कनकाई खबर \ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रेमप्रसाद चुडाल (प्रकाश) लाई पितृ शोक परेको छ ।
कनकाई नगरपालिका वडा नं. ३, सुरुङ्गा बजार निवासी चुडालका पिता रामप्रसाद चुडालको ८० वर्षको उमेरमा आइतबार दिउँसो ३ः४० बजेको समयमा निधन भएको हो । सादा जीवन उच्च विचारका धनी स्व. चुडाल लामो समयदेखी मृगौलाको समस्याबाट पिडित थिए । बिगत २ वर्षदेखी डाइलोसिस गर्दै आएका स्व.चुडाल सुरुङ्गा बजारस्थित आफ्नै घरमा छोराबुहारीका साथमा रहँदै आएका थिए ।
आफ्नो पारिवारीक जीवन सहज ढङ्गले बिताउँदै आएका चुडालको जन्म दक्षिण सिक्किमको नामथाङ स्थित तुरुङ बस्तीमा वि.सं.२००० को वैशाख ३१ गतेका दिन भएको हो । बुबा नारायणप्रसाद र आमा ब्रम्हकुमारी चुडालका काइला छोराका रुपमा रहेका स्व.चुडालको विवाह बुबाआमा रामप्रसाद र हरीमाया पौडेलकी जेठी छोरी लोमादेवीसँग वि.सं.२०२५ मा भएको बताइएको छ ।
कनकाई— ५,तुलसीबारीस्थित चौरासी विघालाई आफ्नो कर्मथलो बनाएका चुडाल वि.सं.२०४४ देखी नै कनकाई—३ स्थित सुरुङ्गा बजारमा छोरा बुहारीका साथ रहँदै आएका थिए । युरोपियन देशका विभिन्न स्थलको भ्रमण गरिसकेका स्व.चुडालकी जीवन संगिनी लोमादेवीको वि.सं.२०७४ को बैशाख १७ गतेका दिन निधन भएको थियो ।
स्व. चुडालका जेठा छोरा प्रेमप्रसाद चुडाल कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको संचालक समिति अध्यक्ष, सुरुङ्गा कनकाई सहकारी संस्थाका अध्यक्षको जिम्मेवारीमा रहेका छन् । त्यस्तै गीताञ्जली स्विट हाउस सुरुङ्गाका संचालक समेत रहेका प्रेमप्रसाद चुडाल नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । बुहारी गीतान्जली चुडाल पशुपति अंग्रेजी माविकी शिक्षिका हुन् ।
कान्छा छोरा मिलन चुडाल हाल वैदेशिक रोजगारीका सिलशिलामा इजरायलमा रहेका छन् भने बुहारी दुर्गापुरस्थित भृकुटी माविकी शिक्षिका हुन् । एक छोरी टिका चुडाल भण्डारी र ज्वाइँ मनोजकुमार भण्डारी हाल जर्मनमा रहेको पारिवारीक श्रोतले जानकारी दिएको छ । ६ जना नातीनातिना समेतका धनी स्व. चुडालको कातिक १३ गते सोमबारका दिन पवित्र कनकाई घाटमा अन्त्यष्टी भएको जनाइएको छ । स्व.चुडालप्रति कनकाई खबर परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।
