काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन्।
महामन्त्रीद्वय थापा र शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन्।
पुन:स्थापना र पुन:निर्माणका लागि नेपाली कांग्रेसले आफ्नाे धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइसकेकाे छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आईपर्न सक्छन्? सरोकारवालाहरूको सुझावहरू के के छन्? आदि विषयमा महामन्त्रीद्वयले परामर्श र अध्ययन गर्नेछन्।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउने नेपाली कांग्रेसले जनाएकाे छ।
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको र यस विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर गर्नुपर्ने जनाएकाे छ।
नेपाली कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने घाेषणा गरिसकेकाे छ।
यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।
