौला ओलीका जेष्ठ पुत्रका रुपमा वि.सं. २००० को चैत १४ गते जन्मीएका लवप्रसाद ओलीले विद्यालयस्तरीय शिक्षा आठराईको चुहानडाँडाबाट नै प्राप्त गरेका थिए । हालको तेह्रथुम क्याम्पसबाट आई.ए.सम्मको अध्ययन गरेका ओलीले त्रिभुवन विश्व विद्यालयबाट बिए÷बिएड सम्मको अध्ययन गरेको बताइएको छ । त्यसपछिको समय झापाका विभिन्न विद्यालयहरुमा कतै शिक्षक त कतै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आफ्नो सम्पूर्ण समय शिक्षा क्षेत्रमा बिताएका ओलीको वि.सं.२०६४ को मंसिर १ गतेका दिन निधन भएको हो ।

झापाका प्रतिष्ठित प्रधानाध्यापकका रुपमा परिचित कनकाईको वडा नं.— १ मा स्थायी बसोबास भएका स्व.ओलीले सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष साथै ओली वंश जिल्ला समिति झापाको समेत अध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा सफलतापुर्वक सेवा प्रदान गरिसकेको बताइएको छ । नृत्य र गायन क्षेत्रमा अत्यन्तै रुची राख्ने लवप्रसाद ओली लोक गायकका रुपमा स्थापित व्यक्तित्व भएको उनका समकालिन शिक्षासेवी टहलदास अधिकारी बताउँछन् ।
वि.सं.२०२६मा रेडियो नेपालबाट आयोजित देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएका ओलीको सुरिलो स्वर साथै लोक भाकामा रचना गरिएका केही कविता साथै गीतलाई स्मृति ग्रन्थमा समेटिएको प्राध्यापक विष्णुप्रसाद कोइराला बताउँछन् । ग्रन्थको समिक्षा गर्दै कोइरालाले जीवनको ४० वर्ष सम्मको लामो समय शिक्षा क्षेत्रमा बिताएका शिक्षासेवी ओलीको स्मृतिग्रन्थ अब कुनै परिवार विशेषको मात्र नभइ समाजकै सम्पति भएको बताए ।

साहित्य चौतारीका संरक्षक समेत रहेका गीतकार एवं गायक देवीभक्त श्रेष्ठको सुमधुर स्वरमा रहेको प्रस्तुती सहित, संगीत प्रशिक्षक तुलसा तिम्सिना पाठक, विना ओली लगायतको गीतसंगीतले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेको थियो ।
स्मृतिग्रन्थ सम्पादन समितिका तर्फबाट विद्वान व्यक्तित्व डा.पुण्यप्रसाद सिग्देलले ग्रन्थ प्रकाशनको औचित्य माथि प्रकाश पारेका थिए । मानिस मरणशिल प्राणी भएकाले उसका कृतिका कारणबाटै जिवित बन्न सक्ने यथार्थलाई मनन गर्दै शिक्षा, समाज, लोक गायन, परम्परागत लोक संस्कृति आदिको संरक्षण र सम्बद्र्धनमा आफ्नो सम्पूर्ण समय बिताएका लवप्रसाद ओलीको स्मृतिग्रन्थ प्रकाशन गरिएको डा.सिग्देलले जानकारी दिए ।
स्मृति ग्रन्थले शिक्षासेवी लवप्रसाद ओलीलाई जीवित बनाएको टिप्पणी गर्दै डा.सिग्देलले परिवारको मात्रै नभई यो समाजकै एक आदर्श व्यक्तिका रुपमा सम्झना लायक तर बिर्सन नसकिने भन्दै ओलीको विगतलाई स्मरण गरे । सोही अवस्थामा कला, शिक्षा साथै साहित्य क्षेत्रका स्रष्टाहरु एवं शुभेच्छुक शुभचिन्तकहरुले भरिभराउ भएको सभाहलमा सन्नटा छाएको थियो ।
जामुनवारी सामुदायिक वन परिसरमा शिक्षासेवी लवप्रसाद ओलीको प्रतिमा अनावरण हुनु आफैंमा महत्वपुर्ण कार्य भएको भन्दै सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौलाले यस्तो पवित्र कार्यले पर्यटकीय क्षेत्र जामुनखाडीको समेत गरिमा बढाएको बताए । शिक्षाको माध्यमबाट सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएका लवप्रसाद ओलीको भौतिक शरिर हामी माझ नभएपनि उहाँको सकारात्मक उर्जा सबैकालागी प्रेरणाको स्रोत भएको कनकाई खबरसँगको कुराकानीमा वन समुहका अध्यक्ष सिटौलाले जानकारी दिए ।
कार्यक्रमका अवसरमा कला, साहित्य एवं शिक्षाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएका केही स्रष्टाहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा घनेन्द्र शर्मा न्यौपाने, हरीनारायण भट्टराई, विशाल राई, हिम्मत नेम्माङ, गणेश ढुंगाना र तुलसा पाठक रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी सहित परिवारजनका तर्फबाट स्व.ओलीकी जीवन संगिनी दुर्गादेवी ओली,वालगृह व्यवस्थापन समिति अध्यक्ष उषा ओली लगायत परिवारजनका तर्फबाट नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।
लवप्रसाद ओली स्मृतिग्रन्थ प्रकाशन समितिका उपाध्यक्ष बालकृष्ण सिटौलाले सहभागीहरुलाई शाव्दीक स्वागत गरेको कार्यक्रममा ओलीका कान्छा भाइ जगदिश ओलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन शिक्षासेवी भिमप्रसाद दहालले गरेका थिए ।
